नेपालगन्जका अधिकांश सीसी क्यामरा अवैध

-सिराज खान

नेपालगन्ज । व्यापारिक प्रतिष्ठान र निजी घरको सुरक्षाका लागि भनेर नेपालगन्ज र सो वरिपरिका क्षेत्रमा जडान गरिएका अधिकांश सिसीटीभि क्यामरा गैर कानुनी रुपमा जडान गरिएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालयको अनुमति विना कुनै पनि स्थानमा सिसीटीभि क्यामरा राख्न नपाइने कानुनी व्यवस्था भएपनि नेपालगन्जमा जडान भएका तीनसय भन्दा बढी सिसी क्यामरा मध्ये अधिकांशले अनुमति लिएका छैनन् ।

बाँकेका सरकारी, गैरसरकारी र निजी संस्था तथा निवासमा जडान गरिएका अधिकांश सिसी क्यामराहरु जिल्ला प्रशासन कार्यालयको अनुमति विनै जडान गरिएका छन् ।

अनुमति लिएर जडान नगरिएकै कारण बाँकेमा कति त्यस्ता सिसी क्यामरा जडान गरिएका छन् भन्ने बारेमा प्रशासनसंग नै सही तथ्यांक रहेको छैन ।

अधिकांश बैंक, वित्तिय संस्था र व्यवसायीक प्रतिष्ठानहरु रहेको नेपालगन्जको सुर्खेतरोडमा मात्रै करिब ६० वटा सीसी टिभी क्यामरा जडान गरिएका छन् । ती मध्ये अधिकांश सिसी क्यामरा कानूनविपरित अनुमतिबिनै जडान भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार केही जडानकर्ता निकायले जडान गर्दा अनुमति लगे पनि त्यसपछि नविकरण गरेका छैनन् । जिल्लामा ४० वटा संस्थाले मात्र सिसी क्यामरा राख्न अनुमति लिएका छन् ।

सडकमा मात्रै नभई नेपालगन्ज र कोहलपुर क्षेत्रमा संचालन भइरहेका सामान्यदेखि उच्चस्तरका होटलले समेत अनुमतिबिनै सीसी क्यामरा जडान गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

स्थानीय प्रशासनका अनुसार नेपालगन्जमा रहेका ठूला होटल स्नेहा, सिद्धार्थ र सोल्टी होटलमै जडान गरिएका सिसी क्यामरा गैरकानूनी तथा मापदण्डविपरीत देखिएका छन् ।  ति होटलमा जडित क्यामरा प्रशासनको अनुमतिबिना जडान गरिएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालले बताए ।

उनका अनुसार नेपालगन्ज र कोहलपुरका अधिकांश होटलले क्यामरा जडान गरे पनि प्रशासनको अनुमति लिएका छैनन् । नेपालमै नाम चलेका सोल्टी, होटल सिद्धार्थ भ्यूका साथै होटल सिटी प्यालेस, ग्यालेक्सी दरबार, सिग्नेट, स्नेहामा समेत अनुमतिबिनै सिसी क्यामरा जडान भएको पाइएको छ ।

सहायक प्रजिअ अर्यालका अनुसार नेपालगन्जको किचन हटले भने सरकारी मापदण्ड र प्रशासनको अनुमति लिएरै सिसी क्यामरा जडान गरेको छ । पूर्वराजा ज्ञानेन्द्रको लगानीमा सञ्चालित होटल सोल्टी र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाको लगानीमा सञ्चालनमा रहेको होटल स्नेहाले समेत सिसी क्यामरा जडानको अनुमति नलिनु आश्चार्यजनक भएको उनले बताए ।

करोडौँ लगानीका होटलका साथै गैरसरकारी संस्था र निजी कम्पनीले सरकारी नीति तथा नियमको ठाडो उल्लङ्घन गरिरहेको देखिएको छ । यस्ता निकायलाई कानूनी दायरामा ल्याउनका लागि यसअघि चासो नदिएको सम्बन्धित निकायले पछिल्लो समय कडाइ गरेको छ ।

बाँकेमा जताततै सिसी क्यामरा जडान भएका र अनुमति लिनेको संख्यामा कमी देखिएपछि जिल्ला प्रशासन कार्यालयले केही कडाइ गरेको सहायक प्रजिअ अर्यालले बताए ।

जिल्ला प्रशासन कार्यालयले सिसी क्यामरा जडान गरेर पनि मापदण्ड पूरा नगरेका वा अनुमतिबिनै क्यामरा जडान गरेका होटल, गैरसरकारी, सरकारी निकाय र निजी कम्पनीलाई मापदण्ड पुर्‍याएर मात्रै क्यामरा जडान गर्न पुनः निर्देशन दिएको छ ।

यसअघि गरिएको आग्रहलाई वास्ता नगरेपछि अहिले कडाईका साथ निर्देशन जारी गरिएको जनाइएको छ । जिल्ला प्रशाासनका अनुसार तोकिएको सयमभित्रै अनुमति नलिए अनुमति नलिने संस्था र व्यक्तिलाई कानुनी दायरामा ल्याउने र कानुनले तोके अनुसारको कारवाही गरिने छ ।

सहायक प्रजिअ अर्यालले सीसी क्यामरा राख्नका लागि अनुमति लिएकाले पनि अपनाउनुपर्ने सामान्य प्रक्रिया पनि पूरा नगरेको बताए । सीसी क्यामेरा राख्ने अनुमति लिएकाले कम्तीमा पनि ९० दिनसम्मको फुटेज सुरक्षित गरेर राख्नुपर्ने, ‘तपाई सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ’ भन्नेजस्ता सूचना स्पष्ट देखिने गरी राख्नु अनिवार्य भए पनि अधिकांशले मापदण्डसमेत पूरा नगरेको उनले बताए ।

टिप्पणी थप्नुहोस्