मृत्युदण्ड होइन भएका कानुन कार्यान्वयन जरुरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापामगरले महिला हिंसा रोक्नको लागि दोषीलाई मृत्युदण्डसम्मको सजाय दिन सकिनेबारे छलफल सुरु गर्न सकिने बताएकी छिन् । यद्यपी, उनले अहिले भएका कानुनलाई नै प्रभावकारी कार्यान्वयनतर्फ जोड दिनुपर्ने बताइन ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री थापाले तत्काल मृत्युदण्ड नै दिनुपर्छ भन्ने स्थिति नभएको सुनाउँदै संविधान, कानुन र ऐनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने स्पष्ट पारेकी हुन् ।

उनले भनिन्,‘बलात्कार, हत्या, एसिड आक्रमणलगायतका हिंसाका घट्नामा संलग्न दोषीलाई हदैसम्मको कडा कारबाही गर्नुपर्छ । तर, दोषीलाई मृत्युदण्डको सजाय दिनेबारे कानून बनाउनुपर्छ भन्नेबारे छलफल त गर्न सकिन्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले संविधान, कानून र ऐनको मर्म र भावनाअनुसार अघि बढ्नुपर्नेमा जोड दिइन् ।

उनले महिला हिंसाका घट्ना न्यूनीकरणको लागि सबै तह र तप्काबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्ने पनि धारणा राखिन् । अहिलेपनि महिला हिंसामा संलग्न दोषीलाई प्रचलित कानूनअनुसार कारबाही भैरहेको उनले स्पष्ट पारिन् । वर्तमान सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको हितमा कार्यक्रम सञ्चालन गरिरहेको उनको विश्वास थियो ।

टिप्पणी थप्नुहोस्