भारतीय अपराधीलाई सहज नेपाली नाका

-राधेश्याम विश्वकर्मा

भैरहवा । असार २६ गते भैरहवा बिमानस्थलबाट दुई थान म्याग्जिन सहित भारतीय नागरिक उमेश शुक्ललाई रुपन्देही प्रहरीले पक्राउ गर्‍यो । उनी सुनौली हुँदै नेपाल छिरेका थिए ।

यस्तै गत बर्ष पञ्जाब प्रहरीको परिचयपत्र रहेको एक जना सहित काठमाडौंमा दुई जना भारतीयहरु आधुनिक हतियार सहित प्रहरीको जालमा परे । लगत्तै पोखराबाट पनि तीन जना भारतीयहरुलाई हतियार सहित नेपाल प्रहरीले नियन्त्रणमा लियो ।

भदौ २९ गते भैरहवा नजिकै दिउँसै ओमसतिया गाउंपालिका–५ पटखौलीका महेन्द्र कुर्मीको हत्या भयो । हत्या भएको चौथो दिनसम्म पनि हत्यारा पत्ता लाग्न नसके पछि अहिले घटनाको अनुसन्धान सिआईबीले गर्दैछ ।

कुर्मीको हत्याले गर्दा पट्खौली मात्र होइन समग्र जिल्लाकै सुरक्षा चासो बढेको छ । निर्वाध रुपमा घरबाट बाहिर हिड्डुल गर्न जिल्लावासी असहज महशुस गरिरहेका छन् । यस बिषयमा बिभिन्न कोणबाट अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता बिरेन्द्र बहादुर शाहीको दावी छ ।

कुर्मीको हत्यापछि जिल्लाको शान्ति सुरक्षा खस्किएको प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले गुनासो गरे । उनले दिनदहाडै गोली प्रहार गरी हत्या गर्ने अपराधीलाई तत्काल खोजी कडा कानुनी कारवाही गर्न माग गरे । घटना अचानक नभइ योजनबद्ध ढंगले गराइएको घटना भएको पाण्डेयको भनाइ छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट(राहुल)ले पनि घटना योजनाबद्ध भएको जस्तो देखिएको बताए । उनले जसरी भए पनि घटनामा संलग्न अपराधीहरुलाई पक्राउ गरेर कडा भन्दा कडा कारवाही गरेर नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउनुपर्ने बताए ।

यी त रुपन्देहीमा भएका अपराधका नमूना घटना मात्र हुन अहिले जिल्लाको शान्ती सुरक्षाको अवस्था खस्किदै गएको छ । बिशेष गरि नेपाल भारतको खुल्ला सीमा र भारतीय नम्बर प्लेटका साना गाडीहरुको नेपालमा निर्वाध प्रवेशले अपराध न्यूनिकरणमा चुनौति थपिएको छ ।

गत बर्ष जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कर्तब्य ज्यान सम्बन्धी १६ वटा मुद्दा दर्ता भएको थियो । प्रहरी तथ्यांकका अनुसार गत आर्थिक बर्षमा साउन, मंसिर र माघ महिनामा मात्र हत्याका मुद्दा दर्ता भएनन् अन्यथा प्रत्येक महिनामा रुपन्देहीमा हत्या भएकै छ ।

सबैभन्दा बढी गत बैशाख र जेठमा ३÷३ वटा हत्याका मुद्दा दर्ता भएका छन् । आर्थिक बर्ष २०७४/०७५ मा २२ वटा कर्तब्य ज्यानका मुद्दा दर्ता भएकोमा २० वटा फछर्यौट भएको थियो ।

आर्थिक बर्ष २०७५/०७६ मा भने १३ वटा कर्तब्य ज्यानको मुद्दा फछर्यौट भई तीनवटा बाँकी छ । यस्तै चालु आर्थिक बर्षको दुई महिनामा दुईवटा हत्या भई सकेको छ । जसमध्ये एक वटा फछ्र्यौट भई सकेको छ भने एकवटा अनुसन्धानमै छ ।

नेपालसँग सिमाना रहेको भारतीय राज्य उत्तर प्रदेश र बिहार यस्तो राज्य हो जहाँ साना हतियारहरुको खरिद विक्री सामान्य मानिन्छ । सबैको पहुँचमा सहज रहेको हतियारहरु अहिले सीमामा रहेको फितलो सुरक्षाका कारण सहज रुपमा नेपाल भित्रि रहेका छन् ।

नेपाल–भारत सीमाको मुख्य नाका हो बेलहिया नाका । स्थलमार्ग हुँदै सबैभन्दा बढी पैदलयात्रु यो नाकाबाट भित्रिरहेको अवस्थामा पछिल्लो समयमा ब्यावसायीक रुपमा पनि उत्तिकै महत्वपूर्ण हुँदै गएको छ ।

तर नाकाको ब्यस्तताको तुलनामा सीमामा नेपाली प्रशासनका तर्फबाट सुरक्षा ब्यवस्थाको कुनै प्रभावकारी बिकल्प नहुँदा भारतबाट जस्तोसुकै समान पनि नेपाल भित्र्याउन सहज हुने गरेको छ ।

पैदल, मोटसाईकल, कारमा आउने कुनै पनि ब्यक्तिको खान तलास हुँदैन् । दशगजा पार गरेपछि पैदलयात्रु वा सवारीहरुले बिना कुनै चेकजाँच सहज रुपमा नेपाल प्रवेश पाउँछन । भारतीय कारहरुको हकमा नेपाल प्रवेशको स्विकृति लिए नलिएको सामान्य चेकजाच गरिए पनि गाडीहरुलाई चेकजाच गर्ने प्रावधान छैन । मुख्य नाका बेलहिया मात्र होइन रुपन्देहीमा रहेको करिब एकदर्जन बढी साना तथा ठूला नाकाबाट भारतीय नम्बर प्लेटका मोटरसाइकल निर्वाध रुपमा नेपाल आउने जाने गरेका छन् ।

नेपाल छिर्ने यी कुनै पनि मोटरसाइकलको चेकजाँच नै हुन्न । अवैध बाटोबाट नेपाल छिरेका यी मोटरसाईकलका कागज पत्र समेत मागिदैन । यसले पनि अपराध गर्न सहज भएको सरोकारवालाको चिन्ता छ ।

यसको ठीक उल्टो छ छिमेकी मुलुक भारतमा । दशगजासित नै सटेर भारतीय सीमा सुरक्षा बल रहेको छ । भारत छिर्ने प्रत्येक ब्यक्ति चाहे त्यो पैदल नै किन नहोस उसलाई ‘वाकथ्रु’ मेसिनबाट पार गरेर जानुपर्छ । त्यतिले मात्र नपुगी भारतीय सीमा सुरक्षाबलका सुरक्षाकर्मीले प्रत्येक ब्यक्ति तथा सवारीहरुलाई खानतलासी नगरी भारत छिर्नै दिंदैनन् ।

नेपालमा रहेको फितलो सुरक्षा ब्यावस्थापनको कारणले नै नेपालमा अपराधिक समूहहरुको क्रियाकलाप बढदो रहेको छ । काठमाडौंमा हतियारसहित पक्राउ परेकाहरु पनि बेलहिया–सुनौली नाका प्रयोग गरेर सहज रुपमा काठमाडौंसम्म हतियार लगेको बताएका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बिरेन्द्र बहादुर शाहीले खुल्ला सीमा र भारतीय नम्बर प्लेटका साना गाडीहरु सुरक्षा ब्यवस्थापनमा चुनौती रहे पनि अहिले उचित चेकजाँच बढाईएको दावी गरे । उनले खुल्ला सीमाका कारण भारततर्फ अपराध गरी नेपालमा र नेपालतर्फ अपराध गरि भारतमा अपराधी लुक्ने गरेको बताए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री