कांग्रेसद्वारा दोस्रो चरणको जागरण अभियान घोषणा

संवाददाता
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान घोषणा गरेको छ ।

संगठन शुद्धीकरण र सरकारको जनहितविपरीतका कार्यबारे आमजनतालाई जानकारी गराउने उद्देश्यका साथ अभियान घोषणा गरिएको हो ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले ३३० प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि पठाएर संगठनलाई बलियो बनाउने जनाएको हो ।

लामो समयदेखि जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पार्टीलाई एकढिक्का बनाएको भन्दै कांग्रेसले अब जनताको मन जित्ने अभियानका साथ ३३० प्रदेश निर्वाचन क्षेत्रमा पुगेर विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

यही भदौ २४ गते प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा १०६ बिरुवा रोपेर अभियान शुभारम्भ गर्ने तय गरेको कांग्रेसले प्रत्येक निर्वाचन क्षेत्रमा ३०० युवाहरुसँग संवाद गर्ने लक्ष्य निर्धारण गरेको छ ।

हिमाल, पहाड, तराई, मधेस जागरण अभियानकाक्रममा कांग्रेसले यसपटक सामाजिक संवादलाई विशेष जोड दिने भएको छ ।

पार्टीका कार्यक्रम छोटो र छरितो गरिने कार्यतालिका बनाइएको छ । पत्रकार सम्मेलनमा संविधान संशोधनको पूर्वप्रतिबद्धतामा सरकारलाई इमान्दार बन्न सम्झाउने पनि जानकारी गराइयो । भदौ २४ गते सुरु हुने अभियान आउँदो असोज ७ गते ७७ जिल्लामा जिल्लास्तरीय सभा गरेर सकिने जनाइएको छ ।

अभियानका क्रममा बढ्दो महंगी, भ्रष्टाचार (वाइडबडी, न्यारो वडी प्रकरण लगायत) का विरुद्ध साथै बढ्दो महिला हिंसा, बलात्कार र हत्या, अलोकतान्त्रिक विधेयकहरु, कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध आवाज उठाइने बिहीबार जारी गरिएको अपीलमा उल्लेख गरिएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री