गाई संरक्षणका लागि कर लगाउने सुझाव

‘मेयरसंग विवाद छैन’

-सिराज खान

नेपालगञ्ज । शहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईले नेपालगञ्ज शहर र बाँकेको विकास निर्माणका योजना बनाउँदा राजनीतिलाई टाढा राखिएको बताएका छन् । राजनीति निर्वाचनको बेला गर्ने विषय भएको बताउँदै आफ्नो ठाउँको विकासका लागि सबैसंग मिलेर समन्वय तथा सहकार्यका साथ काम गरिरहेको जनाए ।

समाजवादी पार्टी बाँकेले आइतवार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री राईले नेपालगन्जलाई देशकै उत्कृष्ट बनाउने अभियानमा उपमहानगर र शहरी विकास मन्त्रालय एकजुट भएर अगाडी बढी रहेको प्रष्ट पारे ।

शहरी विकास मन्त्रालय सम्हालेपछि पहिलो पटक गृहनगरमा पत्रकार सम्मेलन गर्दै उनले हालसम्म जिल्ला र नगरका लागि गरिएका विकास निर्माण तथा आगामी बर्षका कार्ययोजना बारे विस्तृत रुपमा जानकारी गराए ।

उनले निर्वाचनमा गरेका प्रतिवद्धता पुरा गर्न आफु तिव्र गतिमा लागेको भन्दै बाँके र नेपालगञ्जको विकासका लागि धेरै योजना संचालनमा रहेको बताए ।

करिब २ अर्बका योजनाहरु हाल संचालनमा रहेको जनाउँदै उनले आगामी बर्षका लागि करिब ३ अर्बका योजनाहरु स्वीकृत भै टेण्डरको प्रक्रियामा पुगेको उनले जानकारी गराए ।

पछिल्लो समयमा विभिन्न सामाजिक संजालमा मेयर र मन्त्रीका बीच विवाद रहेका कुरा आईरहेकोमा राईले वास्तविकता त्यस्तो नभएको बताए । उनले भने–स्थानीय प्रतिनिधि र संघिय प्रतिनिधिका अलग अलग काम छन, अलग अलग हैसियत छ र दुबैको आ आफ्नो अधिकार क्षेत्र छ । तसर्थ विवादको कुनै प्रश्न नै आउँदैन । मेयर र मेरो विचमा कुनै पनि विवाद छैन ।

तर, नेपालगञ्ज उपमहानगर सम्मिलित बाँके क्षेत्र नम्बर २ को प्रतिनिधिको हैसियत तथा सरकारको मन्त्रीको हैसियतले यहाँका जनताले ध्यानाकर्षण गराएका कुराहरुमा आफनो ध्यान जानु स्वभाविक भएको उनले बताए ।

बागेश्वरी मन्दिर परिसरमा शपिंग कम्प्लेक्स निर्माण र तीन दर्जन गाई मरेको कुरामा सयौं नागरिकले आफनो ध्यानाकर्षण गराएको र पत्र समेत लेखेकोले यस क्षेत्रको प्रतिनिधिको हैसियतले आफुले सम्बन्धित निकायमा कानुन बमोजिम गर्नु आग्रह गरेको मन्त्री राईले बताए ।

गाई संरक्षणका लागि आफू जुनसुकै सहयोग गर्न तयार रहेको बताउँदै यस विषयमा सर्वदलीय सहमति गरेर मात्र अगाडी बढ्नु पर्नेमा जोड दिए । आवश्यक परे गाई संरक्षणका लागि उपमहानगरले हरेक नागरिकमाथि ट्याक्स लगाउनु पर्र्ने उनको सुझाव थियो ।

उनले बाँकेको विकासका लागि नौबस्ता औद्योगिक क्षेत्रको निर्माण, नेपालगन्ज विमानस्थलको स्तरोन्नति, सुख्खा बन्दरगाहको निर्माण, औद्योगिक करिडोर, पर्यटन हब, सबै सडक निर्माण, सिटी हल निर्माण, मेघासिटी निर्माण, वाटरपार्क योजना निर्माण लगायतका काम पुरा हुनु आवश्यक भएको बताए ।

मन्त्री राईले क्यान्सरबाट पीडित बाँकेका पत्रकार रेशम विरही र बोन मैरोको समस्याले पीडित सुर्खेतका पत्रकार डिल प्रकाश शर्मालाई जनही ५०–५० हजार नगद सहयोग प्रदान गरेका थिए । कार्यक्रममा समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राई, उपाध्यक्ष राजन राना मगर, नगर अध्यक्ष श्रवण यादव लगायतको उपस्थिति रहेको थियो ।

टिप्पणी थप्नुहोस्