भब्य बन्यो अस्पताल भवन, चिकित्सक र औषधी भने अभाव

-सिराज खान

नेपालगन्ज । बाँके जिल्लाकै सबैभन्दा दुर्गम मानिने बघौडा क्षेत्रको नरैनापुर गाउँपालिकाको लक्ष्मणपुरमा तीन करोड बढीको लागतमा भव्य अस्पताल भवन निर्माण गरिएको छ ।

त्यति ठुलो लगानीमा त्यहाँ अस्पताल भवन निर्माण गरिएपनि चिकित्सक र औषधी नहुँदा सो भवनबाट स्थानीय जनताले केही पनि लाभ पाएका छैनन् ।

यसअघि त्यहाँ रहेको स्वास्थ्य केन्द्रमा एकजना एमबीबीएस चिकित्सक र अन्य १५ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेपनि केही स्वास्थ्यकर्मी बाहेक कोही पनि गएका छ्रैनन् ।

सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईको पहलमा सो अस्पताल भवन निर्माण गरिएको जनाउँदै नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले भव्य भवनले चिकित्सक, उपकरण र औषधी पर्खिरहेको बताए ।

गतसाता मात्रै सो अस्पताल भवन उद्घाटन गर्न आएका मन्त्री राईले चिकित्सक, उपकरण र औषधीका लागि पनि छिटै पहल गर्ने जनाएको बताउँदै गाउँपालिकाका अध्यक्ष शाहले अब जनतालले चिकित्सक कुरीरहेको बताए ।

सहरी विकास मन्त्रालय अन्तर्गत रहेको संघीय सहरी विकास आयोजना कार्यान्वयन इकाई नेपालगन्जद्वारा ३ करोड १९ लाखको लागतमा सो अस्पताल भवनको निर्माण गरिएको हो ।

सो भव्य अस्पताल भवनमा आफुहरुले छिटै राम्रा चिकित्सक, आधुनिक उपकरण र औषधी हेर्न चाहेको स्थानीय मकबुल शाहले बताए । उनले चिकित्सक, उपकरण र औषधी नपठाईए करोडौ लगाएर बनाएको भवनको कुनै पनि औचित्य नरहने बताए ।

बाँकेको अतिनै दुर्गम मानिने यो क्षेत्रमा यति ठुलो भवन बनिसकेकोले त्यसका लागि चाहिने आवश्यक स्वास्थ्यकर्मी र उपकरण तत्काल पठाउनु पर्ने अधिकांश स्थानीयको माग छ ।

स्वास्थ्य संस्थाको अभावमा बघौडा क्षेत्रका जनताले बाध्य भएर भारतमा गई उपचार गराउनु पर्ने अवस्थाको अब केही समयमै अन्त हुने विश्वास बढेको लक्ष्मणपुरका स्थानीय दिनेश मौर्यले बताए । उनले भवन निर्माण भैसकेकोले अब सरकार दरबन्दी, उपकरण र औषधी पठाउन बाध्य हुने बताए ।

३ करोड १९ लाखको लागतमा बनेको नरैनापुर गाउँपालिकाको वडा नम्बर २ लक्ष्मणपुरस्थित सो अस्पताल भवन निर्माणका लागि २०६८ साल भदौ २० गते १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएपनि ८ बर्षपछि मात्र भवन निर्माण सम्पन्न भएको संघीय सहरी विकास आयोजना कार्यान्वयन इकाई नेपालगन्जका प्रमुख सुभाष बस्नेतले बताए ।

गत साता मात्रै सो अस्पतालको उदघाटन गर्दै मन्त्री राईले भवन निर्माण भैसकेकोले अब छिटै अस्पताल संचालनमा आउने बताएका थिए । उनले त्यसका लागि स्वास्थ्य मन्त्रीसंग कुरा गर्ने पनि बताएका थिए ।

सो अवसरमा बोल्दै उनले नरैनापुर हुलाकी सहरको आयोजनामा परेकोले सो का लागि अबदेखि १० बर्षसम्म हरेक बर्ष १ अर्ब बजेट विनियोजन गरिने बताएका थिए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री