काँग्रेसको आन्दोलन जारी : नेपालगन्जमा प्रदर्शन र कोणसभा

-सिराज खान

नेपालगन्ज । नेपाली काँग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियान अन्तर्गत बाँकेको खजुराको सितापुरमा आयोजना गरिएको कार्यक्रममा सयौंले सहभागिता जनाएका छन् ।

बाँके काँग्रेसका सभापतिमाथि आक्रमण गर्नेलाई कारवाहीको माग गर्दै शुरु गरिएको आन्दोलन सोमवार पनि जारी रह्यो ।

आफ्नो जिल्ला सभापति माथि भएको आक्रमण र कार्यक्रम विथोल्न खोज्नेहरुमाथि कडा कारवाहीको माग गर्दै भदौ २६ गतेदेखि काँग्रेस बाँकेले शुरु गरेको आन्दोलन निरन्तर जारी राखेको छ ।

भदौ २६ गते खजुराको सितापुरमा भैरहेको कार्यक्रममा हातपात गरिएको थियो । नेकपाका कार्यकर्ताले कार्यक्रम विथोल्ने नियतका साथ सभापति किरण कोइरालामाथि आक्रमण गरेको जनाउँदै काँग्रेसले आक्रमण गर्ने र गर्न लगाउनेहरु विरुद्ध कारवाहीको माग गर्दै आएको छ ।

तर उता, नेकपा बाँकेले भने सो घट्ना काँग्रेसलाई कार्यक्रम गर्न नदिने नियतका साथ नभएको जनाउँदै व्यक्तिगत विवादलाई राजनीतिक मुद्दा बनाइएको आरोप लगाएको छ ।

नेकपाका स्थानीय नेताहरुले त सभापति कोइरालाको हातमा सामान्य चोट लागेको जनाउँदै भाच्चिएको भनि गलत प्रचार गरिएको बताउँदै आएका छन् । काँग्रेस र सो दलका भाातृ संगठनहरुले गत पाँच दिनदेखि निरन्तर आन्दोलन गर्दै आएका छन् ।

सो आन्दोलनलाई बल पुरयाउन काँग्रेस सभापति शेर बहादुर देउवाले समेत नेपालगन्जमा आएर विरोध कार्यक्रममा सहभागि भई कारवाही नभएसम्म आन्दोलन जारी राख्न निर्देशन दिएर गएका छन् ।

घट्नाको विरोध गर्दै काँग्रेसले राजधानीको माइतीघर मण्डलामा विरोध कार्यक्रम आयोजना गर्नुका साथै संसद समेत अवरुद्ध पारिसकेको छ ।

यसैवीच बाँके प्रहरीले भने आक्रमणमा संलग्न भनिएका मध्ये ३ जनालाई पक्राउ गरिसकेको छ भने आधा दर्जनजति विरुद्ध मुद्दा दर्ता गरिसकेको छ ।

सोही क्रममा आन्दोलनलाई जारी राख्दै सोमवार नेपाल विद्यार्थी संघ बाँकेको आयोजनामा पार्टी कार्यालयबाट शुरु भएको विरोध र दबाब र्‍याली जिल्ला प्रशासन कार्यालय गेट अगाडी पुगेर कोणसभामा परिणत भएको थियो ।

दोषीलाई कारवाही गर सरकार विरुद्ध चर्का नाराबाजी गर्दै प्रशासन पुगेका कांग्रेस नेता कार्यकर्ताहरुले बाँके प्रशासन र बाँके प्रहरी विरुद्ध पनि आक्रोश पोखेका थिए ।

कोणसभामा बोल्ने अधिकांश बक्ताहरुले ज्यान मार्ने उद्योगको मुद्दा प्रहरीले आफूहरुको दबाबपछि मात्रै दर्ता गर्न मानेको भन्दै मुद्दालाई कमजोर बनाउने षड्यन्त्र भैरहेकोले सो का विरुद्ध आफ्नो आन्दोलन निरन्तर जारी रहने बताएका थिए ।

आफ्नो पार्टीको कार्यक्रममा जबर्जस्ती प्रवेश गरेका नेकपा समर्थित कार्यकर्ताहरुले आक्रमण गरेर पार्टी सभापति घाइते बनाउँदा समेत घटनालाई व्यक्तिगत भन्नु सर्वसत्ताबाद भएको उनीहरुको टिप्पणी थियो ।

ज्यान मुद्दा दर्ता गरिएका सबैलाई पक्राउ गरी कडा कारबाही नहुँदासम्म कांग्रेसले खबरदारी गरिरहने बक्ताहरुले बताएका थिए ।

दुई तिहाईको सरकारले महंगी, भ्रष्टाचार र गुण्डागर्दीलाई प्रश्रय दिँदै गएको आरोप लगाउँदै उनीहरुले जनताको जीउधनको सुरक्षा गर्न सरकार असफल भएको टिप्पणी गरेका थिए ।

कोणसभालाई केन्द्रिय प्रतिनिधिद्वय भरत बहादुर न्यौपाने र मोहनसिंह राठोर, बाँके सभापति कोइराला, सचिव तप्त पौडेल, प्रदेश सभाका सभासद सुरेन्द्र हमाल, नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले, राष्ट्रिय जागरण कार्यक्रमका केन्द्रिय प्रतिनिधि विद्याप्रसाद खनाल, क्षेत्रीय सभापतिहरु नक्की खाँ र रमेश कुमार गुप्ता, तरुण दल बाँकेका सचिव विनोद रिजाल, महिला संघकी जिल्ला सभापति नारायणी रुपाखेती, नेविसंघ जिल्ला अध्यक्ष पूर्ण प्रसाद आचार्य लगायतले सम्बोधन गरेका थिए ।

टिप्पणी थप्नुहोस्