बाँकेमा डेंगुको भयावह : एकको मृत्यु, ६० बढीलाई संक्रमण

-सिराज खान

नेपालगन्ज । पछिल्लो समयमा आएर बाँकेमा पनि डेंगुले भयावह रुप लिन थालेको छ । हालसम्म ६० जनामा सो रोग देखिएको छ भने एक जनाको मृत्यु समेत भई सकेकोे छ ।

डेंगुका विरामीको निशुल्क उपचार गर्ने सरकारले घोषणा गरेपनि बाँकेका सरकारी अस्पतालमा भने विरामीले निशुल्क उपचार नपाएको गुनासो गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार, उपचारका क्रममा रहेका एक जना विरामीको कोहलपुरस्थित शिक्षण अस्पतालमा मृत्यु भएको छ । सो रोग लागेर बाँकेका विभिन्न अस्पतालहरुमा उपचार गराउन आउनेहरुको संख्या ६० नाघेको सो कार्यालयले जनाएको छ ।

डेंगु लागेर कोहलपुरमा उपचार गराईरहेका बर्दियाका एक जना विरामीको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले बताइन् ।

उनले पछिल्लो समयमा आएर डेंगुका विरामीहरु उपचारका लागि अस्पतालहरुमा आउने क्रम बढेको जनाउँदै बाँकेका अस्पतालहरुका हालसम्म ६० जना भन्दा बढी विरामी आइसकेको बताइन् ।

ती मध्ये एकको मृृत्यु हुनुका साथै २७ जनाको अझैपनि नेपालगन्ज र कोहलपुरका विभिन्न अस्पतालमा उपचार भैरहेको र अन्य निको भएर घर फर्किएको फोकल पर्सन गौतमले बताइन् ।

गौतमका अनुसार हाल नेपालगन्जस्थित भेरी अस्पतालमा ११ जना, कोहलपुर शिक्षण अस्पतालमा ११ जना, नेपालगञ्ज शिक्षण अस्पतालमा ५ जना गरेर २७ जना डेंगुका विरामीको उपचार भैरहेको छ ।
बाँकेमा उपचारका लागि आएका मध्ये सबैभन्दा बढी जिल्लाकै विरामी रहेका छन् । बाँकेका मात्र २० जना भन्दा बढी विरामी अस्पतालमा पुगिसकेका छन् । केही समय पहिलेसम्म फाटफुट रुपमा मात्रै डेंगुका रोगी भेटिएपनि हाल आएर सो संख्या उल्लेख्य रुपमा बढ्दै गएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार, बाँके बर्दिया, कैलाली, रुकुम, दाङ र सुर्खेेतमा समेत सो रोग फैलिरहेको छ । ती जिल्लाबाट पनि विरामी आउने क्रम बढेको छ । डेंगुका बिरामी अहिले नेपालगन्ज र कोलपुरका अस्पतालमा उपचारका लागि आइरहेका छन् ।

भेरी अस्पतालमा हालसम्म सबैभन्दा बढी २५ जना डेंगुका विरामीहरु उपचारका लागि आएकोमा हाल ११ जनाको उपचार भैरहेको र १३ जना उपचारपछि निको भएर घर फर्किसकेको अस्पतालका प्रमुख डा.रुपानन्द अधिकारीले बताएका छन् ।

भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. राजन पाण्डेले डेंगु रोग फैलिन थालेपछि सो रोगबारे जनचेतना फैलाउन जिल्लाका सबै स्थानीय तहलाई आग्रह गरिएको बताए । उनले जति सेचतना फैलिन्छ त्यतिनै विरामी कम हुँदै जाने पनि निश्चित रहेको जनाए ।

यो रोगको उपचार नरहेकोले लामखुट्टेका लार्भा नष्ट गर्नुको विकल्प नरहेको पनि उनले प्रष्ट पारेका छन् । बाँकेका ८ वटा स्थानीय तह मध्ये जानकी गाउँपालिका र डुडुवा गाउँपालिकाले मात्र लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान चलाएको छ भने कोहलपुर र नेपालगन्जमा भने विभिन्न प्रकारका सचेतना अभियान संचालन गरिएको जनाईएको छ ।

 

टिप्पणी थप्नुहोस्