नेपालगन्ज-रुपैडिहा-लखनउ सिधा बस सेवा शुरु

-सिराज खान
नेपालगन्ज । नेपालगन्जबाट भारत उत्तर प्रदेशको राजधानी लखनउका लागि सिधा बस सेवा आइतवारदेखि शुरु भएको छ ।

भेरी यातायात प्रालिले नेपाली नम्बरको बस लखनउसम्म र लखनउबाट नेपालगन्जसम्मका लागि संचालन गरेको हो ।

एक औपचारिक कार्यक्रमविच नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमसेर राणा र नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले आइतवार विहान सामुहिक रुपमा सो बस सेवाको शुभारम्भ गरे ।

प्रमुख राणा र अध्यक्ष वैश्यले हरियो झण्डा देखाएर बसलाई नेपालगन्जबाट पठाउनुका साथै पहिलो दिन लखनउको यात्रा गर्ने यात्रुहरुलाई अबिर र माला लगाएर विदाई गरे ।

लामो प्रतिक्षा र प्रयासपछि लखनउका लागि सिधा बस सेवा संचालन गर्न सकिएको जनाउँदै भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरिले यो सेवाबाट व्यापारी, व्यवसायी, दुवै देशका पर्यटक र उपचार गराउन जानेहरुलाई सहज हुने बताए । उनले धेरै बर्ष पहिलेदेखिको जनताको मागलाई बल्ल पुरा गर्न सकिएकोमा खुशी व्यक्त गरे ।

उपमहानगरपालिकाका प्रमुख डा. राणाले यो बस सेवाले लखनउ र नेपालगन्जलाई प्रत्यक्ष जोड्ने काम गरेको जनाउँदै अब दुबै शहरबीच व्यवसाय लगायत अन्य सम्बन्ध झन प्रगाढ हुने बताए ।

उनले नेपालगन्जलाई क्यासिनो सिटी बनाउन लागिएको बेला यो बस सेवा संचालनमा आएको जनाउँदै यसबाट सहयोग पुग्ने बताए ।

सोही प्रकारले नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष वैश्यले नेपालगन्ज लखनउ र नेपालगन्ज दिल्ली बस सेवा शुरु भएपछि अब सिधै नेपालगन्जको सम्पर्क भारतको राजधानी र उत्तरप्रदेशको राजधानीसंग भएको बताए ।

यी दुबै भारतका ठुला शहरसंगको सम्बन्धले नेपालगन्जको आर्थिक विकासमा धेरै फाइदा पुग्ने उनको भनार्ई थियो ।

होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेलले भारतका दुई ठुला शहर र राजधानी लखनउ र दिल्लीसंग बस सेवामार्फत प्रत्यक्ष नेपालगन्जको सम्बन्ध जुडेपछि अब पर्यटक तान्न सहज हुने बताए ।

भारत उत्तर प्रदेश परिवरहन निगम रोडवेजसंग नेपपालगन्ज लखनउ बस चलाउने सम्झौता गरिएपछि यो सेवा संचालनमा आएको हो ।

नेपालगन्जको कारकाँदो चौकमा टिकट काउन्टर राखेर यहाँबाट लखनउको लागि विहान ८ बजे र लखनउको केशरबागबाट राती सवा ९ बजे बस छुट्ने छ ।

नेपालगन्ज तथा आसपासका जिल्लाहरुबाट व्यापार व्यवसाय, घुम्नफिर्न र औषधि उपचार तथा किनमेलका लागि लखनउ जानेहरुको सुविधालाई ध्यानमा राखेर भेरी यातायात प्रालिले नेपालगन्ज लखनउ सिधा बस सेवा सञ्चालन गरेको सो प्रालिले जनाएको छ ।

भेरी यातायात प्रालिले यस अघि नेपालगन्ज–दिल्ली नेपाल भारतमैत्री बस सेवा संचालन गर्दै आएको छ । नेपालगन्ज-लखनउ बस सेवा शुरु भएपछि नेपालीहरुलाई आरामदायी र सुरक्षित यात्राका साथै सीमानाको विभिन्न झन्झटबाट पनि मुक्ति समेत मिल्ने छ ।

टिप्पणी थप्नुहोस्