भैरहवामै समुन्द्रको मजा

-राधेश्याम विश्वकर्मा

भैरहवा । समुन्द्रिक छालको मजा अब भैरहवामै लिन पाइने भएको छ ।

आन्तरिक र वाह्य पर्यटकलाई लक्षित गरी भैरहवाको बोधी रेडसन होटलले पश्चिम नेपालमै ठूलो र सुविधायुक्त वाटर पार्क संचालनमा ल्याएको छ ।

वाटर पार्कमा नेपालमै पहिलो पटक मेसिनद्धारा कृतिम सामुन्द्रिक छाल बनाइ वास्तविक समुन्द्रको अनुभुति गराउने प्रयास गरिएको छ ।

वसन्तपुरस्थित होटल परिसरमै साढे चार बिघा क्षेत्रफलमा १५ करोड रुपैंयाँ लगानीमा वाटर पार्क संचालनमा ल्याइएको हो ।

होटलकै स्वामित्वको वाटर पार्कमा एक सय ४० वर्ग फिटको सामुन्द्रिक छालयुक्त पोखरी (वेभ पूल) र दुई किलोमिटर लामो कृतिम नदी सहितका मनोरन्जनयुक्त पुर्वाधारहरु बनाइएको होटलले जनाएको छ । यहाँको वेभ पुल र कृतिम नदी नेपालमा हालसम्मकै ठूला संरचना मानिएको छ ।

अमेरिकी प्रविधिको वाटर पम्पले वेभ पुल समुन्द्रमा जस्तै छाल निकाल्ने गर्छ । वेभ पुल यस क्षेत्रमै नौलो हो, जहाँ एकपटकमा दुई सय जनासम्मले मनोरन्जन लिन सक्छन भने कृतिम नदीमा पाइडल डुंगामा शयर गर्न सकिन्छ ।

पार्कका सञ्चालक तथा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ का सांसद समेत रहेका प्रमोद यादवले तत्काल पार्कमा १५ करोड लगानी रहे पनि यसलाई ३० करोड पुर्‍याउने लक्ष्य रहेको बताए ।

पार्कमा वयस्कहरुका लागि ३५ फिट र १५ फिट अग्लो स्लाइडिङ, बच्चाहरुका लागि बेबी स्लाइडिङ, लेजी रिभर, रेन डान्स, जेट स्प्रे, अम्ब्रेला सावर, अक्वा प्ले, मल्टिपल वाटर गेमलगायतका पानीमा खेलेर गरिने मनोरन्जनयुक्त संरचनाहरु रहेका छन् । पार्कमा एकपटकमा सात सय जनाले मनोरन्जन लिन सक्छन् ।

वाटर पार्कमा प्रयोग हुने पानीले मानिसको छालामा कुनै असर नगरोस् भनेर १० वटा स्याण्ड फिल्टरमा छानेर पठाइने र विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेका रसायन मात्रै प्रयोग गरिएको सञ्चालकको भनाई छ ।

पार्कमा निकट भविष्यमै चिनियाँ प्रविधिको हिम वर्षा (स्नो फल) राख्ने योजना पनि होटलले बनाएको छ । गर्मी मौसममा हिमाली क्षेत्रमा जस्तै शीतलता दिन माइनस २५ डिग्री सेल्सियस तापक्रमको स्नोफल गराइने अध्यक्ष यादवले बताए ।

टिप्पणी थप्नुहोस्