सरकार नेतृत्व ओलीले र पार्टीको एकल नेतृत्व दाहालले गर्नेछन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य मणि थापाले सरकारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले र पार्टीको नेतृत्व अब अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नेगरि पार्टीभित्र छलफल अघि बढेको स्पष्ट पारेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अध्यक्षद्धय ओली र प्रचण्डबीच कार्यविभाजन हुनेपनि बताए ।

उनले भने,‘एक व्यक्ति, एक पदको प्रणालीमा जानुपर्छ भन्ने बहस सुरु भएको छ । यसो हुँदा ओलीले सरकारको नेतृत्व गर्नुहुन्छ र पार्टीको नेतृत्व अब प्रचण्ड गर्नुपर्छ भन्ने चरणमा नेकपाभित्र छलफल सुरु हुन्छ ।’

साक्षात्कारमा बोल्दै उनले पार्टीभित्र अब कार्यविभाजनको अवधारणाबारे बहस सुरु भएको सुनाए । उनले भने,‘पार्टी एकताको समझदारीमा नै पार्टीको नेतृत्व एक अध्यक्षले र सरकारको नेतृत्व अर्को अध्यक्षले गर्ने भएकोले त्यहीअनुसार अघि बढ्छौं । हामी पार्टीभित्र शक्ति सन्तुलन गरेर अघि बढ्छौं ।’

थापाले नेकपाको नेतृत्वको दुई तिहाई बहुमतको सरकारले सही प्रस्तुती गर्न नसकेको हो कि भन्ने जिज्ञासा जनतामा पैदा भएको सुनाए । उनले नेकपाभित्र पनि केही कमजोरीहरु रहेको बताए ।

त्यस्तै, उनले नेत्रविक्रम चन्द विप्लव समूहलाई पनि मूलधारमा ल्याउने प्रयत्न भैरहेको जानकारी दिए । उनले भने,‘अहिलेपनि अराजकताका स्वर सुनिएका छन् । यी सबैलाई संविधानको भावानाअनुसार समझदारीमा ल्याउन आवश्यक छ ।’

टिप्पणी थप्नुहोस्