गुण्डागर्दी नरोकिए काँग्रेसले शसक्त प्रतिकार गर्ने : सभापति देउवा

-सिराज खान

नेपालगन्ज । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बाँकेमा कांग्रेस नेता कार्यकर्ताहरुमाथि आक्रमण गर्नेहरुलाई कारबाही नगरेसम्म कांग्रेसको आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेस बाँकेले शनिवार नेपालगन्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारले घटनाका दोषीहरुलाई कानुनी दायरामा नल्याए संसदमा हंगामा मच्चाउने समेत चेतावनी दिए ।

‘जबसम्म गुण्डा नाइकेहरुमाथि कारबाही हुँदैन, तबसम्म हामीले आन्दोलन गरिरहन्छौं, लोकतन्त्रमा बोल्न, भेला हुन पाउने अधिकार कुण्ठित गर्न खोज्ने सरकार विरुद्ध हामी कडा रुपमा प्रस्तुत हुन्छौं,’ देउवाले भने ।

उनले शान्तिपूर्ण तरिकाले आफ्नो कार्यक्रम गरिरहेका बेला पार्टी सभापति सहित अन्य नेता कार्यकर्तामाथि आक्रमण हुनु निन्दनीय भएको बताए । जनताको जीउधनको सुरक्षा गर्न प्रहरी प्रशासन असफल भएको टिप्पणी गर्दै उनले जनताको करले पालिएको प्रहरी कुनै अमुक पार्टीको निर्देशनमा हिंड्नु घोर आपत्तिजनक भएको बताए ।

भ्रष्टाचार विरुद्ध बोल्दा कांग्रेस नेता कार्यकर्ता कुटिनु लज्जाको विषय भएको देउवाको टिप्पणी छ । सोही अवसरमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य किशोरसिंह राठोरले कांग्रेसले यो घटनाको डटेर सामना गर्ने बताए ।

उनले सरकारले यो घटनालाई गम्भीरतापूर्वक नलिए देशैभर आन्दोलन गर्ने चेतावनी पनि दिए । सरकारले लोकतान्त्रिक मूल्य मान्यतामाथि हमला गरिरहेको राठोरको भनाई थियो ।

बाँके पार्टी सभापति किरण कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा जनजागरण कार्यक्रमका केन्द्रिय प्रतिनिधि विद्या प्रसाद खनाल, पूर्व जिल्ला पार्टी सभापति युवराज शर्मा, पूर्व सांसद् राजु खनाल, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ, जिल्ला कार्यसमिति सदस्य माया पुन लगायतले खजुराको सीतापुरमा पार्टी सभापतिको हात भाँचिने गरी भएको घटनाका दोषीलाई कडा कारबाही नगरे कांग्रेसले आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दिएका थिए ।

शनिवार दिउँसो कांग्रेसले विपी चोकमा मैनबत्ती बालेर सरकार, सत्तारुढ दल नेकपा र प्रहरी प्रशासन विरुद्ध सांकेतिक विरोध गरेको छ ।

दिउँसै अन्धकार पारेर जनतामा भ्रम छर्ने तथा राजनीतिक घटनालाई व्यक्तिगत भन्दै आफ्नो अराजक क्रियाकलापको बचाउ गर्नेहरुलाई दिउँसै मैनबत्ती बालेर उज्यालो देखाएको कांग्रेसले जनाएको छ ।

यसअघि शनिवारनै कोहलपुरमा आयोजित कार्यक्रममा बोल्दै काँग्रेस सभापति देउवाले नेकपाका कार्यकर्ताको गुण्डागर्दी बढ्दै गएकोले सो तत्काल नरोकिए काँग्रेसले शसक्त प्रतिकार गर्ने चेतावनी दिएका थिए ।

उनले कुनैपनि राजनीतिक दलको शान्तिपूर्ण कार्यक्रममा आक्रमण गर्नु ठुलो गुण्डागर्दी भएको जनाउँदै सत्ताको आडमा त्यस्तो कार्य गरेर प्रजातन्त्रलाई नै चुनौति दिने काम गरिएको बताए ।

‘प्रहरी प्रशासन कुनै पनि राजनीतिक दल निकटको नभई आफ्नो उत्तरदायित्व वहन गर्नतर्फ लाग्नुपर्छ, जनताको करबाट पारिश्रमिक बुझ्ने प्रहरी अधिकृत तथा सिडियोले संविधान र ऐन बमोजिम कार्यसम्पादन गर्नुपर्छ’ काँग्रेस सभापती देउवाले भने ‘बाँके घटनामा संलग्नहरुलाई कारवाही नभएसम्म काँग्रेसले कडा रुपमा प्रतिवाद गर्ने छ ।’

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री