कुर्मीको हत्या विरुद्ध आन्दोलनको चेतावनी

-राधेश्याम विश्वकर्मा

भैरहवा । रुपन्देहीमा रोहिणी गाउँपालिका–३ बैकुण्ठपूरमा दिनदहाडै गोली प्रहार गरी एकजनाको हत्या भएपछि शान्ती सुरक्षामा प्रश्नचिन्ह खडा भएको छ ।

आइतबार बजार क्षेत्रमै अज्ञात समूहले गोली प्रहार गरी ३५ वर्षीय महेन्द्र कुर्मीको हत्या गरेपछि शान्ति सुरक्षा कमजोर भएकोप्रति स्थानीयले आपत्ति प्रकट गरेका छन् । दिउँसो करिब २ बजे गोली प्रहार गरी हत्याराहरु फरार छन् ।

भैरहवाको हिमालय बैंकबाट रकम निकालेर घर फर्किदै गरेका ओमसतिया–५ पट्खौलीका कुर्मी हत्या भएको हो । श्रीमती बिजयलक्ष्मी र काखे बच्चा सहित घर फर्किंदै गरेका उनलाई नम्बर प्लेट नै मेटिएको मोटरसाईकलमा सवारले गोली प्रहार गरेका हुन ।

रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र बहादुर शाहीका अनुसार मोटरसाईकलमा आएका हत्याराहरु गोली प्रहार गरी भागेका हुन् । जिल्लाको बिभिन्न स्थानमा तथा भारतीय सीमामा पनि चेकजाँच गरी उनीहरुको खोजी कार्य तिव्र पारिएको शाहीले बताए ।

लु९प ८२३५ नम्बरको मोटरसाईकलबाट फर्किदै गर्दा दुई जनाले श्रीमानको कमिज समाएर तानेर लडाएको संगै रहेकी मृतककी श्रीमती बिजयलक्ष्मी कुर्मीले बताइन ।

उनले मुखमा कपडा बेरेर आएका दुई जनाले गोली प्रहार गरेको बताइन । यसअघि बालापुर बस्ने एक जनाले श्रीमानलाई मार्ने धम्की समेत दिएको कारण उनले हत्याको आरोप निजले नै गरेको दावी गरिन ।

यसअघि पनि सोही परिवारले कान्छो छोरा गुमाएको थियो । गत बर्ष मृतक महेन्द्रको भाई केआई भन्ने धर्मेन्द्र कुर्मीको शंकास्पद रुपमा मृत्यु भएको थियो । आफन्तका भनाई अनुसार उनलाई चिर्पट प्रहार गरी हत्या गरिएको भए पनि प्रहरीले दुर्घटना भन्दै अनुसन्धान नै अगाडी बढाएको थिएन ।

अहिले महेन्द्रको हत्या हुँदा पनि प्रहरीले गम्भीरतापूर्वक नलिएको भन्दै स्थानीयमा रोष देखिएको थियो । हत्या भएको जानकारी प्रहरीलाई गराउँदा समेत ढिलागरी मात्र प्रहरी पुगेको स्थानीयको गुनासो थियो ।

हत्यासंगै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । दिन दहाडै भएको हत्याले रुपन्देही प्रहरीको सुरक्षा स्थितिको पोल खोलेको स्थानीय अगुवाहरुको भनाई छ । आक्रोशित स्थानीय तथा मृतकका आफन्तले शव उठाउन नदिंदा केहीबेर स्थिति तनावग्रस्त समेत बनेको थियो ।

स्थानीय राजनीतिक दलले अहिलेको सुरक्षा ब्यवस्था माथी प्रश्न उठाउँदै तत्काल हत्यारा पक्राउ गर्न माग गरेका छन् ।

घटना स्थलमै नेपाली कांग्रेस, राजपा, समाजवादी पार्टी लगायतले प्रेस विज्ञप्ती जारी गर्दै २४ घण्टा भित्र हत्यारा नसमातिए आन्दोलनको चेतावनी दिएका छन् ।

टिप्पणी थप्नुहोस्