‘मन्त्रीले सहकारी बुझेन कि क्या हो भन्ने होइन !’

संवाददाता

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमाकुमारी अर्यालले सहकारी क्षेत्रमा रहेको रकम उत्पादनमा लगाउन आग्रह गरेकी छने ।

नेपाल सहकारी पत्रकार समाजको नवौं स्थापना दिवसका सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन ।

सहकारीले अब उत्पादनमा लगानी गर्नुस् भन्दा सहकारी अभियन्ताले सहकारी क्षेत्रलाई बुझ्नुभएन की भन्ने प्रश्न गरेको भन्दै मन्त्री अर्यालले आफुले सहकारी क्षेत्रलाई राम्ररी बुझेकै कारण उत्पादनमा लाग्न आग्रह गरेको समेत बताइन् ।

‘सहकारी क्षेत्रलाई मन्त्रीले सहकारी बुझ्नुभएन कि भनेर अभियन्ताले भन्नुहुन्छ । तर मैले मज्जाले बुझेको छु’, मन्त्री अर्यालले भनिन, ‘अबको दिशा समृद्धि, विकासकै दिशा हो । सहकारीको स्रोत उत्पादनमा लगाउनुस । उत्पादनमा लाग्नुस भन्दा मन्त्रीले सहकारी बुझेन क्या हो भन्ने होइन । उत्पादनका क्षेत्रमा लगानी गरिदिनुस भनेको सहकारीले सहकारीमै लगानी गर्नुस भनेको हो ।’

लगानीको कुरा गरिरहँदा मन्त्री आफैंले किन गरेन भन्ने प्रश्न पनि स्वभाविक रूपमा उठ्ने भएकाले आफुले ३ गाउँको जमिन एकिकृत गरेर कागती खेती शुरू गरिसकेको मन्त्री अर्यालले जानकारी दिइन ।

सहकारीले भाषण मात्रै गर्छन् काम गर्दैनन भन्ने प्रश्न पनि उठिरहेको सन्दर्भमा अब भाषण मात्र नभएर काम गर्नुपर्ने उनको भनाइ थियो ।
त्यसैका निम्ती सहकारी संस्थाहरू एकिकृत उत्पादनमा लाग्नुपर्ने मन्त्री अर्यालले बताइन ।
उनले भनिन, ‘तपाइहरू सबै उत्पादनमा लाग्नुस । सबै अभियन्तालाई बोलाएर एकरएक वटा होमवर्क दिएर पठाउने हो । हाम्रो भूमि खाली भयो । अब भूमिको अधिकतम् प्रयोग गरेर जाने हो ।’

पाठ्यक्रममा सहकारीको विषय उल्लेख हुनुपर्यो भनेर त्रिभुवन विश्वविद्यालयलाई अनुरोध गरिसकेको भन्दै मन्त्री अर्यालले सहकारी क्षेत्रमा केही नयाँ गर्नेगरी सरकार अगाडि बढेको बताइन ।

सबै सहकारीमा एकै किसिमको ब्याजदर निर्धारण गर्न सरकारले सन्दर्भ ब्याजदर तोकेको भन्दै उनले यसमा अभियन्ताहरूको पनि साथ रहेको बताइन । कार्यक्रम सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहालको अध्यक्षतामा सम्पन्न भएको हो ।

दुई पत्रकार पुरस्कृत र सम्मानित

यसैबीच त्यस अवसरमा दुई पत्रकारलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । नेपाल सहकारी पत्रकार समाजले स्थापना गरेको ‘सिजेएन राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार’ क्लिकमाण्डु डटकमकममा कार्यरत शोभित थपलियालाई प्रदान गरिएको थियो ।

त्यस्तैगरी संस्थाका संस्थापक उपाध्यक्ष डिल्ली सापकोटालाई सम्मान गरिएको थियो । प्रमुख अतिथी मन्त्री अर्यालले दुवै पत्रकारलाई पुरस्कृत तथा सम्मानित गरेकी हुन ।

टिप्पणी थप्नुहोस्