ठगी गर्ने काइदा : सेतो चल्लामा कालो मेहन्दी लगाएर ‘लोकल’ भन्दै विक्री

-सिराज खान
नेपालगन्ज । कालो मेहन्दीको प्रयोग आफ्नो सेतो भएको कपाललाई कालो गर्ने काममा प्रयोग गरिन्छ भन्ने कुरा त सबैले थाहा पाएकै कुरा हो ।

तर, सेतो भएको कपालमा लगाउने सोही कालो मेहन्दीको प्रयोग गरेर बोइलर कुखुराको चल्लालाई कालो बनाई लोकल भन्दै महंगोमा विक्री भइरहेको छ भन्दा अचम्म लाग्छ ।

बोइलर कुखुराको चल्लालाई कालो मेहन्दी लगाएर ‘लोकल’ भन्दै महंगोमा विक्री गर्ने दुईजना भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले शुक्रवार पक्राउ गरेपछि ठगी धन्धा खुलासा भएको हो ।

सेतो चल्लामा कालो मेहन्दी लगाउँदै गर्दा कोहलपुरमा भारत रामपुरका मोहम्मद नाजिर र सरिफ अलीलाई पक्राउ गरेपछि यस्तो कार्य हुने गरेको खुलासा भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमराज शाहीले जानकारी दिए ।

कालो मेहन्दी लगाउँदै गरेको र लगाइसकेको गरी सयवटा जति सेता चल्ला समेत प्रहरीले बरामद गरेको उनले बताए । ‘बोइलरको भन्दा लोकल वा गिरिराजको चल्ला महंगोमा विक्री हुनेरहेछ । आफ्नो फाइदाका लागि सेतोलाई कालो बनाई झुक्याएर सर्वसाधारणलाई विक्री गर्नेलाई आज पक्राउ गरेका छौं’, डिएसपी शाहीले भने ।

उक्त चल्ला नारायणगढको पोल्ट्री फर्मबाट ल्याइएको थियो । खुद्रा रुपमा विक्री गर्न ल्याइएको चल्लामा भारतीय नागरिकले कालो मेहन्दी लगाएर लोकल बताउँदै विक्री गर्दै आएको पक्राउ परेकाले बताएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुले यस्तो काम विगत लामो समयदेखि गर्दै आएका थिए भने उनीहरुले केही ठुला कुखुराहरुलाई पनि कालो मेहन्दी लगाएर लोकल कुखुरा भन्दै विक्री गरेको बयान दिएका छन् ।

उनीहरुले भारतबाट पनि कुखुरा र चल्लाहरु समेत साइड(चोर बाटो) नाकाहरुबाट नेपाल ल्याउने गरेको बताएको कोहलपुर ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

भारतबाट कुखुरा, अण्डा र चल्ला ल्याउन पूर्ण रुपमा प्रतिवन्ध लगाइएपनि दैनिकजसो विभिन्न बाटाहरुबाट ठुलो मात्रामा कुखुरा र चल्लाहरु भित्रिने गरेको स्थानीय कुखुरापालक किसान र मासु व्यवसायीहरुले जनाएका छन् ।

मुख्य नाकामा प्रहरी र क्वारेन्टाइनले कडाई गरेपछि तस्करहरुले साइड बाटोहरुबाट कुखुरा र चल्लाहरु भित्रयाउने काम गरिरहेको नेपालगन्जका कुखुरापालक किसान निजामुद्दिन ईद्रिसीले बताए ।

भारतबाट यसरी आइरहेको कुखुरा र चल्लाका कारण आफुहरुको व्यवसाय धेरै प्रभावित भएको उनले गुनासो गरे ।

प्रहरी र पशु क्वारेन्टाइनले बर्षका करिब ५० हजार जतिको हाराहारीमा भारतबाट ल्याईरहेका कुखुरा र चल्ला पक्राउ गर्दै आएका छन् । यसरी पक्राउ गरिएका कुखुरा र चल्लालाई खाल्डोमा गाडेर नष्ट गर्ने गरिएको छ ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री