मोबाईल चलाउने शिक्षकलाई गाउँपालिकाको पत्र

-राधेश्याम विश्वकर्मा

भैरहवा । विद्यार्थीलाई अध्यापन गर्न छाडी शिक्षकले कक्षाकोठामै मोबाईल खेलाउन थालेपछि रुपन्देहीको एक पालिकाले उनीहरुले पाउने सेवा सुविधा रोक्ने चेतावनी दिएको छ ।

जिल्लाका अधिकांश विद्यालयमा शिक्षकहरुले विद्यार्थीभन्दा मोबाईललाई बढी प्राथमिकतामा राखेपछि अहिले विद्यालयमा मोबाईलको प्रयोगबारे चर्चा शुरु भएको हो ।

कक्षा कोठामै मोबाईल रिसिभ गर्ने, मोबाईलमै लामो समयसम्म गफ गर्ने तथा बिद्यार्थीलाई ध्यान दिनुको सट्टा बिभिन्न सामाजिक सञ्जालमा भुलिने शिक्षकको संख्या बढ्दै गएको छ ।

कतिसम्म भने फेसबुक चलाउने शिक्षकले त फेसबुकको लोभमा विद्यार्थीको गृहकार्य नै परीक्षण गर्न छाडेका छन् । परिक्षण गरे पनि सरसर्ती रातो चिन्ह मात्र लगाएर छाडने गरेको अभिभावकहरुको गुनासो आउने गरेको छ ।

शिक्षकहरुको लापारवाही बढ्दै गएपछि सियारी गाउँपालिकाले यस्ता शिक्षकलाई मोबाईलको दुरुपयोग नगर्न चेतावनी सहितको पत्र काटेको छ ।

गाउँपालिका अध्यक्ष अयोध्या थारुले कक्षा कोठामै पठन पाठनकै समयमा शिक्षकले पढाउन नै छाडी मोबाईलमा कल रिसिभ गर्न थालेको खाली समयमा बिद्यार्थीको गृहकार्य परिक्षण गर्न छोडेर फेसबुक खेलाएर बस्ने शिक्षकहरु प्रति कडा रवैया अपनाएको बताए ।

चौधरीले बालबालिकाको पठन पाठन सम्बन्धि जनप्रतिनिधिबाट गुनासो आएको कारण यस्तो निर्णय गरिएको बताए ।

उनले कक्षा कोठामा मोबाइलको दुरुपयोग गर्ने, बिद्यार्थीहरुको गृहकार्य परिक्षण नगर्ने सही परीक्षण नगरी रातो चिन्ह मात्र लगाउने तथा खाली समयमा शैक्षिक गतिविधि गर्न छाडी फेसबुक चलाउने गरेको गुनासोहरु आइरहेको बताए ।

शिक्षकहरु नै मोबाईलको दुरुपयोगमा गरेपछि शिक्षाको गुणस्तर खस्किएपछि कडाई गर्ने सोच बनाएको गाउँपालिका अध्यक्ष चौधरीको भनाई छ ।

यद्यपी, सियारीले ‘हात हातमा मोबाईल, हात हातमा पाठ्यक्रम’ भन्ने नारा ल्याए पनि मोबाईलका सदुपयोग हुनुको सट्टा दुरुपयोग गर्न थालिए पनि यसको नियन्त्रण थालिएको उनले बताए ।

यसरी दुरुपयोग गर्ने कार्यमा संलग्न शिक्षक मात्र नभई सम्बन्धित विद्यालयको प्रधानअध्यापक समेत जिम्मेवार भएकोले प्रअलाई समेत कारवाही गरिने अध्यक्ष चौधरीको भनाइ छ ।

कारवाही स्वरुप प्रअ र शिक्षकलाई गाउँपालिकाबाट दिदै आएको सेवा सुविधा रोक्का गरिने चौधरीको भनाई छ ।

सियारी गाउँपालिकामा २५ वटा सामुदायिक, १५ वटा संस्थागत र ३ वटा धार्मिक गरि ४३ वटा बिद्यालय सञ्चालनमा रहेको गाउँपालिकाका शिक्षा अधिकृत सुधिर पौडेलले जानकारी दिए । उनले सामुदायिक बिद्यालयमा स्थायी, राहत, पिसिएफ एवम अन्य गरि १ सय ७६ जना शिक्षक कार्यरत रहेको बताए ।

टिप्पणी थप्नुहोस्