भ्रष्टाचारीलाई जन्मकैद र सम्पत्ति राष्ट्रियकरण गर्न माग

संवाददाता

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचारलाई देशद्रोहसरहको अपराध घोषणा गरी भ्रष्टाचारीलाई कठोर दण्ड–सजाय (कम्तिमा जन्मकैद र सम्पत्ति राष्ट्रियकरण गर्ने) व्यवस्था तत्काल व्यवस्था गर्नुपर्ने माग गरेको छ ।

भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियान सञ्चालन गर्ने राष्ट्रिय संकल्पसहित सुरु गरेको अभियानको एक सय दिन पूरा भएको अवसरमा बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले यस्तो माग गरेको हो ।

त्यस्तै, उक्त पार्टीले भ्रष्टाचारसम्बन्धी मुद्दाको छिटो–छरितो ढंगले टुंगो लगाउने सम्पूर्ण अधिकारसहित स्वायत्त प्रकृतिको विशेष अदालतको व्यवस्था गरिनुपर्ने र भ्रष्टाचार प्रकरण र उच्च पदस्थ व्यक्तिहरु (पंचायती शासनकालदेखि हालसम्म) को सम्पतिबारे स्वतन्त्र ढंगले छानबिनका लागि शक्तिशाली नागरिक छानबिन आयोग गठन गरिनुपर्ने पनि माग गरेको छ ।

स्थापनाकाल देखि नै भ्रष्टाचारको सन्दर्भमा राष्ट्रिय जनमुक्ति पार्टीले ‘भ्रष्टाचार नियन्त्रण होइन, निर्मूल गर्नुपर्छ’ भन्ने मान्यता दृढतापूर्वक बोक्दै आएको महासचिव केशव सूर्यवंशीले जनाए ।

उनले यसको कार्यान्वयनका लागि आफूहरुले सभा, सम्मेलन र निर्वाचनहरुमा भ्रष्टाचार देशद्रोह सरहको अपराध हो र यसको वैधानिक उपचारका लागि संबैधानिक÷कानुनी रुपमै कठोर दण्ड सजायको व्यवस्था अनिवार्य रहेको विषयलाई प्रमुखताका साथ उठाउँदै आएको पनि सुनाए ।

पार्टीले जारी गरेको विज्ञप्तीअनुसार उक्त पार्टीले गत सालको असोज २ गते नेपाल सरकारलाई पार्टीको तर्फबाट ३९ बुँदे ज्ञापन पत्रमा समेत उक्त विषय महत्वका साथ उल्लेखित गरिएको थियो ।

भ्रष्टाचारमुक्त देश निर्माणका लागि उच्च नैतिक बलयूक्त राजनीतिक नेतृत्व र संगठन अनिवार्य रहेको तथ्यप्रति आफूहरुको पार्टी सधै प्रष्ट, सचेत र प्रतिबद्ध रही आएको पनि महासचिव सूर्यवंशीले सुनाए । उनले भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध सघर्षका लागि राज्यले कडा कदम यथाशिघ्र चाल्नु अनिवार्य भैसकेको आवश्यकक्ता औंल्याए ।

पार्टीले देश आत्मनिर्भर नहुँदासम्म सबै तहका जनप्रतिनिधिहरुले तलब भत्ता/पारिश्रमिक लिन नपाउने वा स्वयमसेवकको रुपमा कार्यसम्पादन गर्ने राष्ट्रिय नीति हुनुपर्ने विषयमा राष्ट्रिय बहस हुनुपर्नेमा जोड दिएको छ । त्यस्तै, अहिले प्रचलित निर्वाचन प्रणाली अति खर्चिलो, बोझिलो र अनुत्पादक भएकोले यसको विकल्प खोजिनुपर्ने पनि पार्टीले माग गरेको छ ।

त्यस्तै, उक्त पार्टीले कुनै उम्मेदवार वा पार्टीले निर्वाचन जिते पश्चात् आफ्नो घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धता र योजनाअनुसार कार्यसम्पादन नगरेको/नभएको अवस्थामा मतदाताहरुले सोही घोषणापत्रको आधारमा निजकोविरुद्ध अदालत जान पाउने अधिकारको व्यवस्था हुनुपर्ने मागमा राष्ट्रिय बहस हुनुपर्ने अर्को विषय उठाएको छ ।

पार्टीले उठाएका विषय र मुद्दाहरुको कार्यन्वयनका लागि आफूहरुले भ्रष्टाचारविरुद्ध राष्ट्रिय अभियानमार्फत गाँउ–शहर, सडक–सदन र प्रवासमा समेत बहुआयामिक कार्यक्रमहरु सञ्चालन गरिरहेको महासचिव सूर्यवंशीले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा जनसम्पर्क, अन्तरक्रिया र हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन भईरहेको र आगामी २०७६ मंसिर २३ (भ्रष्टाचार विरुद्ध अन्र्तराष्ट्रिय दिवस/ डिसेम्वर ९) सम्म पहिलो चरणको कार्यक्रम सञ्चालन हुनेछ ।

पत्रकार सम्मेलनको संयोजनको भूमिका पार्टीको तर्फबाट उपमहासचिव तथा सञ्चार विभाग प्रमुख मेखराज परियारले पूरा गरेका थिए ।

टिप्पणी थप्नुहोस्