ओली सरकारको अराजक हुलिया

-किशोर नेपाल

हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका जनता यस्तो शासन ब्यबस्था अन्तर्गत शासित छौं जुन न सम्पूर्णमा संघीय छ, न लोकतान्त्रिक र न गणतान्त्रिक । संसद छ र त्यो नाममात्रको छ । प्रधानमन्त्री संसदसंग प्रत्यक्ष कुराकानी नै गर्दैनन । सरकार आफुलाई संसदको दुइतिहाइ मतको समर्थन प्राप्त भएकोले आफुले जे पनि गर्नसक्ने भ्रममा छ ।

सरकारको कामपनि बिशेष नै छ । हेर्दा यस्तो देखिन्छ कि पूरै सरकार हेराफेरीमा लिप्त रहेकोछ । सरकार ती ठेकदारहरुलाई सुमसुम्याइ रहेको देखिन्छ जो ठेक्काका शर्त अनुसार काम पूरा गर्दैनन । भत्केका पुलहरु, थोत्रिएका बाटाघाटा, भग्नावशेषमा परिणत भएका स्कूल र अस्पताल केहीपनि त बनेका छैनन । जस्तो थियो देश त्यस्तै छ । गणतन्त्र स्थापनाको पनि दशबर्ष बितिसक्यो । यो दशबर्षमा पनि हाम्रो सरकारले जनताका आबश्यकता बुझन सकेन । उसका प्राथमिकताको किटान गर्न सकेन । नारा रंगीन लगाए पनि ब्यबहार कुटील गर्‍यो । सरकार आर्थिक, सामाजिक, राजनीतिक र नैतिक डिफल्टरको शिकार भयो । मन्त्रीहरुको पृष्ठभूमि आपराधिक देखिन थाल्यो । सबैभन्दा घीनलाग्दो उदाहरण गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाइ कारागारमा रहेका अपराधीसंग मिलेर फिरौती उठाउने धन्दामा लागेकोछ । उसलाई कारागारमा चपटे बस्ने पुलिस र उसका हाकिमले कारागारमा बसेर अपराध गर्ने छूट दिएका छन । के यसमा गृहमन्त्री बादलको कुनै दोष छैन ? के उनले मन्त्रीपदको न्यूनतम नैतिक मापदण्ड र आचरणको पालना गर्नु पर्दैन ?

यो कस्तो तमाशा हो ? हेर्ने हो भने प्रधानमन्त्री केपी ओलीका कुनैपनि मन्त्रीले आफनो पदीय दायित्व पूरा गरेका छैनन । श्रम मन्त्रीले बैदेशिक रोजगारीमा मलेशिया जान चाहने देशका बेरोजगारहरुको भबिष्यसंग जस्तो खेलवाड गरे त्यो आफैंमा लाजमर्दो थियो । प्रमओलीको सरकारलाई दुइतिहाई मतको समर्थनको घमण्ड दिलाउँदै आफनो सुबिधा सुरक्षित राख्न मन्त्री भएका उपेन्द्र यादव आफ्नो पुत्र समेत निरन्तरको बिदेश यात्रा र कर्मचारीहरुको सरुवा बढुवा राजनीतिमा नराम्रोसंग तानिएका छन । यही ताल हो भने राष्ट्रिय नेतृत्वमा स्थापित हुने महत्वाकांक्षाका साथ बाबुराम भट्टराईको साथ लागेका उपेन्द्रजी न कोशीवारीका रहनेछन न कोशीपारीका । उनको दवंग छवि तब दवंग हुन्छ जब त्यसले सामान्य जनताको कल्याण गर्दछ । जनताको कल्याणमा दुइ पैसापनि काम नलाग्ने नेताजति दवंग हुन्छ त्यति नै खतरनाक पनि कहलिन्छ । यी त केही उदाहरण हुन । प्रम ओलीको मन्त्रीमण्डलका सदस्यहरुको क्यारिकेचर त हास्य कलाकार जितु नेपालले मात्रै गर्नसक्ने कुरा हो । यसमा हामीजस्ता सामान्य पत्रकार आफै हाँसोले लोटपोट हुन्छौं । जो पुराना थिए ती त भइहाले ।नयाँ र राम्रा भनिएकाले पनि आफनो जात जनाइ सके । जस्तो पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उर्दी लगाए, अबदेखि पशुपतिनाथको आरती भन्दा पहिले राष्ट्रगान गाउनु । कसो मन्त्रीजीले गएको साताको अन्त्यदेखि शुरु भएको सोहश्राध्दको अवसरमा पनि श्राध्दभन्दा पहिले राष्ट्रिय गीत अनिवार्य रुपले गाउनै पर्ने फर्मान सुनाएनन ।

प्रम ओलीको मन्त्री–मण्डल यस्तै ‘नमूना’मन्त्रीले भरिएका छन । भ्रष्टाचार तिव्रगतिले बढेको छ । संघीय सरकारमा मात्र होइन, प्रदेश र स्थानीय सरकारमा पनि । स्थानीय सरकारको आर्थिक गतिबिधिको परिचालन केन्द्रीय तहका नेताबाट हुने भएकोले यसमा स्थानीय तहका निर्वाचित प्रतिनिधिले चाहिने भन्दा बढी दोष पाएका छन ।

प्रादेशिक तहमा मुख्यमन्त्रीहरुको भलादमीपनको फाइदा उठाएका छन्, कुनै गम्भीर संबैधानिक र कानूनी दायित्व बोक्नुनपर्ने कर्मचारीहरुले । देश भाडमा जाओस, जति लूटन सक्छौ लूट । यो परिस्थितिमा भ्रष्टाचारको तिब्र भेललाई चिर्दै देश कसरी किनारामा आउनेछ ? कसैले जवाफ दिन सक्दैन । जनता टुलुटुलु हेरेर बस्न बाध्य छ । प्रम ओलीको सरकारले बिकास र समृध्दिको नारा दिएको छ । तर, यो नाराको कुनै तुक छैन । कागजको फूलले बनेको यो गुलदस्ताबाट वास्ना आउँदैन । प्रधानमन्त्रीले पानी जहाज चलाए, घरघरको चुलोमा ग्यास पुर्‍याए, बिजुली बस चलाए । के गरेनन ? जे गरे त्यो गोरखापत्रमा मात्रै गरे । टाठाबाठा जनताले त त्यसको प्रतिफलमा ठट्टा रमाइलो गर्न पाए । तर, ठट्टा रमाइलो समेत नबुझने जनताले के पाए ? कसैलाई थाह छैन । सरकार आफुलाई समाजवादी भन्छ । समाजवादी सरकारका प्रधानमन्त्री बिरामी हुन्छन । उपचारका लागि बिदेश जान्छन । सरकार भन्छ, प्रधानमन्त्रीको उपचारमा राज्यकोषबाट एकपैसा खर्च भएको छैन । त्यसो भए, उपचार खर्च कसले बेहोर्‍यो त ? न प्रधानमन्त्री बोल्दछन, न उनको पार्टी बोल्दछ ।

उनको पार्टीमा अहिले दुइजनाले चलाएका छन अध्यक्ष पद । अर्का अध्यक्ष पुष्पकमल दाहाल त झन यति निर्घिणी देखिएका छन कि देशमा दुर्नाम भएको ठेकदारको घर ‘भाडामा लिएर’ बसेका छन । उनले ठेकदारलाई ‘मौखिक’बुझाउने भाडाको रकमजति किटान गरेपनि हुन्छ । दाहालका सिपहसालारहरु ठेकदारको घर भाडामा लिएर बसेकोमा आफना अध्यक्षको तारीफ गर्छन । हो त, गरेपछि, जे गर्न हो त्यो हाक्काहाक्की गर्नु पर्दछ । सरकार कसले चलाएको छ ? प्रश्न सुनेर सबै गललल्ल हाँस्द छन । सबैलाई थाह छ, सरकार देशमा निकै शक्तिशाली मानिने सानो माफिया समूहले चलाएको छ । अशोज तीन गते नेपालीले मनाउँदैछन संविधान दिवस । मधेशमा अँध्यारो आताशबाजी उडाएर मनाइन्छ संविधान दिवस भने मधेश बाहिर उज्यालो आताशबाजी उडाएर । भनिन्छ, संविधानले समावेशी समाजका सिध्दान्त आत्मसात गरेकोछ । तर, ब्यबहारमा अहिले पनि समाज समावेशी छैन । जुन संविधानको निर्माणमा पहिलो दिनदेखि नै मधेशको निर्णायक भूमिका रह्यो त्यही संविधानका नाममा अँध्यारो आतशबाजी उडाउन किन बाध्य भयो मधेश ?

मधेश आयोगको प्रतिवेदनमाथि प्रधानमन्त्री बसेका छन । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी कहिले एकतामा छन र कहिले बिग्रहमा । प्रम ओलीले नयाँ खेलाडी तयार राखेका छन डा.सीके राउत । यी डाक्टरले कतिको निंद हराम गर्ने हुन ? कोही भन्न सक्दैन । लोकतन्त्रवादीहरु एकै ठाउँमा बस्नसक्ने अवस्था सिर्जना भएको छैन । नेपाली कांग्रेसको अनुहार दुब्लो र ख्याउटो देखिएको छ । यस्तोमा, कसरी सल्टिन्छ मधेशको समस्यारु कसरी सल्टिन्छ कैलालीदेखि कन्काइ सम्मका थारुका समस्यारु कसैलाई थाह छैन । यति हो कि देशमा एउटा सरकार छ त्यसलाई शासनगर्न पनि आउँदैन । त्यसले ढंग पुर्‍याएर कुशासन गर्न पनि जानेको छैन ।

टिप्पणी थप्नुहोस्