नेपालले जस्तो तिब्र परिवर्तन अन्य देशले गरेका छैनन्

संवाददाता
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले वर्तमान सरकारले आर्थिक वृद्धि हाँसिल गर्ने कुरामा र प्रशासनिक काममा इतिहासमै नयाँ फड्को मारेको दाबी गरेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले आर्थिक वृद्धिमा पनि नेपालले सात प्रतिशतको बृद्धिदर हाँसिल गरेर इतिहासमा फड्को मारेको सुनाए ।

त्यस्तै, प्रशासनिक रुपमा पनि अति छिटो काम भएको उनको दाबी छ । उनले भने,‘कर्मचारी समायोजनको कुरा भन्नुहोस वा सांगठनिक संरचना निर्माण गर्ने कुरा, हामीले द्रुत गतिमा काम गरिरहेका छौं ।’

साक्षात्कारमा उनले लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधिमार्फत निर्णय गर्नुपर्दा कतिपय विषयमा केही समय लाग्ने सुनाए । उनले थपे,‘एकपछि अर्को काम गरेर जानुपर्छ । धेरै कानुन बनाएर संविधान कार्यावयन गर्ने सन्दर्भमा हामी अघि बढिरहेका छौं ।’

मन्त्री पण्डितले स्थानीय, प्रदेश र संघ तीनवटै तहबीच अन्तरसम्बन्ध रहेकाले कानुन निर्माण गर्दा पनि विशेष ध्यान दिनुपर्ने बताए । उनले विश्वका कुनै पनि मुलुक जो केन्द्रात्मकबाट संघात्मक व्यवस्थामा जाँदा नेपालले जस्तो तिव्र गतिमा काम गरेको इतिहास नभएको जिकिर गरे ।

यद्यपी उनले जनताले चाहेकोजस्तो र उनीहरुको भावनाअनुसार काम भने हुन केही समय लाग्ने विश्वास दिलाए । उनले भने,‘जनताको चाहनाअनुसार अब काम अघि बढ्छन् ।’ उनले कर्मचारी समायोजनको बाँकी काम र पदस्थापनको काम पनि आवश्यकत्ता अनुसार हुँदै जाने बताए ।

उनले राष्ट्रसेवकहरु सरकारले खटाएको ठाउँमा जानुपर्ने बताए । पण्डितले भने, ‘यदि कोही राष्ट्रसेवक सरुवा गरेको ठाउँमा गएनन् भने उनीहरुलाई कारबाही र दण्डित गर्छौं ।’

उनले राष्ट्रसेवक कर्मचारीहरुको सम्पत्ति विवरण पनि बुझाउनुपर्ने कुरामा अहिले छलफल भैरहेको सुनाए । उनले भने,‘अहिले कर्मचारीहरुको सम्पत्ति सार्वजनिक गरिएको छैन । हामी छलफलकै क्रममा छौं ।’ फरक प्रसंगमा मन्त्री पण्डितले गौहत्या भएको विषयमा सरकारले अनुसन्धान गरिरहेको बताए ।

टिप्पणी थप्नुहोस्