आईसिपीको निर्माण कार्य अलपत्र

सिराज खान
नेपालगन्ज । नेपालन्ज– रुपैडिहा नाकामा निर्माणाधिन एकिकृत भन्सार जाँच चौकी (आईसिपी) को निर्माण कार्य लामो समयदेखि अलपत्र परेको छ ।

सो एकिकृत भन्सार जाँच चौकी निर्माण गर्नका लागि पटक पटक नेपाली उद्योगी व्यवसायीहरुले दवाव सृजना गर्दै आएपनि निर्माणको काम अगाडी बढ्न सकेको छैन ।

सात महिना अघि भारतका तत्कालिन गृहमन्त्री राजनाथ सिंहले रुपैडिहामा आएर एकिकृत भन्सार जाँच चौकी (आईसिपी) निर्माणको शिलान्यास गरेपछि निर्माण कार्य तिव्र हुने आशा गरिएको थियो ।

तर, सिंहले शिलन्यास गरेर फर्किएको सात महिना वितिसक्दा पनि त्यहाँ कुनै पनि निर्माण कार्य हालसम्म शुरु गरिएको छैन ।

गत पुस ३० गते भारतका तत्कालिन गृहमन्त्री सिंहले एकिकृत भन्सार जाँच चौकी (आईसिपी) निर्माणको शिलान्यास गरेका थिए ।

दश वर्षदेखि आईसिपीको कुरा मात्रै गरेर काम अगाडी बढ्न नसकेको बेला सात महिना अघि सिंहले आफै आएर शिलान्यास गरेपछि आईसिपी निर्माण शुरु हुने भन्दै नेपालगन्जका उद्योगी, व्यवसायी खुशी भएका थिए ।

अहिलेसम्म पनि आईसिपी निर्माणको काम जहाँको त्यही छ । शिलन्यास हुँदा लगाएको तारवार र पर्खाल बाहेक अन्य कुनै प्रगति भएको छैन ।

नेपाल र भारतले संयुक्तरुपमा मिलेर एकिकृत भन्सार जाँचचौकी निर्माण थालेका हुन । नेपालतर्फ भने जग्गा अधिग्रहण गर्ने काम सकिएको छ । भारतले आफ्नो र नेपालतर्फ गरेर दुबैतर्फ भौतिक पूर्वाधारको काम गर्न बाँकी छ ।

भारततर्फ १ सय ४२ एकड जमिनमा आईसिपी बन्दै छ । दुई अर्ब भारतीय रुपैयाको लागतमा दुई बर्षभित्र आईसिपी निर्माण गरिसक्नुपर्ने समयसीमा रहेको छ ।

शिलन्यास गरिएको सात महिना बितेपनि अहिलेसम्म काम शुरु नभएको राष्ट्रिय ब्यापार मण्डल रुपैडिहाका महासचिव रजा इमाम रजवीले बताए । उनले भने,–‘सुरुवात धेरै सुस्त देखिएको छ । आगामी दिनमा छिटो गरेर समयमै काम सक्नुपर्छ ।’

महासचिव रजवीले पश्चिम नेपाल र भारतबीचको ब्यापार सम्बन्धका लागि आईसिपी महत्वपूर्ण भएकाले छिटो भन्दा छिटो काम सम्पन्न गर्नुपर्ने माग गरे ।

भारत सरकारले नीजि ठेकेदार कम्पनी मार्फत आईसिपीको काम गर्ने शिलन्यासको बेला जनाईएको थियो । आईसिपी शुरु भएपछि आयात र निर्यातको दुई देशिय सम्पूर्ण काम एकिकृत प्रणालीबाट हुनेछ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले शिलन्यास गरिएको सात महिना बितेपनि काम अगाडी नबढ्दा चिन्ता बढेको जनाउँदै आईसिपीको काम समयमै सम्पन्न गरिनुपर्ने माग दुबै देशका सरकारसंग गरेका छन् ।

‘यो दुबै देशको व्यवसायीक सम्बन्ध बिस्तारका लागि महत्वपूर्ण केन्द्र हो । समयमै सम्पन्न हुन नसक्दा अन्यौलता बढ्दै गएको छ ।’– अध्यक्ष वैश्यले भने ।

एकिकृत भन्सार जाँच चौकीका लागि नेपालतर्फबाट जग्गा अधिग्रहण मात्र गरे पुग्ने भएकाले त्यो काम सम्पन्न भइसकेको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख शान्तीराम निरौलाले बताए ।

‘हाम्रो काम जग्गा अधिग्रहण गरे पुग्थ्यो । त्यो काम सम्पन्न भइसकेको छ ।’ निरौलाले थपे–‘भारतीय पक्षले हाम्रो तर्फपनि भौतिक पूर्वाधार निर्माण गरेर हामीलाई साँचो बुझाउने छन् ।’ नेपालतर्फ जयसपुर क्षेत्रको १ सय ८० बिगाह क्षेत्र नेपालले अधिग्रहण गरेर तारवार गरिएको छ ।

टिप्पणी थप्नुहोस्