शिशु मृत्युदर घटाउन ‘नियोबिट’ र ‘मोयो’को प्रयोग

-सिराज खान

नेपालगन्ज । बढ्दै गएको नवजात शिशुको मृत्युदरलाई घटाउन नेपालमै पहिलो पटक भित्र्याइएको ‘नियोबिट’ र ‘मोयो’ नामक अत्याधुनिक उपकरणको प्रयोग यहाँस्थित भेरी अस्पतालमा गरिने भएको छ ।

नवजात शिशुको मुटुको धडकन जाँचका लागि नियोविट र पेटभित्रको भ्रुणको मुटुको धड्कन जाँचका लागि मोयो नामक उपकरणको प्रयोग गरिने भेरी अस्पतालले जनाएको छ ।

क्यानाडाबाट ल्याइएका ती उपकरणहरु गोल्डेन कम्युनिटी नामक संस्थाले अस्पताललाई प्रदान गरेर सुसार कार्यक्रम समेत संचालन गरेकोले शिशु मृत्युदर घटाउन ठूलो सफलता प्राप्त हुने विश्वास अस्पतालका प्रमुख डा. रुपानन्द अधिकारीले व्यक्त गरे ।

गर्भमा रहेको बच्चा तथा शिशुको स्वास्थ्य लागि नेपालमै पहिलो पटक भित्र्याईएको ‘नियोबिट’ र ‘मोयो’ नामक अत्याधुनिक उपकरणको सहयोग लिएर मृत्युदर घटाइने उनले बताए । ‘उपकरणको प्रयोग पछि शिशुको स्वास्थ्य परीक्षण सहज हुनेछ, यसले मृत्युदरलाई घटाउने विश्वास छ’,–उनले भने ।

यस क्षेत्रमै सबैभन्दा बढी बच्चा जन्मिने भेरी अस्पतालमा प्रति हजार शिशुमा २४ जना अस्पतालबाट बिदा नहुँदै मर्ने गरेको तथ्यांक रहेकोले ‘नियोबिट’ र ‘मोयो’ नामक अत्याधुनिक उपकरणको सहयोगबाट सो संख्या घटाउने कार्य गरिने अस्पतालले जनाएको छ ।

सुुसार कार्यक्रम अन्तर्गत नवजात शिशुको मुटुको धडकन जाँचका लागि नियोविट, भ्रुणको मुटुको धड्कन जाँचका लागि मोयो तथा जन्मदा सास फेर्न नसकेको नवजात शिशुलाई कृत्रिम श्वासप्रश्वास गराउन व्याग मास्क जस्ता आधुनिक उपकरणहरु आवश्यक मात्रामा अस्पताललाई प्रदान गरिएको गोल्डेन कम्युनिटीकी प्रतिनिधि रेजिना गुरुंगले बताइन् ।

एनले सोका लागि अस्पतालको प्रसुति वार्डमा कार्यरत नर्स तथा चिकित्सकलाई समेत उक्त उपकरणको प्रयोगबारे प्रशिक्षण दिइएको जनाउँदै देशका ८ वटा ठुला सरकारी अस्पतालहरुमा सो कार्यक्रम संचालन गरिएको बताइन् ।

कोशी अस्पताल, जनकपुर अस्पताल, भरतपुर अस्पताल, लुम्विनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, प्रदेश अस्पताल कर्णाली, सेती अस्पताल र डडेलधुरा अस्पतालमा ‘सुसार’ कार्यक्रम लागु गरिएको छ ।

भेरी अस्पतालकी चिकित्सक डा. कल्पना थापाले गर्भवती अवस्थादेखि शिशु नर्हुंकदासम्म उनीहरुको खानपान, सरसफाई र स्वास्थ्यमा विशेष ध्यान पुर्याउनु पर्नेमा जोड दिइन् । कम उमेरका आमाहरुले जन्माएको शिशुहरुको मृत्युदर वढ्दै गएको बताउँदै उनले कम समयको कम तौलको बच्चा हुने तथा कम उमेरका आमाहरुले बच्चा जन्माउँदा रगतहरु बढी बग्दा शिशु र आमाको ज्यान जोखिममा हुने गरेको जनाइन् ।

जनचेतनाको कमी, कम उमेरमा विवाह हुने तथा प्रसव अवस्थामा गुणस्तरिय स्याहार नपाउने जस्ता प्रमुख कारणले शिशुको मृत्यु हुने गरेको पाईएको भेरी अस्पतालका नर्सिङ प्रमुख ईश्वरी केसीले बताइन् ।

नेपालमा हरेक बर्ष ११ हजार शिशु मृत अवस्थामा जन्मने तथा करिव १३ हजार नवजात शिशु जन्मेको एक महिना नपुग्दै मर्ने गरेको तथ्याङक छ । मृत्यु हुने मध्ये ५० प्रतिशतको प्रसव अवधिमा मृत्यु हुने गरेको उक्त तथ्याङकले देखाएको छ ।

टिप्पणी थप्नुहोस्