तीन दर्जन गाई भीरबाट खसालेर मारियो

-सिराज खान

नेपालगञ्ज । नेपालगन्ज कान्जीहाउसबाट दैलेखमा ब्यबस्थापनगर्न पठाइएका दर्जनौ गाईलाई सुर्खेतमा भीरबाट खसालेर मारिएकोछ । नेपालगन्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएर स्थानीय कान्जिहाउसमा राखिएका गाई सुर्खेत लगेर भीरबाट खसालिएका हुन् ।

नेपालगन्जबाट ट्रकमा राखेर लगिएका २ सय ९१ वटा गाईमध्ये वीरेन्द्रनगरस्थित कटकुवाको जंगलमा करिब तीन दर्जन गाई मरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहीबार नेपालगन्जबाट दैलेख लैजाने भनि लगिएका ती गाई भीरबाट खसालेर मारिएका हुन् ।

रातको समयमा भीरबाट खसालिएका मध्ये डेढ सय भन्दा बढी गाई घाइते छन् । आठ वटा ट्रकमा ल्याइएका गाई भीरबाट खसालिएको र जंगलमा छाडेको पाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

बाँकेका स्थानीय बासिन्दाले भीरबाट खसालेर सामूहिक गौहत्या गरिएको आरोप लगाएका छन् । ट्रकमा राखेर लगिएका गाई भीरबाट खसालेर मारिएको र जंगलमा अलपत्र अवस्थामा छाडिएको भन्दै दोषीलाई कारबाही गर्न अधिकांश स्थानीयले माग गरेका छन् ।

प्रहरीका अनुसार मरेका गाईको विवरण संकलन भइरहेकाले अरु धेरै संख्यामा मरेको हुनसक्ने अनुमान गरिएको छ । यति ठूलो संख्यामा गाई कसले किन भीरबाट खसाल्यो भन्ने अनुसन्धान भइरहेको सुर्खेतका ट्राफिक प्रहरी कार्यालयका प्रमुख उदयसिंह सिंजापतिले बताए । सिंजापतिका अनुसार गाई छाडेर फिर्ता भएका ट्रकलाई बबईबाट नियन्त्रणमा लिइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले नियन्त्रणमा लिएका छाडा चौपायालाई व्यवस्थापन गर्नका लागि दैलेखतर्फ पठाएको थियो । दैलेखको श्रीस्थान क्षेत्रका नागरिकले गाई पाल्ने बताएपछि त्यसतर्फ ती गाई पठाइएको उपमहानगरपालिकाले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका कार्यकारी प्रमुख हरी प्याकुरेलले नेपालगन्जमा छाडा गाईको व्यवस्थापनमा समस्या भएपछि दैलेखका बासिन्दाले पाल्ने इच्छा गरेकोले सो का लागि त्यसतर्फ ट्रकमा पठाईएको र सुर्खेतको कटकुवाको जंगलमा ट्रकबाट झारेर दैलेख पैदल लगिने भनिएकोमा झारेपछि मृत भेटिएको खबर आएको बताए ।

उनले के कसरी त्यति गाईको मृत्यु भयो अनुसन्धान भैरहेको पनि जनाए । तर, व्यवस्थापनका लागि असल नियतका साथ गाईलाई यहाँबाट पठाईएको उनले बताए ।

तर गाई दैलेख नपुग्दै बीचमै मृत भेटिएपछि चारैतिर खैलाबैला मच्चिएको छ । खुला सिमानाका कारण भारतबाट भित्रिएका र नेपालगन्जमै रहेका छाडा गाईलाई उपमहानगरले व्यवस्थापन गर्न नसकेपछि दैलेखतर्फ पठाएको नेपालगन्जका मेयर डा. धवल शमसेर राणाले पनि बताए ।

उनले गाई मार्ने उदेश्यले वा भिरबाट खसाल्ने भनेर नपठाएको प्रष्ट पारे । गाई मरेको विषयमा छानविन भैरहेको मेयर राणाले पनि बताए ।

मरेका र घाइते रहेका गाईमध्ये केहीको कानमा ट्यागसमेत लगाइएको पाईएको प्रहरीले जनाएको छ । करिब तीन सयको संख्यामा गाई भीरबाट खसालिएको र जंगलमा छाडिएको भेटिएपछि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 गृहमन्त्रीलाई पत्र

यसैविच नेपालगन्जबाट लगिएका गाईलार्ई भिरबाट खसालेर मारिएको भन्ने बारेमा सत्य तथ्य पत्ता लगाई छानविन गरेर दोषीमाथि कडा कानुनी कारवाही गर्न सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राइले गृहमन्त्रीलाई शुक्रवार दिउँसो पत्र लेखेका छन् ।

मन्त्री राईद्धारा गृहमन्त्री राम बहादुर थापा बादललाई लेखिएको पत्रमा गाईलाई मारिएको बिषयमा छानविन गराएर दोषी जो सुकै भएपनि कडा कारवाही गराउन विभिन्न माध्यमबाट बाँकेका जनताको दवाव र माग बढ्दै गएकोले तत्काल छानविन गरेर दोषीलाई आवश्यक कारवाही गर्न आग्रह गर्दछु भनिएको छ ।

बाँके जिल्ला क्षेत्र नम्बर २ का सासद समेत रहेका मन्त्री राइले कान्जीहाउसमा रहेका गाईको संरक्षणका लागि विभिन्न पहल र प्रयासहरु भैरहेकै बेला किन एक्कासी दैलेख पठाईयो आफुले बुझ्न नसकेको पनि बताएका छन् ।

यसैविच नेपालगन्जका अधिकांश अगुवा र समाजसेवहिरुले पनि सो घट्नाको भर्तसना गर्दै छानविन र कारवाहीको माग गरेका छन् ।

 

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री