दुई ठेकेदारले अलपत्र पारे स्वास्थ्य केन्द्रको भवन

-सिराज खान
नेपालगन्ज। विकासे कामको ठेक्का लिने तर त्यसपछि भने वेवास्ता गर्ने प्रवृत्ति पूर्वाधार विकासको बाधक बनेको छ ।

जसले गर्दा थालिएका विकासका काम अलपत्र मात्रै छैनन् काम गर्ने जिम्मेवारी कसको हो भन्नेमा समेत अलमल देखिन थालेको छ ।

सोही अलमलको शिकार नेपालगन्ज उपमहानगरपालिका–१ मा निर्माण भइरहेको शहरी स्वास्थ्य केन्द्रको सरकारी भवन बनेको छ ।

तत्कालिन जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्राप्त करिब एक करोड बजेटमा निर्माण गर्न दुई पटकसम्म ठेक्का दिइएपनि काम नभएपछि अहिले उपभोक्ता समिति मार्फत काम भैरहेको छ ।

पहिले ठेक्का पाएका ठेकेदारले पिलर मात्र उठाएर पाँच बर्ष विताएपछि उनीसंग ठेक्का तोडेर अर्कोलाई दिंदा उनले समेत कामै नगरी ठेक्का अवधी पुरा गरेकोले अलपत्र र वेवारिसे अवस्थामा रहेको भवन निर्माणको काम उपभोक्ता समितिबाट भैरहेको वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजालले बताए ।

‘पहिलो ठेकेदारले पूर्वाधार निर्माणका लागि जमिनमा पिलर उठाइएको पाँच बर्ष विताएर केही रकम खर्चसमेत गरेपनि भवन निर्माणको काम अघि बढ्न नसकेपछि ठेक्का तोडेर अर्को ठेकदारलाई दिंदा समेत त्यस्तै भएकोले अहिले उपभोक्ता समितिलाई दिइएकोछ’–उनले भने ।

जनस्वास्थ्य कार्यालयका अधिकृत रामबहादुर चन्दले पाँच बर्षदेखि यो योजना पुरा नहुँदा स्थानीयको घर भाडामा लिएर कार्यालय सञ्चालन गर्नुपरेको बताए ।

‘भवन अभावले सेवा प्रवाह पनि सोचे अनुसार हुन सकेको छैन । जेनतेन चलेको छ,’ अधिकृत चन्दले भने । जनस्वास्थ्य कार्यालयले सहरी स्वास्थ्य क्लिनिकको भवन निर्माणका लागि भन्दै नेपालगन्ज उपमहानगरपालिका तत्कालिन नगरपालिकालाई उक्त रकम प्रदान गरेको थियो ।

जनस्वास्थ्यको रकम पाएपछि भवन निर्माणका लािग नगरपालिकाले टेण्डर आव्हान गरि एक ठेकेदारलाई निर्माणको जिम्मा दिएको थियो । तर, सोे ठेकेदारको बेवास्ता गरेपछि अर्कोलाई दिईयो । उसले पनि वास्ता गरेन ।

उपमहानगरपालिकाले पनि उक्त वेवारिसे भवनको निर्माण पुरा गर्नेतर्फ शुरुमा चासो नदेखाएको अधिकृत चन्द बताउँछन् । उनले भने, ‘जे कामका लागि बजेट दिएको हो त्यो बजेट त्यहि काममा लगाउनुपर्छ । वडा नं. १ मा रहेको उक्त सहरी स्वास्थ्य केन्द्रको भवन अभावकै कारण लामो समयदेखि केन्द्र भाडाको घरमा बस्दै आएको छ ।’

स्वास्थ्यको बजेट उपमहानगरपालिकामा थन्किएको छ तर, भवन निर्माण अझै पुरा भएको छैन । भाडाको घरबाट सेवा प्रवाह गर्नुपरेको छ । यसअघि भवन निर्माणको ठेक्का पाएका दुई दुई ठेकेदारसँग सम्झौता रद्द समेत गरिसकेको उपमहानगरले अहिले उपभोक्ता समितिबाट काम गराईरहेको सुनिएको उनले बताए ।

यसअघि ठेकेदारको खोजी र उपमहानगरपालिकासँग पहल लगायतका बिषयमा जनप्रतिनिधिहरुको भूमिका नदेखिएको स्थानीयहरु बताउँछन् ।

नेपालगन्ज उपमहानगरका उपमेयर उमा थापामगरको बसोबाससमेत रहेको उक्त वडाकै भवन निर्माण अलपत्र र वेवारिसेजस्तै बनेपनि बनाउनेतर्फ ध्यान नदिएको वडा नं. १ का स्थानीय रविन्द्र शाहीले बताए ।

उपमहानगरपालिका मात्रै होइन वडा नं. १ का वडा अध्यक्ष समेत आफ्नै वडामा यसरी वेवारिसे रहेको पूर्वाधारका बिषयमा चासो दिएको देखिएन ।

उक्त भवन निर्माणका लागि ठेकेदारको खोजी र उपमहानगरपालिकासँग पहल लगायतका विषयमा जनप्रतिनिधिको समेत कुनैपनि भूमिका नदेखिएको स्थानीयको आरोप छ ।

टिप्पणी थप्नुहोस्