तरुण दलका महासचिब शाहीलाई सदस्य समेत नरहने गरी हटाइयो

काठमाडौं । पदीय मर्यादा विपरित गई अनुशासनही कार्यहरु गरेको भन्दै नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले महासचिव भुपेन्द्र जङ्ग शाहीलाई कारबाही गरेका छन् ।

पदीय मर्यादा, जिम्मेबारी र नेपाली कांग्रेस र तरुण दलको आदर्श एवम् सिद्धान्त विपरीत गई अनुशासनहीन कार्यहरु गरेको हुँदा विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार नेपाल तरुण दलको महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको पत्रमा उल्लेख गरिएको छ ।

महासचिव शाही मनोमानी ढंगले समानान्तर रुपमा चल्न थालेको भन्दै अध्यक्ष बस्नेतले बुधबार दिउँसो विज्ञप्ति जारी गरेर पदीय जिम्मेवारीका बारेमा सचेत गराएका थिए ।

सभापति बस्नेतले कारबाही गरेका सिन्धुपाल्चोक उपाध्यक्षलाई महासचिव शाहीले एकलौटी ढंगले पत्र पठाएर फुकुवा गरेपछि विवाद बढेको हो । महासचिब शाहीले मंगलबार तरूण दल सिन्धुपाल्चोक उपाध्यक्ष सगुन श्रेष्ठलाई कारबाही फुकुवा गरेको पत्र पठाएका थिए ।

श्रेष्ठलाई संगठनको हितविपरीत काम गरेको भन्दै सभापति बस्नेतले कारबाही गरेका थिए । यही विषयलाई लिएर अध्यक्ष र महासचिबबीच विवाद बढेको हो ।

यता, शनिबार साँझ शाहीले महासचिवको हैसियतमा वक्तव्य जारी गर्दै अध्यक्ष बस्नेतलाई नै तरुण दलको साधारण सदस्य समेत नरहने गरी एक वर्षका लागि निस्कासन गरेको उल्लेख गरेका छन् ।

उनले बस्नेतमाथि अख्तियार घराउ कार्यक्रम रोकेको, केन्द्रीय समिति विस्तार नगरेको, बाढी पीडितको नाममा संकलन गरेको राहतमा घोटाला गरेको लगायतका आरोप लगाएका छन् ।

टिप्पणी थप्नुहोस्