रंगशाला प्रवेश गर्न शुल्क अनिवार्य

-सिराज खान

नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुदका लागि करोडौं लगानी गरेर निर्माण गरिएको अत्याधुनिक नेपालगञ्ज रंगशाला र सो परिसरमा रहेका अन्य प्रतियोगितास्थलमा अबदेखि शुल्क तिरेर मात्र प्रवेश पाइने भएको छ ।

रंगशालाको रेखदेख र संरक्षणका लागि व्यवस्थापन गर्ने भनि शुल्क निर्धारण गरिएको जनाइएको छ । रंगशाला र त्यहाँ रहेका अन्य स्थानमा प्रवेशका लागि विभिन्न संघ संस्था र व्यक्तिका लागि छुट्टाछुट्टै वार्षिक र मासिक शुल्क कायम गरिएको छ ।

रंगशालामा जगिङ गर्न जानेले वार्षिक एक हजार रुपैंयाँ तिरेर नाम दर्ता गरी परिचयपत्र पाउने छन् । त्यसपछि मासिक पाँच सय रुपैंयाँ तिर्नुपर्नेछ । अनि मात्र उनिहरु भित्र छिर्न पाउनेछन् ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष आतंक बस्नेतका अनुसार नियमित प्रशिक्षणका लागि आउने खेलाडीलाई वार्षिक ६ सय रुपैंयाँ दर्ता शुल्क राखिएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक प्राप्त खेलाडी तथा खेलकुदका पूर्व कर्मचारी, पदाधिकारी र संघका अध्यक्षहरुलाई एक हजार दुई सय रुपैंयाँ वार्षिक दर्ता शुल्क राखिएको छ ।

२५ वर्ष भन्दा कम उमेर र त्यसमाथिका लागि फरक फरक शुल्कको व्यवस्था गरिएको बस्नेतले जनाए । रंगशालामा गएर जगिङ गर्न, ब्याडमिन्टन, भारोत्तोलन खेल्न चाहनेलाई वार्षिक शुल्क पाँच हजार र मासिक दुई हजार रुपैंयाँ शुल्क कायम गरिएको छ ।

२५ वर्षभन्दा कम उमेरकालाई जगिङ, ब्याडमिन्टन, भारोत्तोलन सबै खेल्न वार्षिक पाँचसय र मासिक एक हजार, ब्याडमिन्टनमा पाँच सय दर्ता र पाँच सय मासिक, भारोत्तोलनमा पाँच सय दर्ता र पाँच सय मासिक, बास्केटबलमा पाँच सय दर्ता र दुई सय मासिक र ह्याण्डबलमा पाँच सय दर्ता र दुई सय रुपैया मासिक शुल्क तोकिएको खेलकुद समितिका निर्देशक जयन्त शर्माले बताए ।

आधुनिक रंगशालामा फुटबल प्रशिक्षणमा भने प्रतिबन्ध लगाइएको छ । प्रतियोगिताहरु मात्रै खेल्न पाउने व्यवस्था गरिएको छ । अन्यत्र फुटबल मैदान नभएको र रंगशालामा अभ्यास गर्न नपाउने भएपछि फुटबल खेलाडी भने मर्कामा पर्ने भएका छन् ।

युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित खेलकुदका लागि मैदान सरसफाई वापत प्रति दिन दुई हजार, खेलसँग आवद्धलाई दैनिक पाँच हजार, खेलसँग आवद्ध नभएका संघ संस्थालाई दैनिक दश हजार र खेलकुद बाहेक अन्य कार्यक्रमका लागि प्रति दिन ३० हजार रुपैया लिने व्यवस्था गरिएको छ ।

कबर्ड हल, पौडी पोखरी, भारोत्तोलन हल, सुटिङ हल, ह्याण्डबल मैदान, बास्केटबलका लागि पनि राखेपदेखि खेलकुद आवद्ध संघ संस्था र आवद्ध नभएकालाई फरक फरक शुल्क निर्धारण गरिएको छ ।

नि:शुल्क आइरहेकाहरुलाई शुल्क तिर्नु पर्दा सुरुमा अप्ठेरो लागेपनि दीर्घकालिन रुपमा यसले रंगशालाको भौतिक संरचनाको संरक्षणमा सघाउ पुरयाउने जिल्ला खेलकुद समितिका अध्यक्ष बस्नेतले बताए ।

टिप्पणी थप्नुहोस्