‘विधेयकहरुको एकमुष्ट खारेजीको लागि अदालत जान्छौं’

काठमाडौं । २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको अधिकार कुण्ठित गर्नेगरी केन्द्र सरकारले ल्याएका विधेयक तथा ऐनहरुको एकमुष्ट खारेजीको लागि आफूहरु सर्वोच्च अदालत जाने चेतावनी दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन । राउतले संघीय सरकारले आफूलाई माथि पारेर विभिन्न ऐन, कानून तथा विधेयकहरु ल्याएकोमा तिव्र असन्तुष्टि पोखे ।

उनले भने,‘संविधानले दिएको प्रदेशको अधिकारपनि कटौती गर्नेगरि केन्द्र सरकारले कदम चालिरहेको छ । सागरनाथ वनको सवालमा पनि अहिले प्राधिकरण गठन गरेर वनलाई आफ्नो मातहातमा राख्न खोजिरहेको छ । यो हामीलाई मान्य छैन् । हामीले यो प्रकरणमा केन्द्र सरकारलाई जवाफ दिनको लागि पनि भर्खरै सागरनाथमै हाम्रो प्रदेशको मन्त्रिपरिषदको बैठक राख्यौं ।’

साक्षात्कारमा बोल्दै उनले केन्द्र सरकारले ल्याएका संविधानविरोधी विद्येयक तथा ऐन र कानूनहरु आफूहरुलाई मान्य नहुने भन्दै केन्द्र सरकारबाट भएका त्रुटीहरु सच्याउनुपर्ने सुझाव दिए ।

उनले भने,‘अहिलेपनि केन्द्रका शासकहरुमा हिजोकोजस्तै मानसिकता छ । केन्द्र सरकारबाट भएका त्रुटीहरु सच्याउनुपर्छ । हामी प्रदेशको अधिकार खोस्ने विद्येयकहरुलाई एकमुष्ट रुपमा खारेजी गर्नको लागि तयार गर्छौं ।’

उनले संविधानले राष्ट्रिय वनको सवालमा यो अधिकार प्रदेश सरकारलाई दिएकोमा केन्द्र सरकारले गलत तवरले आफ्नो मातहातमा राख्ने प्रयास गरिरहेको आरोप लगाए ।

उनले भने,‘संघले जंगल मास्न खोजिरहेको छ । हामी कुनैपनि हालतमा मास्न दिँदैनौं । जंगल मासियो भने मधेश समाप्त हुन्छ । त्यसैले हामी मधेश बचाउन तयार छौं । मधेश बाँच्यो भनेमात्रै देश बच्छ । चुरेको दोहन हुन दिँदैनौं ।’

मुख्यमन्त्री राउतले अहिलेपनि केन्द्र सरकारले प्रदेश सरकारलाई जसरी सहयोग गर्नुपर्नेथियो त्यो अनुसारको सहयोग नगरेको गुनासो पोखे । उनले भने,‘हामीले संघबाट राम्रो सहयोग पाएनौं ।’

अहिले प्राप्त भएका गणतन्त्र, संघीयता, समानूपातिक–समावेशितालगायतका कुराहरु ठूला उपलब्धि भएको बताउँदै उनले यसको रक्षाको लागि सबै एकजुट भएर लाग्नुपर्ने पनि धारणा राखे ।

उनले मुलुकको विकास र समृद्धिको लागि आफूहरु अहोरात्र खटिरहेको स्पष्ट पारेका छन् । यसको लागि काम गर्ने वातावरण बनाउनुपर्नेमा उनको जोड थियो । उनले अपेक्षित काम हुन नसकेको भने स्विकार गरे ।

मुख्यमन्त्री राउतले आफू कामबाट पूर्ण रुपमा सन्तुष्ट रहेको सुनाउँदै प्रदेशमा काम नै भएन भनेर काठमाडौंबाट टिकाटीप्पणी गर्न नहुने जिकिर गरे । उनले भने,‘गाउँ गाउँमा ढलौट रोड बनेका छन् । स्कुल र अस्पतालहरु धमाधम निर्माण भैरहेका छन् ।’

उनले संविधानमा भएका सबैखाले त्रुटीहरु सच्याउनको लागि अब ढिलाई गर्न नहुने धारणा राखे । उनले भने,‘यो संविधानलाई सबैले अपनत्व गर्नुपर्छ । यसको लागि प्रधानमन्त्रीले पनि हामीलाई संशोधनको आश्वासन दिनुभएको छ । मसँगको भेटवार्तामा पनि उहाँले संविधान संशोधनबारे आश्वासन दिनुभएको छ ।’ उनले आफूले मुख्यमन्त्री भएदेखिनै समाज रुपान्तरणलाई बढि प्राथमिकता दिएर काम गरेको सुनाए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री