शक्तिकेन्द्रमा बामदेव गौतम

-नरेन्द्र विमल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)भित्र परिवर्तन भएको शक्ति सन्तुलनले सबैभन्दा ठूलो लाभ पाएका बामदेव गौतमलाई संस्थापन पक्षले वैकल्पिक नेतृत्वका रुपमा विकास गर्न खोजेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उत्तराधिकारीको रुपमा पार्टी र सरकार दुवैमा गौतमलाई अघि बढाउने संकेतहरु पछिल्ला घटनाक्रमले देखाएका छन् ।

विद्यादेवी भण्डारी राष्ट्रपति बनेपछि संविधान अनुसार पदीय आचरण कायमराख्न पार्टीको अन्तरिक राजनीतिमा प्रत्यक्ष रुपमा संलग्न हुन अवस्था छैन । यसबाट प्रधानमन्त्री ओलीका समूहमा रिक्तताको अवस्था रहँदै आएको छ ।

राष्ट्रपति कार्यालयमा बसेर आफनो गुट अनुकुल हुने केही कदम चालेपनि अग्रमोर्चामा रहेर पार्टी्भित्रको गुटको नेतृत्व गर्न सक्ने अवस्थामा राष्ट्रपति भण्डारी छैनन । मुडी स्वभावको ओलीसँग नेतृत्व तहमा रहेकाहरु पनि हतपत दोहोरो कुराकानी गर्नबाट हच्किन्छन् । झन तल्लो तहका कार्यकर्ता खासै कुरा गर्दै गर्दैैनन । भण्डारी राष्ट्रपति बन्नुअघिसम्म उनले कार्यकर्ता र ओलीबीच पुलको काम गर्ने गरेकी थिइन् ।

गुटका कार्यकर्ताले सुनाउने गुनासो र समाधान गरिदिनु पर्ने समस्या पहिलो भण्डारीलाई भन्थे । भण्डारीले आवश्यकता अनुसार कुरा ओलीको पुर्‍याउथिन जसलाई ओलीले नकाटी पुरा गर्ने गरेका थिए । भण्डारी राष्ट्रपति बन्न गएपछि सिर्जना भएको त्यो रिक्ततालाई बामदेव गौतमको माध्यमबाट पुरा गराउन खोजिएको छ ।

जसका लागि पार्टीिभत्र विधान संशोधन गरेर उपाध्यक्ष पद सिर्जना गरि गौतमलाई लैजाने प्रस्ताव गरिएको छ । यसबाट पार्र्टीिभत्र शक्ति सन्तुलन बनाइ राख्न सजिलो पर्नेछ । दाहाल र माधवकुमार नेपालबीच बढेको निकटतालाई तोड्न ओलीले दाहाललाई एकल अधिकारसहित पार्टीमा जिम्मेवारी दिने जुन प्रतिवद्धता व्यक्त गरेका छन् त्यसलाई कार्यान्वयन गर्दा पनि उपाध्यक्षको रुपमा गौतमले ओलीको प्रतिनिधि बनेर दाहाललाई सन्तुलनमा ल्याइराख्न महत्वपूर्ण भूमिका खेल्ने छन ।

तत्कालीन नेकपा एमालेमा नेकपा मालेलाई निःशर्त विलय गराएपनि आफू निकट कार्यकर्ता देशभर रहेका गौतम एमाले हुँदा तत्कालीन एमालेभित्रको आन्तरिक प्रतिस्पर्धामा निर्णायक रहँदै आएका थिए । अहिले पनि गौतमको साथमा तिनै कार्यकर्ता छन जो पार्टी एकता अघि पनि उनकै साथमा रहेका थिए ।

बर्दियाबाट प्रतिनिधिसभाको चुनावमा पराजित भएपछि अध्यक्ष ओलीप्रति आक्रोश चुलिएको थियो । ओलीको इशारामा तत्कालीन महासचिव इश्वर पोखरेलले अन्तरघातको चाँजोपाजो मिलाएको बुझाइ गौतमको छ । गौतम र स्थानीय नेतृत्वबीच बढेको टकराव छदै थियो । शीर्ष नेतृत्वको टेको पाएपछि तत्कालीन एमाले र माओवादीको कांग्रेससँग रहेको ३१ हजारको मतान्तर गुमाउन समय नै लागेन । आफूले काधमा राखेर शीर्ष नेतृत्वमा पुर्‍याएको ओलीबाट आफैलाई घात भएको ठाने गौतमले ।

दोस्रो संविधानसभा चुनावपछि संसदीय दलका नेतृत्व छनोटका समयमा झलनाथ खनालको साथ छाडेर गौतम ओलीतर्फ लहसिए । गौतमलाई आफ्नो साथमा ल्याउन ओलीले संगठनको नेतृत्वको रोडम्याप प्रस्तुत गरेका थिए । रोडम्याप अनुसार, आफू पार्टी अध्यक्ष भएपछि संसदीय दलका नेता गौतमलाई बनाउने प्रस्ताव थियो ओलीको ।

तत्कालीन नेकपाका उपाध्यक्ष गौतमलाई दुई वर्षपछि कार्यवाहक अध्यक्ष दिने भनिएको थियो । गौतमको बलमा ओली संसदीय दलका नेता भए । पार्टीका अध्यक्ष पनि जिते । ओली अध्यक्ष भएपछि पहिले संविधान निर्माण र त्यसपछि भूकम्पको विषयले गौतमको संसदीय दलका नेताको रुपमा ताजपोशी सर्दै गयो । संविधान जारी भएपछि ओली प्रधानमन्त्री बने ।

भारतले लगाएको नाकाबन्दीको समयमा ओलीको पार्टी भित्र र बाहिर बढेको लोकप्रियताका अघि गौतम पूर्व सहमति कार्यान्वयन गराउन सक्ने अवस्थामा थिएनन् । तर ओलीले कुनै दिन त्यो सहमति कार्यान्वयन गराउने आशमा भने थिए ।

स्थानीय चुनाव लगत्तै नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणको चर्चा शुरु भयो । त्यसबेला ओलीलाई प्रतिस्थापनगर्ने परिस्थिति र सामथ्र्य गौतमसँग थिएन । त्यसपछि चुनावमा जे भयो त्यो अवस्थामा ओलीसँग टक्कर लिने सामथ्र्य सबै नेताले गुमाइसकेका थिए । त्यसमाथि गौतम आफै चुनावमा पराजित भएका थिए ।

यो अवस्थामा विकास निर्माणको कामगर्ने शक्तिशाली प्राधिकरण बनाएर त्यसको नेतृत्व गर्ने चाहना गौतमले राखे । ओली त्यसमा सकारात्मक भएनन् । ओलीसँग आक्रोशित भएपनि गौतम केही समय चुप बसे । त्यसबीचमा गौतमको हिमचिम प्रचण्ड र विष्णु पौडेलसंग बढेको थियो ।

गौतमलाई संसदमा पुर्‍याउन पौडेलले केही सांसदहरुसंग राजिनामा दिएर वामदेबका लागि ठाउँ खाली गरिदिन कुराकानी गरे । गौतमले बाँके, डोल्पा हुँदै काठमाडौ – ७ सम्मका सांसदलाई राजिनामा गराएर उप निर्वाचनका माध्यमबाट आफू सांसद हुन खोजे । तर सबैभन्दा ठूलो तगारो प्रधानमन्त्री ओली नै बनेको थिए ।

ओलीसँग आक्रोशित गौतमले प्रचण्डलाई नेकपाको एकल अध्यक्ष बनाउनु पर्ने प्रस्ताव गरे । ओलीविरुद्ध पार्टीभित्र गोप्य रुपमा हस्ताक्षर अभियान चलाए । पछिल्लो समयमा दाहाल, नेपाल, गौतम एकतर्फ भए । पार्टी्भित्र ओली करिब करिब एक्लिए । यसपछि, खेलिन राष्ट्रपति भण्डारीले आफनो भूमिका । उनले नेकपाभित्रको शक्ति सन्तुलनलाई परिवर्तन गराइन । त्यसपछि गौतम सत्ता र पार्टी दुवैतर्फ फेरि निर्णायक स्थानमा पुगे ।

बर्दियाबाट चुनावमा पराजित भएका गौतमलाई मंसिर १४ गते हुने उप निर्वाचनमा कास्की– २ बाट उठाउन खोजिदै छ । गौतमले कास्कीबाट चुनाव जिते सत्ता हस्तान्तरणका लागि विकल्पको रुपमा रहने छन् । ओली र दाहालबीच भएको सहमति पालन भए अर्को वर्ष सत्ता परिवर्तन हुनुपर्ने छ । तर ओली त्यसका लागि दाहाल र माधवकुमार नेपालको विकल्पको रुपमा गौतमलाई ल्याउन खोज्दैछन् । पार्टी र सरकारमा गौतमको उपस्थितिले ओलीको प्रतिवद्धता मात्रै पुरा हुने छैन दाहाल र नेपालको विकल्पका रुपमा एउटा नेताको रुपमा गौतम रहने छन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री