ठेकेदारलाई राजनीतिक संरक्षण दिएर जोगाउने अवस्था सकियो

काठमाडौं । प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष केपी शर्मा ओलीले देश बिकासका लागि सरकार नयाँ संकल्पका साथ अघि बढेको बताएका छन् ।

राष्ट्रिय विकास समस्या समाधान समितिको आइतबार बसेको ४६ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको तीव्र गतिको चरणमा देश प्रवेश गरिसकेकाले सबै पक्ष रचनात्मक ढंगले अघि बढ्न निर्देशन दिए ।

राजनीतिक संरक्षणका बलमा निर्माणसम्बन्धी ठेक्का दिने परिपाटी विगतमा रहेको र त्यस्ता कमजोरीले देश पछि परेको भएपनि अब त्यस्तो परिस्थिति नरहने प्रधानमन्त्री ओलीले प्रष्ट पारे ।

समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई अब मौका नदिइने प्रधानमन्त्रीको भनाई छ । अन्तिम मौका पनि गुमाउने निर्माण व्यावसायीसँग कडाइ गर्दै ठेक्का तोड्ने मात्र होइन, त्यस्तालाई दण्डित गर्ने र क्षतिपूर्ति भराएर भविष्यमा समेत अयोग्य ठहरिने गरी कालो सूची वा डार्क लिस्टमा राख्नुपर्ने उनले बताए ।

‘त्यस्ता ठकेदारका कारण देश कति समय पछाडि पर्‍यो ? बाटो घाटोको अभावमा सामाजिक जागरण र आमजनताको सुविधाको विषय कति पछि प¥यो ?’ बैठकमा प्रधानमन्त्री ओलीले प्रश्न गरेका थिए ।

कुखुराको माउले पखेटामुनि संरक्षण दिएपछि चीलले समेत चल्ला समात्न नसक्ने दृष्टान्त दिंदै प्रधानमन्त्रीले अब ठेकेदारहरुलाई राजनीतिक संरक्षण दिएर जोगाउने अवस्थाको अन्त्य हुने स्पष्ट पारे ।

‘जनताले हाम्रो पार्टीलाई ठूलो अपेक्षाका साथ वहुमत दिएका छन्, यो सरकार जनताको आकांक्षा पूरा गर्नैपर्ने विशेष अवस्थामा अगाडि बढिरहेको छ,’ ओलीले भने ।

जनता आफैं तत्पर नभए देश बन्दैन भन्ने कुरा जनतालाई नै बताएर समृद्धितर्फ अघि बढ्न प्रेरित गर्नुपर्ने बताउँदै प्रधानमन्त्रीले आम जनता बीच जागरणको लहर सृजना गर्नुपर्ने बताए । ‘हामीले पपुलिस्ट काम होइन, दीगो विकासका काम गर्नु पर्दछ । हामीले आमजनताका बीच जागरणको लहर श्रृजना गर्नु पर्दछ,’ उनको भनाई थियो ।

उक्त अवसरमा प्रधानमन्त्री र योजना अयोगका उपाध्यक्ष डा. पुष्प कँडेल, राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली एवं लगानी वोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद लामिछानेबीच कार्य सम्पादन सम्झौता पनि सम्पन्न भएको थियो ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री