कांग्रेसको जागरण अभियान समापन–‘सरकार संस्थागत भ्रष्टाचारमा लिप्त छ’

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले दोस्रो जनजागरण अभियान भैरहवामा बिरोध सभा गर्दै समापन गरेको छ ।

बिरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले सरकारले जनविरोधी गतिविधि गरिरहेको आरोप लगाइन ।

उनले बहुमतको आधारमा सरकारले गाउँदेखि केन्द्रसम्म संस्थागत भ्रष्टाचार गरेको बताइन् । उनले सरकार भ्रष्टाचारमा लिप्त भएका कारण देश नै कंगाल हुने बाटोमा जाने खतरा बढेको बताइन् ।

कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा बोल्दै उनले सरकारमा नभए पनि कांग्रेसले संविधानको रक्षा र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कांग्रेसले संविधान, लोकतन्त्र र जनताको शुशासन र अधिकार रक्षा गर्न कटिबद्ध भएर लाग्ने उनको भनाइ थियो ।

जनतामा गएर ललिपप देखाएर तथा झुटा भ्रम फैलाएर भोट लिनेहरु अहिले सरकार चलाइरहेको छन्, सरकार निरकुंशताको बाटोमा अगाडी बढेको छ, उनले भनिन । जनताको अधिकार खोस्ने र संविधान मिच्ने दिशातर्फ सरकार अगाडी बढेको उनले बताइन् ।

लोकतन्त्रमा पूर्ण प्रेस स्वतन्त्रता हुनुपर्ने भए तापनि अहिलेको सरकारले जनताको आवाज बोक्ने मिडियामाथि नै अकुंश लगाउन खोजेको र जनतालाई समेत तर्साउन खोजेको गुरुङको भनाइ थियो ।

विरोधसभामा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले वर्तमान सरकारले मुलुकलाई आर्थिक रुपमा तहसनहस बनाउँदै गएको बताए । उनले संविधान विरोधी क्रियाकलाप गरेर सरकारले जनताको अधिकार खोस्न खोजेको बताए ।

प्रतिनिधिसभा सदस्य प्रमोद कुमार यादवले कम्युनिष्ट सरकारले जनताको पक्षमा केही काम गर्न नसकेको बताए । उनले सरकारले केवल जनतामाथि कर थोपर्ने काम गरेको बताए ।

नेपाली कांग्रेस रुपन्देहीको आयोजनामा जनजागरण अभियान अन्र्तगत जिल्ला, क्षेत्र र स्थानिय तह ब्यापी बिभिन्न कार्यक्रमहरु आयोजना गरिएको थियो । जसको समापन मंगलबार गरिएको छ । समापन कार्यक्रम अघि भैरहवाको बुद्धचोकबाट र्‍यालीमा सहभागी कार्यकर्ता तथा नेताले प्रधानमन्त्री केपी शर्मा ओली र सरकार बिरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।

समापन कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति मात्रिका प्रसाद यादव, नेपाल महिला संघ रुपन्देहीका सभापति गंगा शाही, माधव देवकोटा, हरि काफ्ले लगायतले बोल्दै कांग्रेसकै नेतृत्वमा देशले संविधान पाएकोले यसको रक्षा गर्ने जिम्मेवारी पनि पार्टीकै रहेको बताए । कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खांणको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

टिप्पणी थप्नुहोस्