हे नारान !

-पुण्यसागर मरहट्टा

ज्यु, म निरकुमार सुब्बा । पढ्न त पिएचडीसम्म पढें, डाक्टर भन्छन समाजले तर म सुइ लाउने डाक्टर होइन । त्यसैले फुँइ लगाउनैका लागि भनेर नामको अगाडी डाक्टर जोड्न मन लागेन। सामान्य लाहुरे परिवारबाट आएँ, अनुशासन, शिष्टता र आज्ञाकारिता त पैत्रिक गुण हुन्छ भन्छन लाहुरे परिवारमा, खोइ मलाई त्यो पनि थाहा छैन । कस्तुरीको नाइटोमा हुन्छ रे त बासना, फेरी त्यहि खोजिबस्छ रनबन भनेझैं म पनि अनुशाशन र शिष्टता खोजिबसेको छु अहिलेको कालसम्म।

हाम्रो बाजे ब्रिटिसको जमदार हुनुअघि भोजपुर तिरै थियो अरे हाम्रो खनीखोस्री गर्ने ठाउँ । बाजे त मलायामा लडीवरि तेत्तिसको उमेरमा पिन्सिन पकाएर आएको हुन् अरे । मेरो बाबा जन्मिँदा बाजे ४१ भाका थिए अरे बजु पनि ३० बत्तिस, हो त्यस्तै कतिपो हो, भन्थ्यो । फुपू पाउँदा नै बजु २८ सालको बुढी भयो भन्थ्यो नि । उता पहाडमा पन्ध्रै बर्षदेखि बर्षेनी ब्याउँछ नि केटीहरु, त्यसैले बुढी भनेको होला । जे होस्, मैंले बाजे देख्न पाइन । बजु त देखें तल इटहरीमा तर बाबा चिन्नेगरी देख्दा म आफैं १४ बर्षको भैसकेको थिएँ ।

जीवन कुन दिशा जान्छ भन्ने एकिन नहुँदै बजुले र ममीले एउटा कुरा दिमागमा हालिदिएका थिए, पढ्नु पर्छ । पैसा कमाउन त छाती नपाए पाइजान्छ तर ठुलो मान्छे बन्न जति सक्दो धेर पढ्नु पर्छ । पढ्न नपढेको होइन । बाबा हङकङमा ममी सातदोबाटोमा, बजु इटहरीमा, म त्रिभुवन आदर्श विद्यालय फर्पिंङमा गएर पढेकै हो । एक बाजी नौ कक्षा सकेर १० जानु अघि उता इटहरी गाको थिएँ । फुपुको छोरा बिशालले लहै लहैमा ‘छाती नपाउन’ लग्यो नि घोपा, सेलेक्ट त के खाएर हुनु ? बजुले नापिन गएको थाहा पाएर चोयाको सिर्कनाले डामलाग्ने गरि पुच्छर सेकिन मात्र । झन्डै ३५ बर्ष अघि बजुले सुम्ल्याएको हिजै जस्तो गरि दुख्छ सम्झेरै ।

हाम्रो बाजे रिटायर भएर फर्किंदा नेपालमा क्रान्ति भर्खर शुरु भएको थियो अरे । कृष्णप्रसाद भट्टराईको कमाण्डमा उदयपुर कब्जा गर्ने फ्रन्टमा हाम्रो बाजे पनि थियो अरे । पछिसम्म त्यसैले बजुलाई लिन आउथे स्वतन्त्रता सेनानीकि परिवार भनेर । शायद अनपढ भएपनि एक किसिमको राजनैतिक चेतना र परिवर्तनको लागि बाजेले गरेको योगदानमा सहभागी मेरी बजुले संधै मलाइ राजनैतिक चेतना भन्दा पर रहन भनिनन् । तर के पनि भनिरहिन भने– तँ लाहुरेको नाति, लाहुरेको छोरोले इमानको खालास तर बेइमान गरि खानु नसक्लास । अलि अलि बेइमानी नगरे त राजनीति नै नहुने भन्ने हाम्रो नेपाली पारा देख्दा आज भन्दा करिब ३० बर्ष अघिनै मेरी बजुले कति बुझेकी रहिछन भन्ने पनि नलागेको होइन ।

कलेज पढ्दा चम्की चम्की भाषण नगरेपनि सूर्यमुखी फुलजत्रा बिल्ला भिराएर जय नेपाल दाजु, जय नेपाल दिज्जु त गराए, गरियो । तर न स्ववियू उठियो, न जेल परियो, बजुले भनेको जस्तै लुरुलुरु पढियो । अरु को-को बाबाका नम्बरीका छोराहरु बुलेट बाइक लिएर कलेज जान्थे, म भने उही हिटलरको पालाको मिनिबस चढेर टिय़ू गएर मेजर इङ्गलिसमा मास्टर्स डिग्री पढें । बिभाग बलेको देखें, गुरु अभि सुवेदी रुएको देखें । सोच्थें, मेरा बाजेले लडेर ल्याइदिएको स्वतन्त्रतामा वितण्डताको घ्यु चरु हालेर कहाँ जाँदैछ समाज ? सोझो सुब्बा भएपनि दिमाग त छ नि, उसैपनि बजुले पढ भनेको यस्तै सोच्नुलाई त होला । सोचिबस्थे, खुब सोचिबस्थे । कहिलेकाहीं त लाग्थ्यो, अगुल्टो बोकेर निक्लुं सडकमा र चिच्याउँ– यो देश डुब्दैछ, तमाम् नकारात्मकताले देशप्रति इत्ति पनि श्रद्धा नहुने पुस्ता बनिन्दैछ । आँट कहिल्यै आएन ।

बाजेले पनि नोकरी गरे, बाबुले पनि, मैले पनि अन्ततः नोकरी गरें । नोकरी अच्छाखासा थियो । युएनको जागिर, द्वन्द ब्यबस्थापन, मानवाधिकारको फाँट । एकदिन त्यही जागिरको स्वाद पनि तम्तमाउँदो भयो र एआईटीमा पढ्नु मन लाग्यो र यसो फुर्सदमा तिनीहरुको प्रोग्राम ब्राउज गरें । अर्बन इन्भाइरन्मेण्ट म्यानेजमेन्ट (शहरी वातावरण ब्यबस्थापन) पढ्न इच्छा जाहेर गरिहेरें, खप्पर बलियो हो कि के हो एड्मिसन त मिल्यो मिल्यो, छात्रवृत्ति पनि मिल्यो । लागें माओवादी सरकारमा आएको दिन थाइल्याण्ड पढ्न दुइहजार सातको सेप्टेम्बरमा डिग्री लिएर फर्किने गरी ।

थाइल्याण्ड बस्दा नै हो नि मैंले जमुनाजीलाई पहिलो पल्ट भेटेको । जमुना शाही सुब्बा उहाँको अहिलेको नाम । अघि शाही मात्र हुन्जेल उहाँको परिचय जेन्डर स्टडिज पढ्ने जाजरकोटे ठकुरी मात्र थियो, अब सुब्बा जोडिंदा भोजपुरे बुहारी पनि भाको छ । उहाँ शायद त्यतिखेर कुनै आइएनजिओमा नेपालगंज अफिसमा कार्यरत हुनुहुन्थ्यो । त्यसैले काठमाडौँमा भेट भएन । म पश्चिम उतिसारो जानु मन पराउन्न थिएँ, कारण शायद साँस्कृतिक पृथकता थियो वा पुर्व तिरको आफुलाई लाग्ने सहजता । तर जब जमुनाजीसँग हिमचिम भयो, पश्चिम नेपाल चिनियो । जमुनाजी सँगको भेट जम्काभेट जस्तै पो थियो । जमुनाजी र म एकै समयमा एआईटी पढ्न पुगेका थियौं । हो, एआईटी पढदा हप्तामा एकबाजी बैंकक गइन्थ्यो । त्यसमा पनि प्रातुनाम पुगिन्थ्यो, त्यहाँको स्ट्रीट फुड खाइन्थ्यो र १० भाटमा मनग्गे पुग्ने गरी छीलेको आँप, रुख कटहर, भुइँ कटहर वा त्यस्तै ऋतुमाफिकका फलफूल बोकेर स्काई ट्रेनमा होस्टल फर्किइन्थ्यो ।

कुनै एकदिन ट्रेनमा जमुनाजी र म अगलबगलमा परेछौं । मलाई त्यस्ता यात्रामा किताब पढ़न मन पर्छ । त्यो ताका जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ चर्चाको शिखरमा थियो । त्यहि किताब पढ्दै थिएँ म । किताबको गाता देखेर ‘म त हजुरलाई यहींको ‘खून’ (आदरणीय) भनिठानेको, नेपाली पो हुनुहूंदो रहेछ ।’ जमुनाजीले यसो भन्नु भएको मलाई सम्झना छ । मैंंले ज्यु, म नेपाली हुँ, सुब्बाको छोरो, थाई जस्तो देखिएपनि परें चाहिं सय प्रतिशत शुद्ध नेपाली । रत्तीभर मिस्कट छैन, पक्का गोर्खे, पहाडे।’ भनी दिएको जवाफमा जमुनाजी रेलै थर्काउने गरी हास्नुभो र सोध्नु भो–‘म चाहीं को जस्तो लाग्यो त हजुरलाई ?’, मैले भने– सोझो लिम्बु हजुर, केटी देखो की खुट्टा लुगलुग हुन्छ, उतिसारो हेरिदैन, हेर्दामा हजुरलाई इण्डियन पो भंथें होला नि ?’ यो बाजी हामी दुबै हास्यौं ।

निश्चय नै हाम्रो एक साझा अनुहार छैन । मंगोल र आर्य अनुहारका कारण त्यसो भयो होला । मलाई त लाग्छ– नेपाल यस्तो देश हो जहाँ त्यसभेगका सबै मानव नश्लले आश्रय पाएका थिए परापुर्वकालमा । त्यसै त्यसलाई तपोभूमि भनिएन । पूर्वीय दर्शन, चिकित्सा, ज्योतिषशास्त्र आदिको जीवन्त प्रयोगशाला हो नेपाल ।

सबैतिरका विद्वान ज्ञानार्जनका लागि त्यस हिमवतखण्डमा पुगे, ज्ञान हासिल गरे, त्यहिं आवाद गरे । थाईहरुले गर्ने ‘सवादिका’ को जरो खोतलदा ‘स्वस्ति’ वा ‘स्वागत’ शव्द अघि आउछन, ती पनि नेपालका कुनै खण्डमा उम्रेका शव्द नहोलान र ? मलाई त लाग्छ आधुनिक ज्ञानको शिर भारतीय महाद्वीप हो र त्यसमा पनि कुनै बेला गिदी त नेपाल थियो । अहिले पनि लाग्छ–त्यस्तो गिदी जस्तो जगा खोइ के भएर हो, सुस्त पो भयो । शरीरका अंग अवयव नै अर्काको सापटी लिएकाले देश हाँकेको फुर्ति लगाउछन, उनीहरु नभए देशै डुब्ने कर्खा गाउँछन । भीड तिनै जस्तालाई पत्याउँछ र आफ्नो श्रमशक्ति, विद्वत शक्ति बिदेसशएकोमा चिन्ता गर्दैन, गिल्ला गर्छ । रोगीहरु ठाउँमा पुगेर देशै रोगी बनाइदिए ।

कुरो बहकियो कि कसो हो ? जमुनाजी र मैंले, दुबैले आफ्नो पढाई सक्यौं र नेपाल फर्कियौं । माथि पाथिभरा माइकोमा गएर मैंले जमुनाजीलाई सिन्दुर हालिदिएँ, यता बडिमालिकामा पुगेर भाकल पुजा गरियो । सुब्बा र ठकुरीको मिलन भयो । जिव्रो टोक्ने पनि थिए, ताली ठोक्ने पनि थिए । सिर्फ बजु थिएन अब, ममी त थिइन तर रोगले क्लान्त थिइन । हामी फर्केको तीनसाल पछि गयो ।

किन हो, यता सातदोबाटो ममीले आफ्नो मानेन, म मरेछु भने सेउतीको छेउछाउ गाड्नु भनेको थियो, उतै लगेर गाडिदिएँ । अब आफुलाई माया गर्ने यस जगतमा जम्मा एकजना बाँकी रह्यो–जमुनाजी । पहिले जमुनाजीले पिएचडी स्कलरशिप पाइन युनिभर्सिटी अफ लेथब्रिजमा( ‘वोमेन ट्राफ़िकिङ्ग एंड इट्स इम्प्याक्ट इन नेपाल्स इकोनोमी’ मा र त्यसको ठिक एकसाल पछि मैले ‘क्यापिटलाइजिंग इन्डो) नेपाल रिलेशनशिप इन रिजनल डेभेलप्मेन्ट’मा पिएचडी पाएँ । दुबैले जमेर पढियो धोको पुग्नेगरी ।

धोको मात्र पनि होइन पढ्नु वा बजुको आदेश मात्र पनि होइन । मलाइ त लाग्छ कुलत हो पढाई भनेको । टाईले सिंगान पुछेदेखि फेरी सिंगानले टाइ छोपुन्जेल पढ्न सक्छ मान्छे । म र जमुनाजी दुवै त्यही क्याटागोरीमा पो परियो कि भन्ने लाग्दा लाग्दै दुबैको पिएचडी सकियो । डिफेन्स गरियो र फुर्को गाँसियो । तर फुर्काले पेटको ज्वाला निभाउन्न, त्यसका लागि त चुलो बाल्नै पर्छ । पढ्ने मेलोमा उता हाम्रो तिरको मेसो खुस्किएको पत्तै भएन । पढ्ने कुलतले नेपालमा भएको जागिर खुस्कियो, आफन्त खुस्किए, खास भन्ने हो भने देशले त किन नदिँदो हो र ? आफ्नै बरु फर्केर केही नापिहाल्ने आँट खुस्कियो । बरु यतै अंग्रेजीमै सहि सलाम शाब्जी’ गर्ने, ‘जागते रहो’ भन्ने वा लटरपटर गरिटोपल्ने बिचार पो गरियो ।

विद्यार्थी जीवनमा गरेका जस्ता काम गर्न डिग्री पछि त नेपालमा असम्भव हुने नै भो, यता पनि सजिलो गरि पाइने छाँट थिएन । जसोतसो एउटा काम भेटियो । शहरको मूल चौरास्तामा बसेर कति चार पाङ्ग्रे, कति ठुला सवारी आवतजावत गर्छन ? कति मान्छे बाटो काट्छन ? त्यसको डाटा संकलन गर्ने र संश्लेषण गर्ने । कुनै झिझ्याट बेगर ३५ को ठण्डीमा गरियो त्यो काम । दुइटा प्रत्यक्ष फाइदा भयो । पहिलो चुल्हो बल्न थाल्यो, दोस्रो पेशागत संजाल बुनियो ।

उत्तर अमेरिका भरि त भन्नु सक्दिन, क्यानाडामा यसरी नै पेशागत काममा जगा बनाइन्छ, छुचुन्द्रोले दुलो पारेझैं पहिले सानो छेद पारो अनि लागिरह्यो । भन्नलाइ त ‘लौ डाक्साब, हामी काम लगाइदिन सक्छौं’ भन्दै कति आउनुभो कति नि हौ ? कांग्रेस, कम्निस्ट, किराँत, बाग्लुङ्गे, नेवार, चितौने आदि जस्ता संस्थाका ठुल्ठुला सर, मेमहरु। लु गरिहाल्छन कि त भनेर दुइचार संस्थाका अध्यक्षज्यूहरुलाई रेज्युमे नदिएको पनि होइन । पछि थाहा भो, ति कागज त त्यस्ता संस्थालाइ गाँड कोराकोर गर्न पो काम लाग्ने रहेछ ।

मेरो संगठनमा फल्ना आका छन, तेरामा छन् ? भन्न। एक संस्थाका महोदयले त अझ ‘हजुर जतिको मान्छेले त एउटा संस्था खोल्ने, एउटा सम्मेलन गर्ने भन्ने, नेपालबाट नेता मगाउने, नेतासंगै उनका चेला चपेटा बोलाउने, चेला चपेटाबाट निम्तो पठाए बापत ‘सगुन’ लिने, तिनलाई लुक्न मद्दत गर्ने । बर्षको पांच त्यसरी ल्याउन सके आनन्दले बाँच्न सकिन्छ, भनि सुझाए। त्यसो गर्दा उता नेपालमा डाक्साबको इज्जत पनि रहने, नेताजी पनि खुसी हुने र आफ्नो गर्जो पनि सहजै टर्ने पनि नभनेका होइनन । खोइ, यसो यताउता गर्न खोज्यो, याँमानको बुलाखी लगाएकी बजु कल्पनामै सही चोयाको सिर्कना लिएर आइजान्छिन र हप्काउछिन ‘गर्लास्नी बेइमानीको काम सुरु ?’ भनेर ।

कहिले काहीं त लाग्छ, मेरा बाउ बाजे जस्तै बरु छाती नपाउन गाको भए आनन्द हुन्थ्यो होला । यो करिब करिब आधि जीवन विद्यार्थी बनेर सुकेको ज्यान, एक तिहाइ खुइलेको तालु, एक तिहाइ सेता कपालले जागिर खोज्दै हिड्नु भन्दा त यो उमेरमा पेन्सन पकाकै पो ठिक हो कि ?

फेरी लाग्छ त्यो पनि के हो, के हो नै ? उसमा त जीवन नै दाउमा लगाउनु पर्छ । यता त अर्काको पैसोमा पढियो, बस। तर समस्या त्यो पढाइ पछिको पो रह्यो। भर्ति खुल्छ रिकुटेको, आफु परिन्छ जर्नेलको योग्यता पुग्ने । यता लुकायो, उता देखिन्छ, उता छोपो, यता उदाङ्गिन्छ । सडकमा गिन्तीको काम गर्दागर्दै, रिसर्च भनेर चित्त शान्ति गर्दा गर्दै कसो कसो यो पोलिसी प्लानरको जागिर चाहिं भेटियो है। यो काम गर्नैथालेको पनि अब त आठै बर्ष लागेछ हो गाँठे ! एक दिन जानु बेरै नलाग्ने।

त्यस्तै सन् २०११ तिर कहिले हो एकबाजी नेपालीहरुको विश्वव्यापी संगठनका स्थानिय नेताले ‘सुब्बा डाक्साब, हजुर जत्तिको मान्छे यसरी हाम्रो यस महान अभियानमा असंलग्न रहन मिल्छ ? कि हजुर, कि त जमुना म्याम त आउनै पर्यो नि यो संगठनमा’ भनि आग्रह गर्नुभयो । कुरो त सही लाग्यो, हो त त्यहि नेपाली मुलको पानी खाइयो, त्यहि नेपाली हावामा सास फेरियो, त्यहि पासपोर्ट बोकियो, त्यहि देशलाई आएको छात्रवृत्तिले आफु बनियो । आफ्नो मातृभूमिलाई केहि त दिनै पर्छ, दिने हो भनियो र सहभागी हुन गइयो एउटा कार्यक्रममा ।

सितिमिति जमुनाजी त्यस्तो कार्यक्रममा सहभागी हुन अल्छे गर्नु हुन्छ, मेरै करले जानुभयो । कार्यक्रममा पहिलो उदेकी समय नमान्ने नेपाली बानीबाट शुरु भयो । दिनको ३ बजे शुरु भनेको कार्यक्रम साँझ ५ः३० बजे बल्ल शुरु भयो । साढे पाँच देखि सवा छ सम्मको समय आशनग्रहणले पायो, थप २५ मिनेट खादा–मालाले खायो । पूर्व निर्धारित कार्यक्रमको पुछारमा ‘प्रश्न उत्तर’ भनेर सात बजेलाई छुट्याइएको थियो । सात बजे त ज्ञात अज्ञात शहिदको सम्मानमा मौन धारण गर्न सकियो । त्यसपछि विश्वेश्वरप्रसाद देखि खड्गप्रसादका नानावलीका किर्तन शुरु भए । रातको ९ः३७ मा मेरो प्रश्न गर्ने पालो आयो– आफु त सोझो सुब्बा, लामो कुरो जानिन पनि, ब्याङ्गै सोधिदिएँ पो–लौ यो अभियानले मातृभूमिको सेवा गर्ने उद्देश्य राखेको छ कि मातृभूमिमा बेपार गर्ने ? भनेर ।

दर्शक दिर्घामा र मंचमा बसेका साहु महाजन जस्ता देखिने टाइसुटधारी सर मेमहरुले नाक चेब्र्याए, धेरैले ताली पड्काए, थोरैले ओठ लोब्र्याए । केही अलि बाउन्सर जस्ता देखिने अरिमठ्ठे युवा साथीहरु समिपमा ढेपिन आए, जमुनाजीलाई अलिक अनौठो लागो । तथापी मेरो जवाफ दिन एक अन्तर्राष्ट्रिय नेताज्यूले अलिक कन्नु भो र भन्नु भो– ए सुब्बा साब, बेपार पनि सेवा जो हो । हामीले पैसो लानी हो, लगानी अर्नी हो, त्यल्ले गाममा रोजगारीको सिर्जना अर्छ र त्यसाटी नेपाल आमा ओ सेवा भैहाल्छ कर ? आर यु गेडिंग माइ प्वाइण्ट ? मलाई निको लाग्ने जवाफ पक्कै थिएन त्यो तर लामो बहस गर्न सक्ने समय समेत थिएन । आफैंले तिरेको २०४ को उल्का मसालेदार खाना खाएर एक घन्टाको बाटो घर फिर्नु थियो, भोलिपल्ट बिहानै जागिर्न जानै थियो ।

बाटोभरी जमुनाजी र म कुरा गर्दै आयौं । हामी त खैर निःशन्तानी भयौं, मानियो । तर यो पाराका संस्थाले, नेताले औं कार्यक्रमले कसरी हाम्रो दोस्रो पुस्तालाई समेट्न सक्छ ? हाम्रो ज्ञान र सीपको उपयोग नेपाल आमाले कसरी गर्न सक्छिन ? यसोउसो गर्यो, पैसै झार भन्छ नेपाल सरकार पनि, ‘बुद्धि त हामीसंगै छ, बिटो ले’ भन्छ । मानिदिएको मात्र हो बरु बिटो पो छ होला हौ ! हामीले त नेपाल सरकारले चाहन्छ भने हप्ताको चार घण्टा हामीले खाएको जागिरमा के कस्तो पद्धति छ भनेर नेपाल सरकार वा विश्वविद्यालयलाई पढाउन सक्छौं भिडियो कन्फ्रेंसिंग मार्फत । निरवछिन्न ५२ हप्ता पढाएँ भने मैंले मात्र ८३,००० डलर बराबरको श्रमदान गर्ने रहेछु । जमुनाजीले र मैंले गरि झन्डै दुई लाख डलरको श्रमदान गर्न सक्छौं । म जस्ता १० जना त मैं तयार पार्न सक्छु । जमुनाजीका पनि साथी सङ्गति छन् । कुरो गरियो, च्युरा भिज्ने कुरो थिएन । बाटो सहजै कटाइयो भनि आनन्द मानियो ।

पछि सन् २०१७ तिर फेरी एक झमट बोलाउनु भयो उसैगरी । कार्यक्रममा सुधारको अपेक्षा त थिएन नै, न उधारिएको होस् भन्ने कामना पनि फेल खायो । प्रगतिशील, हाइड्रोशिल, माओइस्ट, खाओइष्ट, अपर्च्युनिस्ट, ढोग्तान्त्रिक, ठोक्तान्त्रिक, बोक्तान्त्रिक सबैखाले भृत्यतन्त्र देखिने गरि जब उक्त कार्यक्रम शुरु भयो, उलुक उलुक भयो । जमुनाजी र म दुवै मन थामेर बसिम । को कता बाझे अरे, को जुधे अरे । उहिले टियूको स्ववियुको चुनावको झल्को दिनेगरी जब समुदायका नेता भिडे, जमुनाजी र म मुखामुख गर्यौं र बाटो ततायौं ।

बाटोमा फेरी कुरो त उठ्यो नै, जमुनाजीले भन्नुभो- ‘क्यानाडा जस्तो विकसित देशमा नेपाली समुदायको हक हितमा लाग्ने गरी खोलिएका संस्था फगत एक भद्दा मजाक हुन । यिनले आफू वरिपरि जेजति देख्छन त्यहिलाई नेपाली समुदाय देख्छन । आफ्नो हित हुनेगरि काम गर्छन र नेपाली समुदायको हित गरेको सम्झिन्छन । समस्या संस्थाको होइन, संस्थापकहरुको पनि होइन । समस्या नेतृत्व दिन्छु भन्ने केही व्यक्तिहरुको हो । जसलाई नेपालबाट ल्याएको कुण्ठाको कुम्लोले गांजिरहेछ ।

नेतृत्व बिशुद्ध समाजसेवा हो, निस्वार्थ स्वयंसेवा हो, आफ्नो परिवार र सन्ततिको लागि व्यतित गरिनु पर्ने समयबाट कटाएर आत्मसन्तोषका लागि गरिने परोपकार हो भन्ने भन्दा पनि त्यसलाई, त्यो उभिएको धरातललाई, त्यसका वैचारिक आस्थालाई करेप्नु नै नेता बन्नु हो भन्ने एक आग्रही कुण्ठा नबिसाउञ्जेल यो र यस्ता संस्थाको कुनै भविष्य छैन् ।’ जमुनाजी सही हुनुहुन्छ । जहाँ भाषाका कारण, न्यून शिक्षाका कारण, अल्पज्ञानका कारण, स्थानीय कानुनको अनविज्ञता कारण नेपाली भाइहरु बाक्सामा फर्किन बाध्य छन । बहिनीहरु अरबी शेखका घोडा बन्न बाध्य छन् । त्यहाँ चाहिन्छ नेपाली समुदायको हक हितका लागि प्रखर, प्रवल संगठन । जसले निमुखाको बोली बोलिदेओस । हामी यता सबै बोल्नु जान्ने छुम र बोलेको बोलेइ मत्तै गरिबस्छुम । यसपछि फेरी घर आइपुगियो । आफ्नो कथा सुरु भैगो । भोलिको लागि खाना प्याक गर, बिहानै उठ, ब्रेकफास्ट गर अनि चल काममा ।

‘गिभिंग ब्याक टु कम्युनिटी’ एउटा संस्कृति हो हामी बसेको मुलुकमा । त्यसैले स्वयंसेवाबाट बिमुख हुनै सकिन्न । उसैमाथि जमुनाजी र म दुवैले विकासे संस्थामा काम गरेका उहिले, त्यसैले समुदायमा हात मैला गर्न मन लाग्छ । त्यसैले उहाँले हप्ताको एकदिन स्थानीय स्कुलमा केटाकेटीको खाना खाने समयको निरीक्षण गरिदिनुहुन्छ । त्यस बापत सन्तुष्टि मिल्छ अरे । संगै स्वयंसेवा गर्ने एक रिटायर्ड कुर्दिस महिला डाक्टर त जमुनाजीको कुराले यति प्रभावित भैछिन कि भुइँचालो पछि बर्षेनी नेपाल पुगेर वृद्धाश्रममा एक महिना नेपाली बाबाआमाको सेवा गरी फर्किन्छिन ।

जमुनाजीले जति मैंले समय दिन सकेको छुइन तथापी प्लान इन्टरन्याशनल मार्फत सोलुतिरकी सुम्निमा राईलाई १२ कक्षा सम्म पढाइदिने प्रतिज्ञा गरेको छु । सुम्निमा राई– हामीले नजन्माएकी छोरी, उनको पढाइ खर्च बेहोरेको अहिले चार साल भयो, अझै आठ साल बाँकी छ । खोइ, यो गर्दा पो बेसी आनन्द आउँछ, होटेलको चकाचौंधमा भाषण गर्दा वा सो सुन्नु भन्दा ।सम्भवतः यहि आनन्द माझ हामी बुढाबुढी लुट्पुटिन्छौं आल्हादित हुन्छौं तथापि एकांगी महसुश गर्छौं ।

मलाई चण्डी नाच मिस हुन्छ, जमुनाजीलाइ तीज । यो साल यस्तै भयो र हामी तीज मनाउन एउटा नेपाली कार्यक्रममा पुगेम । भिडभाड थियो, चर्को संगीतका बीच पशुपति शर्मा, कोमल ओली, सुनिता दुलाल र पछिल्लो समय दुर्गेश थापा घन्किरहे । त्यसैबीच कसैले पिठ्युँमा दह्रो धाप मारेर सोधे । ओई, मलाई चिनिस् ? भाषा अलिक शिष्ट थियो, आसय किञ्चित पृथक थिएन । मैंले ‘सरी हजुर, चिनिन’ भनें। नचिनेकालाई चिनिन भन्नु अपराध भयो होला र त भने– ए, म को हुँ भन्ने कुरो तेरो फलाना भाइले चिनेको छ, उसैलाई सोधेस् । यति भने, आफ्नो बिजनेस कार्ड थमाएर उनी ‘बीच्च बीच्च’मा नाच्न गए ।

चर्को आवाज र मधुरो प्रकाश बीच मैंले उनको बिजनेस कार्ड हेरें । डा. फलाना ढिम्काना, भूपु अध्यक्ष, गैराबासी नेपाली संगठन लेखिएको थियो । ठुला मान्छे चिन्न सकिएन भन्ने थकथकी लागिरह्यो । अन्यमनस्क रहें, लाग्यो– अली अघेर देखि जमुनाजीले भन्नुभएको त थियो– हजूरको चश्मा फेरिस्यो न, अचेल हजुरको आँखाको पावर कमजोर भएको छ भनेर । वीपी कोइरालाको ‘दोषी चस्मा’ मेरो नाँके डांडीमा आएर अडेको महशुस भयो । फेर्नु त पर्ने हो नि तर मनमनै सोचें– अली लर्तरो फ्रेमवाला चस्मा लगाऊँ, आफ्नो हैसियत अगाडि आउँछ, अली गतिलो फ्रेम कल्पुं, छोरीको फीस प्रतिज्ञा गिज्याउन आइजान्छ । क्या जिन्दगी रोजिएछ गाँठे ? जाबो एक गतिलो चश्मा फेर्ने सपना देख्न समेत ठुलाबड़ाको खप्की खप्नु पर्ने म डा.।

निरकुमार सुब्बा, एम्सिआइपी, आर्पिपी, पोलिसी अनालिस्ट, सीटी अफ गोएल्फले। यो घटनाले पोलिरह्यो । जमुनाजी मग्न नाच्नुभो, हामीले संगै लाइन बसेर खाना खायौं । पुराना साथी सङ्गति भेट भए, मजा आयो । जमुनाजी बिशेष खुसी हुनुभयो । किनभने वर्ष दिनको यो यहि समय हो जतिखेर नेपाली नारीहरु यता हुँदो पनि रातै साडी र भएभरका गहना पहिरेर नाच्न पाउँछन । यो चाडको महत्ता जरुर छ त्यसकारण । फर्किने बेलामा मैंले धुमधुम्ती मोटर हाकिरहें । जमुनाजीलाई कौतुहलता भयो शायद र सोध्नु भो– बुढो, आज मलिन किन ? गलियो ? म बोल्न खोज्दै थिएँ, एउटा फोन आयो । मोटरमा गाँसिएको ब्लु टूथ मार्फत फोन उठाएँ । समुदायको कुनै एक ठुलै नेता थिए, भन्दै थिए– दाजु, हजुर त हाम्रो संस्थाको सदस्यता नविकरण नगरी बस्नु पो भाको रछ नि ? त्यसरी कसरी हुन्छ ? हजुरको र भाउजुको मेम्बर्शिप रिन्यु मैं गर्दिउला, भोट खसाल्न चैं आइदिनु पर्यो आउने शनिवार । सुन्ने हामी दुवै हक्क न बक्क भयौं । मैले सोचें– लगानी गरीगरी चुनाव उठ्नु, जित्नु र समाजसेवा गर्नुको पिछाडी के चाहिं कारण होला हौ ? जमुनाजीको मुखबाट भने अनायासै फुस्कियो– हे नारान ! ‘आर दे रियल्ली गिभिंग ब्याक टु कम्युनिटी ?’ के साच्चैं उनीहरुबाट समुदायले केहि त पाइरहेछ ?’

सेप्टेम्बर ४, २०१९

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री