राप्ती प्रतिष्ठानमा जुँगाको लडाईं !

संवाददाता
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका पदाधिकारी असुरक्षित महसुस गरिरहेका छन । सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली काँग्रेसका बीच जुँगाइको लडाईं प्रतिष्ठानमा प्रष्ट देखिन्छ । यस लडाईमा स्थानीय पत्रकार समेत विभक्त हुँदा प्रतिष्ठान अस्तव्यस्त बन्न पुगेको छ ।

प्रतिष्ठानका उपकुलपति प्राडा संगीता भण्डारीको कार्यशैलीको विरोध गर्दै कार्यरत चिकित्सकहरुले केही साता अघि दबाब स्वरुप सामूहिक राजिनामा दिएका थिए । त्यसपछि लडाईं शुरु भएको हो । चिकित्सकले झोंसेको आन्दोलनको आगोमा अहिले दुई दलका नेता र स्थानीय पत्रकारले पेट्रोल छर्केका छन । केही दिनदेखि प्रतिष्ठानमा जारी आन्दोलन ‘इगो’मा परिणत भएको छ ।

अहिले नेकपा निकट व्यक्तिहरुको अग्रसरतामा प्रतिष्ठान बचाऔँ अभियान समिति गठन गरिएको छ । यसले आन्दोलनलाई थप चर्काएको छ । प्रतिष्ठानका उपकुलपति डा.भण्डारीमाथि उनको कार्यशैली गलत भएको, प्रतिष्ठान भित्र अनियमितता गरेको, चिकित्सकलाई मानसिक तनाव दिने गरेको आरोप लगाइएको छ । प्रतिष्ठान बचाउ अभियानले उपकुलपति डा. भण्डारीको राजीनामा माग माग्दै ज्ञापनपत्र बुझाएपछि आन्दोलन थप उग्र बन्दै गएको छ ।

आन्दोलनको नेतृत्व नेकपाका नेता विकिरण गौतम र पत्रकार महासंघका दाङ अध्यक्ष सविन प्रियासनले गरिरहेका छन । दुबैले उपकुलपति डा. भण्डारीको राजीनामालाई आन्दोलनरोक्ने पहिलो शर्त बनाएका छन ।

उपकुलपति डा. भण्डारीलाई तत्कालिन देउवा सरकारले नियुक्त गरेको थियो । त्यस पछि प्रतिष्ठानमा राजनीतिक लडाई सुरु भएको हो । विगत दुईवर्षदेखिको जुँगाको लडाई अहिले उत्कर्षमा पुग्न थालेको हो ।

प्रतिष्ठान बचाऔं अभियानका सदस्य सचिव तथा पत्रकार महासंघका अध्यक्ष प्रियासनले आफु पत्रकार भन्दा पनि नागरिक भएर आन्दोलनमा समाहित भएको बताउँछन । आन्दोलनमा नेकपा निकटका व्यक्तिहरुमात्रै देखिनु र अन्य दलका ब्यक्तिहरु पछि हटेर आन्दोलनको राजनीतिकरण गरेको आरोप अध्यक्ष प्रियासनको छ ।

प्रतिष्ठानका पदाधिकारी विरुद्धको आन्दोलनमा पत्रकार महासंघका जिल्ला सचिव भुपेन्द्र वली, सदस्य नवीन अभिलाषी, शरद अधिकारी लगायतका स्थानीय पत्रकार र नेकपाका नेता कार्यकर्ता सहभागी छन । प्रतिष्ठानले एक जना चिकित्सकलाई नीति विपरित काम गरेको भन्दै बरखास्त गरे पछि उत्पन्न विवादले हिंसात्मक अबस्थासम्म पुर्‍याएको छ ।

उपकुलपति बचाउमा काँग्रेस

उपकुलपति डा. भण्डारीलाई तत्कालीन शेरबहादुर देउवा सरकारले नियुक्त गरेका कारण स्थानीय काँग्रेस नेता उपकुलपति र पदाधिकारीको बचाउमा देखिएका छन । यसले पनि आन्दोलन राजनीतिक मुद्दा बनेको छ ।

आन्दोलनमा पत्रकार स्वयम तालाबन्दी गर्न र अभद्र व्यवहारगर्न सक्रिय देखिनुले पत्रकारिताको निष्ठा समेत खलवलिएको काँग्रेस निकट पत्रकारको तर्क छ । आपसमा भेट हुँदा समेत पत्रकार बाझाबाझ गर्न पछि पर्दैनन ।

राजनीतिक स्वार्थ

प्रतिष्ठान स्थापना भएको दुई वर्ष पनि पुगेको छैन । यो पूर्ण रुपमा क्रियाशील भएको पनि छैन । यो विषयमा कसैले चासो दिएको छैन ।

प्रतिष्ठानको स्थापना देखिनै विवाद र आन्दोलन भइ रहेको छ । अहिले सम्म प्रतिष्ठानका नाममा मात्रै आधा दर्जन आन्दोलन भइसकेको छ । अस्पताल र प्रतिष्ठानको जुँगाको लडाईबाट शुरु भएको आन्दोलन राजीनामा र हातपातसम्म पुगेको छ ।

सत्तारुढ नेकपा र विपक्षी दल काँग्रेस प्रतिष्ठानका पदाधिकारी आफु अनुकुल नियुक्त गराउने प्रयासमा छन । काँग्रेसले नियुक्त गरेको उपकुलपति डा.भण्डारीलाई हटाएर आफु अनुकुल उपकुलपति ल्याउने नेकपाको दाउ छ । दलीय राजनीति हावी हुदा प्रतिष्ठान थला परेको छ । पदाधिकारीमा पनि पदको दम्भ छ ।

पत्रकार नै आन्दोलनमा

पत्रकार महासंघ दाङका अध्यक्ष प्रियासनले पत्रकार महासंघ नै प्रतिष्ठानको विरुद्धमा रहेको दावी गरेकाछन । पत्रकारहरुको हकहितको लागि नै प्रतिष्ठान विरुद्धमा लाग्नु पर्ने वाध्यता रहेको उनको तर्क छ ।

उनी भन्छन, म पहिले नागरिक हुँ । प्रतिष्ठानबाट सेवा लिन्छु । त्यसका लागि म आन्दोलनमा छु । म पत्रकारिता र अध्यक्ष पद छोड्न तयार छु । तर आन्दोलन छोड्दिन ।

पत्रकार नै आन्दोलनमा उत्रनु भन्दा सामाजिक विषयमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरि समाधान तर्फ लैजानु पर्ने नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष विपुल पोख्रेलको सुझाव छ । पत्रकार नै एक पक्षिय भई आन्दोलमा सक्रिय हुँदा समाजमा पत्रकारिताप्रतिको विश्वास गुम्ने उनको तर्क छ ।

रजिष्ट्रारमाथि दुव्र्यबहार

आन्दोलनका क्रममा प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेललाई दुव्र्यबहार गरिएको छ । प्रतिष्ठानका उपकुलपति डा. भण्डारीले रजिष्ट्रार माथि नेकपाका जिल्ला सचिवालय सदस्य विबेक श्रेष्ठ सहितका व्यक्तिले हातपात गरेको बताइन ।

प्रतिष्ठानको प्रशासनिक कार्यालयमा तालाबन्दी गर्न गएका सचिवालय सदस्य श्रेष्ठले प्याकुरेललाई कार्यकक्षबाट बाहिर निकाल्दै हातपात गरेको भिडियो समेत सार्वजनिक भएको छ । नेकपा जिल्ला नेता श्रेष्ठ तत्कालिन राप्ती उपक्षेत्रीय अस्पतालको व्यवस्थापन समितिका सदस्य थिए ।

आन्दोलनका क्रममा हातपातको अवस्था सिर्जना हुनु सामान्य भएको श्रेष्ठले बताए । श्रेष्ठले भने, हामी तालाबन्दीको क्रममा थियौ । उहाँलाई कार्यकक्ष बाहिर जानुहोस भन्दा हातपातको अवस्था आएको हो ।

नेपाली काग्रेसले प्रतिष्ठानमा भइरहेको आन्दोलन र हातपातको घटनाप्रति पार्टी गम्भिर भएको जनाएको छ । दाङ जिल्ला सचिव शंकर डाँगीले पदाधिकारीलाई दुव्र्यबहार गर्ने कार्य गलत भएको बताए ।

राजनीतिक आस्थाको आधारमा आन्दोलन गरिन नहुने उनको तर्क छ । प्रतिष्ठानमा राजनीतिक स्वार्थ हावी भएको छ । अहिले पनि त्यही देखिएको उनले बताए । गलत गर्नलाई कारवाही हुनु पर्छ ।’उनले भने । उपकुलपति डा. भण्डारी आफुले गलत काम नगरेको दावी गर्दै कसैले माग्दैमा आफुले राजिनामा नदिने बताइन ।

अदालतको आदेश अटेर

उच्च अदालत तुलसीपुरले प्रतिष्ठानमा कुनै पनि आन्दोलन नगर्न/नगराउन आदेश गरे पनि त्यसको पालना भएको छैन । अदालतको आदेश पछि पनि आन्दोलन भइरहेको छ ।

प्रतिष्ठानका बिरुद्ध परेका दुई वटा रिट उच्च अदालत तुलसीपुरले खारेज गरिदिएको छ । उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश रमेश पोखरेल र न्यायाधीश शालिग्राम कोइरालाको संयुक्त इजलासले प्रतिष्ठानले गरेको शुल्क वृद्धि र अदालतको मानहानीका दुईवटा रिट खारेज गरेको होे ।

अधिवक्ता एवं पत्रकार सुदिप गौतम सहितले २०७५ पुस १९ गते प्रतिष्ठानले गैर कानुनी रुपमा बिरामीसँग शुल्क लिएकोले रोक्न माग गर्दै उच्च अदालत तुलसीपुरमा रिट दायर गरेका थिए ।

रिट माथि सुनुवाई गर्दै अदालतले २०७५ पुष २० गते शुल्क तत्काल बृिद्ध नगर्ने अन्तरिम आदेश दिएको थियो । तत्कालीन मुख्य न्यायाधीश नहकुल सुवेदीले शुल्क नबढाउन अन्तरिम आदेश दिएका थिए ।

अदालतले शुल्क वृद्धि नगर्न आदेश दिएपनि प्रतिष्ठानले शुल्क लिइरहेको दावी गर्दै गौतमले प्रतिष्ठान बिरुद्ध अदालतको मानहानीको रिट दायर गरेका थिए ।

अदालतले ती दुवै रिटको अन्तिम फैसला गर्दै रिट निवेदकले गरेको दावी कानुन सम्मत नभएकाले खारेज गरेको हो । उच्च अदालतले रिट खारेज गरेपछि प्रतिष्ठानलाई बढाइएको शुल्क लिने बाटो खुलेको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री