भागबण्डा रोक्न नेवि संघको खबरदारी र्‍याली

संवाददाता

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विश्वविद्यालयका पदाधिकारी नियुक्तीमा हुने दलीय भागबण्डालाई रोक्न खबरदारी र्‍याली निकालेको छ ।

राजनीतिक भागवण्डाका आधारमा विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्ती गर्ने परम्पराले विश्वविद्यालयहरुको शैक्षिक वातावरण धमिलिएको र व्यापारिक अखडामा रुपान्तरण भएको भन्दै नेविसंघले खबरदारी र्‍यालीको अयोजना गरेको हो ।

विद्यार्थीहरुले माईतिघर मण्डलाबाट नयाँ बानेश्वरसम्म ‘हाम्रो शिक्षा हाम्रो देश, भागबण्डामुक्त शैक्षिक परिवेश’ भन्ने नारा लगाउँदै र्याली निकालेका थिए ।

खबरदारी र्‍याली आयोजनाको संयोजन नेविसंघ नेता नवराज त्रिपाठीले गरेका थिए । र्‍यालीपछि नयाँ बानेश्वरमा कोणसभा आयोजना गरिएको थियो ।

कोणसभामा नेविसंघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले नेबिसंघलाई शैक्षिक आन्दोलनमा लाग्न आव्हान गर्दै, दलीय भागबण्डाका आधारमा नियुक्त भएका पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लगाउने चेतावनी दिए ।

नेविसंघका नेता त्रिपाठीले नैतिकता र ज्ञान हासिल गर्ने विश्वविद्यालयलाई नै सरकारले अनियमितताको अखडा बनाएकोप्रति चिन्ता व्यक्त गरे । उनले विश्वविद्यालयमा दलिय भागबण्डा नरोकिए त्यसका विरुद्ध नेबिसंघ कडा संघर्षमा उत्रने चेतावनी दिए । त्रिपाठीले विश्वविद्यालयको नेतृत्वमा विशुद्ध शैक्षिक र प्राज्ञिक व्यक्तित्वहरुलाई ल्याइनुपर्ने बताए ।

उनले विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तीका लागि सरकारले एक स्वतन्त्र र स्वायत्त छनोट समिति गठन गनुपर्ने र उक्त समितिले योग्यता र कार्यदक्षताको आधारमा पदाधिकारी नियुक्ती सिफारिस गर्नुपर्ने जोड दिए ।

कोणसभालाई नेबिसंघका निवर्तमान उपसभापति रामप्रसाद अधिकारी, युवराज पाण्डे लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

नेबिसंघ नेता मानिष सिम्खडाले माग कार्यान्वयन नभएसम्म चरणबद्ध रुपमा दबाब कार्यक्रमहरु आयोजना गर्ने जानकारी दिए ।

कार्यक्रममा विद्यार्थी नेताहरु गोपी शिवाकोटी, बिपिन अधिकारी, निमा गिरि, सुदिप शर्मा, रत्नहरि ढुंगेल, शैलेन्द्र शर्मा गौंडेल, हरि आचार्य, निरञ्जन थापा लगायतका नेविसंघ नेताहरुको उपस्थिति रहेको थियो।

टिप्पणी थप्नुहोस्