सिंहदरबार परिसरबाट नौं जना पत्रकार पक्राउ

काठमाडौं । सिंहदरवार परिसर भित्रैबाट सोमबार दिउँसो नौं जना पत्रकार पक्राउ परेका छन् ।

रेडियो नेपालको कार्यलय परिसरबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको हो । रेडियो नेपालको कार्यलयमा तलाबन्दी गर्ने निर्धारित कार्यक्रम अनुसार कार्यलय अघि पुगेका पत्रकारहरुलाई पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, पत्रकार महासंघका सचिव राम प्रसाद दाहाल, पत्रकार महासंघका केन्द्रीय सदस्यहरु जन्मदीव जैशी, मिन बम, यम विरही छन् ।

त्यस्तै नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दिलिप पौडेल, पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र वलायर, नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश वम र नेपाल प्रेस युनियन डोटीका उपाध्यक्ष मिन जोशी पक्राउ परेका छन् । प्रकाउ गरिएका पत्रकारहरुलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ ।

नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनले रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलबाट निस्कासित गरेका तीन जना पत्रकारको पुनर्बहालीसँगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग राख्दै सिंहदरबारभित्र रहेको रेडियो नेपालमै प्रवेश गरेर धर्ना तथा प्रदर्शन गर्दै आएको छ ।

रेडियो नेपालले केही दिनअघि महासंघ डोटीका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई निस्कासन गरेको थियो । रावल १० वर्षदेखि तथा बम र कुँवर विगत तीन वर्षदेखि रेडियो नेपालमा कार्यरत थिए ।

पक्राउ परेका पत्रकारहरुलाई तत्काल रिहाइको माग गर्दै विभिन्न संगठनहरुले विज्ञप्ती जारी गरेका छन् । प्रेस युनियन काठमाडौं शाखाका सचिब महेश गौतमले पत्रकारहरुको शकुसल रिहाइको माग गरेका छन् । त्यस्तै प्रेस युनियन डोटी शाखाका सचिब पवन महराले पनि पक्राउको भत्र्सना गर्दै तत्काल रिहाइको माग गरेका छन् । युनियन पर्वतका अध्यक्ष छविलाल तिवारीले पनि विज्ञप्तीमार्फ पक्राउको विरोध गरेका छन् ।

युनियनकै डडेल्धुरा सभापति धनबहादुर भण्डारी, स्याग्जा सभापति श्रीकृष्ण सिग्देल, बैतडी सचिब विनोदसिंह विष्ट, कैलाली सभापति श्रवण देउवालगायत विभिन्न जिल्लाका संगठनका सभापति तथा सचिबले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै पक्राउको विरोध गर्दै तत्काल रिहाइको माग गरेका छन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री