एउटै पान मसला उद्योगद्वारा साढे सात करोड राजश्व चुहावट

-सिराज खान
नेपालगन्ज । एक सामान्य उद्योगले साढे सात करोड भन्दा बढी राजस्व चुहावट गर्न सक्छ भने देशका अन्य उद्योगले के गर्लान् ?

बाँकेको खजुरामा रहेको एक पान मसला उद्योगले साढे सात करोडको राजस्व चुहावट गरेको तथ्य सार्वजनिक भएपछि चारैतिर चासो र चर्चा भैरहेको छ ।

सो उद्योगले स्थापना कालदेखि नै राजश्व चुहावट गरेको भन्दै राजस्व अनुसन्धान विभागले खजुरास्थित नेपाल पान मसला उद्योगमाथि ७ करोड ५२ लाख दुई हजार ७७४ रुपैयाँ बराबरको बिगो सहितको मुद्दा दर्ता गरेपछि सो तथ्य सार्वजनिक भएको हो ।

राजस्व अनुसन्धान बिभागले लामो अनुसन्धानपछि जिल्ला अदालत बाँकेमा उक्त राजस्व चुहावटको मुद्दा दर्ता गरेको छ । उक्त उद्योगले इको प्लस नामक गुट्खा उत्पादन गर्दै आएको थियो ।

सो उद्योगले आर्थिक वर्ष २०७३/०७४ देखि लगातार तीन आर्थिक वर्ष केही उत्पादनमा स्टिकर समेत प्रयोग नगरी बिक्री गरेको अभियोग छ । अन्तःशुल्क, स्टिकरको विवरण, बैङ्क स्टेटमेन्ट लगायतको अध्ययनपछि विभागले उद्योग विरुद्ध सो मुद्दा दायर गरेको हो ।

उद्योगले तीन आर्थिक वर्षमा सात करोड ५२ लाख दुई हजार ७७४ रुपैयाँ राजस्व चुहावट गरेको बिगो विभागले कायम गरेको छ ।

उद्योगसँगै कम्पनीका प्रोपाइटर कुतबुद्दिन शेषलाई पनि विभागले प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । राजस्व चुहावट नियन्त्रण तथा नियमन ऐनको व्यवस्था अनुसार कसुर ठहर भएमा दोषीमाथि तीन वर्षसम्म कैद सजाय हुन सक्नेछ ।

यस्तै, बिगोको दोब्बरसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था पनि रहेको छ । यता उद्योगका सञ्चालक कुतबुद्धिन शेषका दाजु बब्लु शेषले कानुनसम्मत तरिकाले उद्योग सञ्चालन भएको दावी गर्दै अदालतबाट न्याय पाउने बताएका छन् ।

उनले यति धेरै राजस्व चुहावट गरेको भन्नु आरोप मात्र रहेको जनाउँदै अदालतको फैसलाले सत्य तथ्य बाहिर आउने बताए ।

टिप्पणी थप्नुहोस्