नक्कली माया जालमा फसेर भारतीय कोठी र खाडीसम्म

-सिराज खान

नेपालगन्ज । यहाँस्थित नेपाल भारत नाकाबाट मात्रै एक बर्षको अवधीमा आठ सय तेतिस महिला र युवतीहरु बेचविखनका लागि बाहिरिएको पाइएको छ ।

पछिल्लो समयमा आएर महिला बेचविखनका लागि नेपालगन्ज नाकाको प्रयोग बढी भैरहेकोले यति धेरै संख्यामा महिला र युवतीहरु यसै नाकाबाट बेचविखनमा परेको आशंका गरिएको माइती नेपालले जनाएको छ ।

गत आर्थिक बर्ष २०७५/०७६ मा मात्र यो नाका भएर ८ सय ३३ महिला र युवतीहरु बेचविखनमा परेको आशंका गरिएको माइती नेपालको नेपालगन्जस्थित कार्यालयका प्रमुख केशव कोइरालाले बताए ।

गत आर्थिक वर्षमा हराएका बेपत्ता भएका र बेचविखनका लागि भारततर्फ लगिएका महिलाको खोजतलासका लागि ८ सय ३३ वटा निवेदन माइती नेपालको नेपालगन्ज कार्यालयमा परेकोले ती सबै महिला बेचविखनमा परेको आशंका गरिएको उनको भनाइ छ ।

८ सय ३३ मध्येमा १ सय ३६ जनाको उद्धार भारतका विभिन्न कोठीबाट गरिएकोले पनि अन्य समेत त्यतै बेचविखनमा परेको आशंकालाई बल मिलेको माइती नेपालका प्रमुख कोइरालाले बताए ।

यसैगरी शंकास्पद रुपमा, जोखिमपूर्ण तरिकाले भारत जान लागेका ९ सय २ जना महिलालाई माइती नेपालले नाकाबाट गत आर्थिक बर्षमा फिर्ता पठाएको पनि उनले जनाए । उनीहरु भारत छिर्न सफल भएको भए बेचविखनमा पर्ने निश्चित देखिएको कोइरालाको भनाई छ ।

माइती नेपालका अनुसार भारतीय शहरमा बेचिने महिलाहरु सामाजिक सञ्जाल र मोबाइल फोनबाट सम्बन्ध जोडिएकाहरु धेरै रहेका छन् ।

पछिल्लो समयमा दिल्ली महिला आयोग, भारतीय प्रहरी, नेपाली दुतावास, मानव बेचबिखनविरुद्ध काम गर्ने संघ संस्थाले भारतीय कोठीहरुबाट उद्धार गरिएका अधिकांश महिलालाई आफन्त तथा नक्कली माया प्रेममा पारेर त्यहाँ पुर्याएको पाइएको माइती नेपालले जनाएको छ ।

गरिबी, अशिक्षा, पारिवारिक सम्बन्ध राम्रो नभएका, दुःख पाएका र कतिपयलाई विवाहको नाटक गरेर दलालले भारत तथा खाडीमुलुकमा पुर्याउने गरेका छन् ।

‘घरमा पनि दुःख पाएकै छौँ । खाडीमा गएपनि यहाँ भन्दा के नै दुःख होला र ?’ भनेर दलालको पछि लाग्नेको पनि कमी छैन । माइती नेपाल, नेपालगन्जका प्रमुख कोइरालाले अवैधानिक तरिकाबाट खाडी मुलुकमा जाँदा महिलाले दुःख पाउने गरेको बताए ।

नेपाली युवती र महिलाहरुको जोखिमपूर्ण यात्राबाट रोक्न नेपालगन्ज नाकामा प्रहरीसहित आधा दर्जन मानव बेचबिखनविरुद्ध काम गर्ने संस्थाले काम गरिरहेका छन् । त्यसका बाबजुद महिलालाई यो नाकाबाट भारत र भारत हुँदै खाडीमुलुक पुर्याउन दलाल अझै पनि सक्रिय रहेको प्रहरीको भनाई छ ।

टिप्पणी थप्नुहोस्