पेट्रोलियम पाइप लाइनको उद्घाटनपछि ओलीले भने : ‘मोदीजीलाई धन्यवाद’

संवाददाता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइप लाइनको उच्च प्रविधिको प्रयोग गरेर उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कार्यलयमा रहेको ‘एक्सन रुम’बाट मोदीले नयाँ दिल्लीबाट स्विच दबाएर पाइपलाइनको उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्रीद्वयले स्वीच थिचेपछि अमलेखगञ्जमा रहेका आयल निगमका अधिकारीहरुले बोतलमा तेल थापेर आदान–प्रदान गरेका थिए ।

उद्घाटनपछि भिडियो कन्फरेन्स मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतबाट नेपालमा पेट्रोलियम पदार्थ ढुवानीमा समय बचत गर्ने, लागत बढाउने, सवारी यातायात कम गर्ने र वायु प्रदूषणलाई कम गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले यस प्रकारका पाइपलाइनहरुको विस्तारका लागि नेपालले अरु अवसर पनि दिने बताएका छन् ।

‘यस पाइपलाइनले नेपाली उपभोक्ताहरुमा सकारात्मक प्रभाव परेको छ । आजैदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा दुई रुपैंयाँ मूल्य घटाएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘यस बाहेक परियोजनाले दुई देशका बीचमा परस्पर सम्बन्ध र पारस्परिक निर्भरता बढाउनेछ । नेपाल र भारतको ट्रेड र ट्रान्जिट पूर्वाधारको सम्बन्धमा कनेक्टिभिटीको सर्वश्रेष्ठ उदाहरण समेत हुनेछ । यसका लागि म प्रधानमन्त्री मोदीजी र भारत सरकारलाई धन्यवाद दिन चाहन्छु ।’

प्रधानमन्त्री ओलीले नेपाल भारत सम्बन्धको लागि नयाँ जोश, गतिशिलता र दिशा प्रक्षेपण गर्नु आवश्यक रहेको उल्लेख गरेका छन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री