हामी र हाम्रो पालाका बा

-पुण्यसागर मरहट्टा

अगष्टको अन्त्य वा सेप्टेम्बर लागेपछि उत्तर अमेरिकामा स्कुले केटाकेटीका स्कुल सप्लाइजको चटारो सुरु हुन्छ । त्यो चटारोले अलि अलि मेरो लेख्ने लहडलाइ छिर्की हान्यो । विश्वविद्यालयको दोश्रो बर्ष शुरु गर्दै गरेको छोरोलाइ करिब ७०० किमी परको शहरमा छोड्न जानु, उसको बासको ब्यबस्था गरिदिनु र घर नजिकैको स्कुलमा छ कक्षा शुरु गर्दै गरेकी छोरीको स्कुले चटारोलाइ ब्यबस्थापन गर्दागर्दै मलाइ आफ्नो किशोरावस्थामा फर्कायो । उसैमाथि भर्खर गएको कुशे औंशीले बा सम्झाउन मद्दत गर्‍यो ।

असारमा चौध पुरा भएर पन्ध्र लागेको मैंले २०४२ माघमा एसएलसी परीक्षा दिएँ र सिद्धार्थ वनस्थलीको खेलोमेलो तुरें। सिद्धार्थ वनस्थली र त्यसका संस्थापक प्राचार्य श्री लक्ष्मण राजबंशीको मेरो यो जीवनमा मेरा मातापिताको पछि ठुलो योगदान छ भन्दा धेर हुँदैन । उनले हामीलाई प्रत्यक्ष कुनै बिषय पढाएको सम्झना छैन, तर उनको होचो कद, लामो ओभरकोट, उनको अंगरक्षक जस्तो लाइका (?) नाम गरेको अजंगको एल्सेसियन कुकुर र उफ्रीउफ्री लात हान्न सक्ने आवेशको प्रत्यक्षदर्शी मेरा समकक्षी साथीहरु अझै सम्पर्कमै छौं र यदाकदा उनको त्यो अनौठो अनुशासन कायम राख्न सिकाउने शैलीको तारिफ र आलोचना गर्ने गर्छौं । त्यो कायदा–अदब माथि मलाइ त अझ अर्को बेतोडको अनुशासन थियो । मेरी आमा त्यहि बिद्यालयमा आफ्नो जीवनउर्जा करिब करिब निख्र्याएर पचासको दशकमा एउटा स्वर्ण पदक, एउटा दोसल्ला अनि मिठा केहि शव्दसँग बिदा हुनुभयो । निवृत्तिभरण शायद उहाँले वनस्थलीमा पढाएकाले भन्दा पनि नेपाल सरकारको पूर्व शिक्षिका भएका नाताले पाउनुहुन्छ जस्तो लाग्छ । तथापि मेरो र मेरो भाइको शिक्षादीक्षामा मेरो स्कुलको निःशुल्क बृत्तिले ठुलै योगदान दिएको छ भन्न मैंले कन्जुस्याई गरे पाप लाग्छ।

सरकारीबाट निजि बनेको स्कुलले निवृत्तिभरण दिन्छ भन्नेमा मलाइ शंका छ, तर मेरो लेखको पाटो त्यो होइन त्यसैले त्यता जान्न। मेरो लेखाइको पाटो त स्कुले जीवन, त्यसमा अनुशाशनको छेको( तगारो, उसैमाथि आमाको अदब, म बिग्रिए, फेल भए जान सक्ने आमाको इज्जत आदिका कारणले मैंले स्कुले जीवनभरको किशोरावस्थाको भरपुर उपयोग गर्न पाइन कि भन्नेबाट शुरु हुन्छ ।

मैंले कोपुण्डोलको बागमती किनाराका प्रत्येक चौरमा फुटबल खेलेको छु, त्यहींबाट सिकेको हुँ । तरपनि त्यहि पढ्नु पर्छ भन्ने दवाव र वनस्थली पढेको रवाफका कारण धित मर्ने गरि फुटबल चाहिं एसएलसी दिएपछिको माघ पछि देखि हो । जब माघ सकिएर फागुन लाग्यो, अनि सुरु भयो फुटबल खेल्ने क्रम, फ्रेन्ड्स क्लबको ए डिभिजनको एक खेलपछि ब्रेक लाग्नेगरी ।

सानोमामा (स्व. रुपकराज शर्मा)को त्यतिबेलाको खेल उचाइले समेत त्यता लाग्न प्रेरित गर्‍यो, आज पर्यन्तः फुटबल मैदानमा भिडिरहेको भेटिन्छु । आजको युग हुन्थ्यो भने म पनि खेलाडी भएरै पनि जम्थे कि ? तर लेखाईको पाटो त यो पनि होइन । कुरो बरु कुरकुरे वैंशको हो । आजका ठिटाठिटीले झैं कपाल हाइलाइट गर्ने साधन उपलब्ध हुँदो हो त बेग्लै हुन्थ्यो होला, थिएन तर व्ह्यामका ठिटाका जस्ता पछाडी लुर्किने कपालसम्म त कोपुण्डोलको प्रख्यात सैलून ‘पारस हेयर ड्रेसर’ का बुढा पारस ठाकुर वा उनका छोरा रबिन्द्रले बनाइदिन्थे, रङ्ग त निख्खर कालो हुने नै भयो । एक दिन तिनै रबिन्द्र दाइले उपाय सुझाए, ‘ बाबु, मेडिकलमा गएर हाइडुजन पेरोक्साइट किन्नुस् र त्यो मिलाएर कपालमा लाउनुस, कपाल खैरो भैहाल्छ।’

बस् , के चाहियो ? बाले दिनुहुने गरेको साप्ताहिक मोरु १० को पकेट खर्च जोगाइ जोगाइ कुनै एकदिन सात रुपियाँको स्यानो बोतल पेरोक्साइड किनेर लगियो, लुकेर घसियो । जब त्यसले रंग देखायो, बाले झन्डै मारेनन् । आमाले नजोगाएको भए आज कम्तिमा यो कहने हात सद्दे नहुन सक्थ्यो । बाको तर्क के थियो सम्झना छैन, मेरो तर्क लुते थ्यो । सविन्द्र भन्ने मेरो साथीले लगाउन हुने, मैले लगाउन किन नहुने ? यस्ता लुखुरे तर्कले बाको आवेस थामिने कुरो थिएन, म बच्चैदेखि जिराहामा गनिएको मान्छे, गोदाई खाने तर हठ नत्याग्ने भएकोले बाले रिस नमरुञ्जेल ढुक्ढुक्याइरहनु भयो, मैले खपिरहें, रोएँ तर मनमनै भनें -गोदाइ त आज सम्म हो, भोली त मेरो कपाल खैरै रहन्छ, रह्यो । बाले रिस मरेपछि केहि गर्नु भएन । अर्को दिन दीपले निलो टेनिसुज जस्तो जुत्ता लगाएर आयो। आकाशे रंगको जुत्ता, वाह, मेरो पनि यस्तो जुत्ता भए ? यो चिन्ताले ग्रसित भैयो । ल्याउने कहाँबाट ?

आमाको तलबले घर धान्नै ठिक्क, बा आफ्ना बासंग बिद्रोह गरेर आफैं काठमाडौँमा घर जोडेर घरि यता घरि उता बेपार ब्यबसाय गरेर मेरो र भाइको भविष्यको नक्शा कोरेर दिक्क। भएन बा, कसरी लगाउने निलो जुत्ता ? यो चिन्ताले मलाइ निक्कै गाँज्यो । साथी हेर्‍यो कोही मधेसका जिम्दार छन्, कोइ हिरा साहुका छोरा छन्, कोही खानदानी राणाजी छन्, आफुभने मास्टरनी बजैको छोरो। एकदिन हिम्मत गरेर सोधिहेरें दीपलाई– ‘ए मेरो ड्याडीले बैंककबाट ल्याइदिसेको’ भन्छ । एकदिन खुसुक्क सानोमामालाई बिन्ती बिसाएँ, आठ जना दिदीबहिनीका दुई भाइ मामाहरु । कति भान्जाभान्जीलाई  के ल्याएर के पुर्‍याइदिनु खेलाडी भएर आउने भत्ताले ? तँलाइ मुला ? लाउछस निलो टेनिसुज ? भनेर पर्लक्क बल्ड्याङ्ग्रो आँखा पल्टाईदेसी त्यो सपना नि हावा खाने छाँट आइहाल्यो । तैपनि एउटा किशोरले हिम्मत हारेन ।

जैसीदेवलको दक्षिण पश्चिम कुनामा गोफल पुग्ने ठाउँमा एउटा जुत्ता सिलाउने पसल थियो (अझै छ कि ?) त्यहींको सार्की दाईलाइ सोधेँ– दाइ, यो निलो जुत्ता कसरी बनाउन सकिन्छ ? (कुपन्डोलमै सोधे त फेरी बालाई सुनाइदेलान र सपनाको निधन अघि बज्रिन सक्ने अन्य तामझामले हाम्रो पुस्ताको को त्रसित नहोला) ती दाइ जुत्ता टाँस्दै थिए, एकछिन पख भने । उनकै भाषामा सलुक्सनको तिखो गन्ध पुरानो पिनाश निको पार्ने क्षमताका साथ उनको पसल ज्यासलमा रन्ग्मन्गिएको थियो, त्यो गन्ध सुँघ्दै म व्यग्रताका साथ एउटा पिर्का भन्दा अलि अग्लो टुलमा व्यग्रताका साथ पर्खिएँ । काम तुरिएपछि उनले पुलुक्क मेरो मुखमा हेरे, के भन्यौ रे बाबु ? भने तिनले । मैले प्रश्न दोहोर्‍याएँ– निलो जुत्ता कसरी बनाउने ? ति दाइले करिब करिब हरियो हुन लागेको दाँत देखाउंदै भने–पालिस लाउने, पालिस । भो अब ? कहाँबाट ल्याउने निलो पालिस ? सोधें । कपडाको जुत्ता हो भने त छिपाहाको पसलमा सोध भने उनले । ठिक, मलाई त कपडाकै जुत्तामा रंग लगाउने धुन थियो । एकचालीस सालको शिक्षा दिवसमा पिटी खेल्न किनेको घुर्मैलो भैसकेको टेनिसुजले रयाकबाट मलाई बोलाइरहेको भान हुन्थ्यो ।

किलागल, भेडासिंग तिर कपडामा लाउने रंग किन्न पाइन्छ भन्ने थाहा पाएपछि फेरी पकेट खर्चबाट जोगाएको चार रुपियाँले शायद छटाक नेभी ब्लु रंग किनेर ल्याएँ । उबेलाको खानेपानी संस्थान इमान्दार थियो, भनेको टाइममा धाराबाट पानी मात्र दिन्थ्यो, अरु बेला हावा दिन्थ्यो, ढल दिन्नथ्यो । त्यहि पानी कुरेर बसें, घुर्मैलो टेनिसुज धोएँ घोडे साबुनले माटोको अटलिमा राखेर, सेतो सेतो भयो । सुकाएँ । भोलिपल्ट आमा, बा, भाई सबै आ–आफ्नो गन्तव्यमा लागेपछि अटलीमा रंग घोलें, त्यसमा टेनिसुज चोपलें, दिनभर चैतको घाममा सुकाएपछि जुत्ता दीपको जस्तै देखियो, मन पुलकित भयो । बाले घर आएपछि देख्नु त भयो, तर निरपेक्ष तवरले ‘कतिदिन टिक्ला त जेठा यो रंग ?’ भनेर ओंठ लेब्र्याइदिनुभयो । मनमनै टिक्छ, किन नटिकोस ? सार्की दाइले भनेर रंग पसले तुलाधर दाइले दिनुभएको इन्स्ट्रक्सन फलो गरेर लाको रंग, टिक्छ–आत्मगौरवले पुलकित हुँदै गमें, एकमन त बालाई देखाईदिएँ यसपटक चाहिं भन्ने घमण्ड पनि पलायो ।

शनिबार बिहानै हाम्रो टीनेजर काफिला पशुपति जान्थ्यो । यसपाली खैरो कपाल, बाहरुले लगाउने फर्केर आएको फेसन डिजाइनको बिंडी पाइन्ट, निलो जुत्ता लगाएर म पनि हिँडे पशुपति, पशुपतिको दर्शन त बहाना थियो, बालाहरुको दर्शनले तान्थ्यो । सखारै उठेर साथीभाई कुपन्डोल हनुमान्थानमा जम्मा हुने, टोली मिलाएर मुलबाटो हिड्दै पद्मोदय चोक, बाँसघारी, पिपा गोश्वारा, घट्टेकुलो चोक (कुन्नि कहिलेदेखि त्यो चोकको नाम खसी चोक भयो, थाहा छैन), नर्कटको साँध भएको छेड़ो हुँदै मैतीदेवी चोक, त्यहाँबाट मुलबाटो पक्डेर धोबीखोलाको पुल तरेर बानेश्वरको उकालो काटेर बत्तीसपुतली चोक पुगिन्थ्यो ।

बत्तीसपुतलीबाट मसलाका रुखका सियाँलै सियाँल गौशाला पुग्यो, गौशाला चोकबाट तल झरेर पशुपति मन्दिर पस्यो, टंग टंग घण्टा बजायो, एकपटक परिक्रमा गर्‍यो, फर्कियो । क्या मज्जा, गौशाला चोकको दक्षिण पश्चिम कुनाको पसलमा जेरी पुरी दन्कायो, फिर्‍यो उही बाटो । कहिलेकाहीं गफिंदै कोपुण्डोल आइपुगेर हनुमान्थानमा जनपुकारको पसलमा जेरीस्वारी बजाउने कर्म पनि गरिन्थ्यो । बाटामा देखिएका सोडषीका नाकमा फुली वा त्यसका लागि प्वाँल छेडिएका छन्, छैनन्, हेर्‍यो अनि कल्पनामा उड्यो, उडायो गरिन्थ्यो । खैरो कपाल, बिंडी पाइन्ट, निलो जुत्ता– त्यो दिन मैले नि भन्दिएं, त्यो मुला दिपेन्द्र (युवराज) नि म जस्तै त हो नि, जम्मा १५ दिनले जेठो त हो, त्यल्ले लाउने जुत्ता, पाइन्ट त्यसको कपाल र मेरोमा कसैले फरक देखोस् । त्यो शनिबार घर पुगेर जुत्ता खोलेपछि थाहा भयो, खुट्टा त जुत्ता जत्तिकै निलो भएछ, जुत्ताको नीलो खुट्टामा सरेर । त्यतिमात्र होइन, जुत्ताको निलो खुट्टामा सरेपछि के चेत पनि पस्यो भने बाका अनुशासन पालना गराउने पद्धतीमा गुनासो गर्न सकिएला, तर अनुभवले चेब्राइएका ओठले जे इंगित गरेका थिए, ति आफैंमा जवाफ थिए ।

बिउ राख्न सुकाइएको पाटे घिरौंलाको जालोले मस्त रगड़े पछि निलो गयो, साथै निलो जुत्ता प्रतिको मोह पनि सकियो । बाको सिख जीवनभरी काम आयो–नक्कल गर्नुको अर्थ छैन, आफ्नो पहिचान आफैंले बनाउनु पर्छ । क्रमशः व्हामका केटा बन्ने लहड पनि टुंगियो, निलो जुत्ता प्रतिको मोह पनि भंग भयो ।

रोड टु वेम्ब्ली र बुन्देस लिग दुईथरी फुटबल खेलहरु नेपाल टेलिभिजनले प्रस्तुत गर्थ्यो तिनताक। अरु खेलाडीको त्यति सम्झना छैन, अहिले पनि मैले सम्झिने केही बेलायती खेलाडीहरु रोड टु वेम्ब्लीमा देखिन्थे, ति हुन, क्रिस वाडल , पल गास्गोइन, जोन बार्न्स । यी तिनै खेलाडी सन् १९८६ को मेक्सिको वर्ल्ड कपमा खेले झैं लाग्छ । क्रिस या पल मिड फिल्डमा र जोन अग्रपंक्तिमा खेल्थे क्लब फुटबल, यद्यपी यी तिनै जगेडा खेलाडी थिए वर्ल्ड कप टिममा शायद । यी तिनै खेलाडीका पोस्टर किनेर ल्याइयो थापाथली ट्रलीबस स्टप अगाडी भर्खर खुलेको स्पोर्ट्स पसलबाट र कोठामा टाँसियो । बा ले देख्नुभयो, केही भन्नु भएन, म स्वयमलाई लाग्यो, कोठा त पारस हेयर ड्रेसर जस्तो पो देखियो । नभएपनि कुपन्डोल कुमारीथान संगैको पण्डितजीको पान टंकी जस्तो देखियो । रहर थियो सानोमामा रुपकराज शर्माको कोठा जस्तो बनाउने, सानोमामा त्यतिखेर महेन्द्र पुलिस क्लबको चर्चित खेलाडी मात्र थिएनन् , नेपाली राष्ट्रिय टोलीको कप्तानसम्म भएर अवकासोचित उमेरमा पुगिसकेका थिए ।

मामाको कोठामा पेले, मुलर, चार्ल्टन जस्ता मुर्धन्यका पोस्टर थिए, सायद ति सक्कली थिए, मामाले खेल्न जाँदा मन परेर किनेर ल्याइएका थिए । उनको परख क्षमता थियो, मेरो फगत लहड, र शायद मेरा पोस्टर कुनै गोरखपुरवाला प्रेसको उपज थियो । कत्ति सुहाएन, उक्काइयो, भित्तामा गुंद निकै पछिसम्म रहिरह्यो । त्यो डामले मेरो लहडलाइ पछिसम्म गिज्याइरह्यो ।

स्मृतिपट्मा केही त्यस्ता प्रयोजनवीहिन प्रयोगहरु यसपालीको ब्याक टु स्कुल सिजनले पुनर्जागृत गराइदियो । छोरा आफैं कमाउछ, एकथोक किनेछ अन लाइन,लाग्यो, केटोले एक झमट लहड उमारेछ, भोली थन्किन्छ । भयो त्यस्तै, झुर सामान परेछ, लाउनै छोडिसक्यो । आज म बा हुँ र सम्झिन्छु, हिजो मेरा बा गलत थिएनन् । मैंले त्यतिखेर बा चिनेको रहेनछु ।

सानीले पर्पल कलरको पोलो शुज लगाउने रहर गरी, कपाल हाइलाइट गर्ने रहर गरी । जुत्ता किनियो, कपाल हाइलाइटमा सम्झौता गरियो । तिम्रो नेचुरल ब्ल्याक राम्रो छ भनेर कन्भिन्स गरियो। सम्झनामा आफ्ना केटाकेटी बेलाका कुरा फर्केर आए, र एउटा जीवन्त सिख सिकियो( बा हुन पनि सजिलो छैन आमा हुन सजिलो नभएझै ।

मलाइ लाग्छ म काल जमानासंग अध्यावधिक छु तर मलाइ थाहा छ म गलत छु । समय निकै बदलिसक्यो । अब त न त्यो बागमती छ, न बागमतीका चौर। न मेरा मामा रुपकराज शर्मा छन् । मैं पनि जीवनको आफ्नो नवौं गृहनगरमा छु ।साथीहरु पनि छुटे, कोही कता, कोही कता । हाम्रो शहर अब हाम्रो हैन अर्को पुस्ताको भैसक्यो ।

अब त न त्यसरी हुल बाँधेर हिड्न मिल्ने सडक छन्, न बत्तीसपुतलीका मसलाका रुखहरु। जनपुकारको पसल पनि हनुमान्थानबाट सरिसक्यो । बा आमा त कोपुण्डोलमै हुनुहुन्छ र त्यसैले तन्तुसम्म त्यता तन्किन्छ । कमसेकम मसलाका रुखवाला बत्तीसपुतली होस् कि नदिकिनाराका चौर, बा हरुले हामीलाई दिएका थिए, हामीले आउँदो पुस्तालाई जे दिनु हुँदैन थियो, त्यो मात्र दियौं । अहिले १६ बर्षे एक स्वीडिस फुच्ची ग्रेटा थुन्बर्ग अभियान लिएर उभिरहेकी छ, उ मागिरहेकी छ कम्तिमा हामीले किशोरावस्थामा उपभोग गरेको विश्वस हामी लाचार उसको कुरो सुनिएला भन्ने त्रासले घण्टाकर्ण बनेका छौं । अचेल मलाइ लाग्छ, हाम्रो जमानाका बा ठिक थिए, हामी गलत छौं। सुन्थे पनि, परिआए ठोक्थे पनि, कर्तव्यच्युत थिएनन। ढिलो भएपनि मेरा जस्तै कर्तव्यपरायण समस्त बाहरुलाई कुशे औंशीको सतत नमन । अस्तु।

टिप्पणी थप्नुहोस्