बाँकेमा युरिया मलको हाहाकार

नेपालगन्ज । भदौको अन्तिमदेखि असोजको दोस्रो सातासम्म किसानलाई सबैभन्दा बढी चाहिने युरिया मल बाँकेका किसानले लामो समयदेखि पाएका छैनन् । केही समययता बाँकेमा युरिया मलको हाहाकार नै छ ।

पैसा हुनेले त भारतबाट दोब्बर बढी मूल्य तिरेर मल ल्याएर काम चलाईरहेका छन् भने पैसा नहुने किसान मल नपाउँदा उत्पादन घट्ने चिन्तामा समय विताइरहेका छन् ।

गत लामो समयदेखि बाँकेमा युरिया मल नआउँदा धान खेतीलाई आवश्यक पर्ने बेला जिल्लाका किसानले युरिया मल नपाएको गुनासो गरेका छन् । उनिहरुले समयमा मल नपाएकोले धान उत्पादनमा असर पर्ने जनाउँदै मलका लागि दिनदिनै दौडधुप गरिरहेका छन् ।

युरिया मलका लागि गत एक महिनादेखिनै किसानहरु विभिन्न सहकारी र कृषि सामाग्री कम्पनी लिमिटेडको कार्यालयमा दिनहुँजसो आउने तर मल नपाएर रित्तै फर्किने गरेको परसपुरका किसान रमेश पाठकले बताए ।

धान रोप्नु भन्दा पहिले चाहिने डिएपी मल त्यति बेला नपाइएको तर अहिले आएको जनाउँदै उनले अहिलेका लागि चाहिने युरिया मलको भने हाहाकार मच्चिएको बताए ।

पैसा हुनेले भारतबाट दोब्बर महंगोमा मल खरिद गरेर ल्याएपनि सामान्य किसानले मल नै हाल्न नपाएको पाठकको गुनासो छ । भारतबाट मल ल्याउन सरकारले प्रतिवन्ध लगाएकोले पक्राउ परेपछि मल फिर्ता नगर्ने हुँदा पैसाको नोक्सानी हुने गरेको अधिकांश किसानको भनाई छ ।

उता, अनुदानको मल वितरण गर्ने जिम्मा पाएको कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङका नेपालगन्जस्थित गोदाममा अहिले डिएपी मल भएपनि युरिया मल एक बोरी पनि छैन ।

१ सय २६ टन डीएपी मल आएको जनाउँदै कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रमेश पौडेलले तर युरिया मल भने लामो समयदेखि नआएको बताए । केही दिन भित्रै युरिया मल आउने जानकारी केन्द्रबाट आएको उनले जनाए ।

पछिल्लो समयमा आएको १ सय २६ टन डीएपी मल मध्ये आधा जति विक्रि भएको जनाउँदै प्रमुख पौडेलले तर बढी माग रहेको युरिया मल भने नआएको बताए ।

युरिया मलका लागि धेरै ठूलो संख्यामा किसानहरु कार्यालयमा आउने र नपाएर रित्तै फर्कने गरेको कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जले जनाएको छ ।

गत आर्थिक बर्षको निर्धारित कोटा भन्दा बढी मल विक्रि गरिसकिएकोले मलको अभाव भएको जनाउँदै कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख पौडेलले थप माग गरिएको बताए ।

यसैविच जिल्लाका अधिकांश किसानले युरिया मल नपाएर भौतारिने काम मात्र गरिरहेको जनाउँदै भारतबाट तस्करी गरेर ल्याईएको मल केहीले मंहगोमा खरिद गरेर प्रयोग गर्ने गरेको जनाएका छन् ।

बाँके कम्दीका किसान जयराम मिश्रले नेपालगन्जमा मल पाइन छाडेपछि भारतबाट तस्करी गरेर ल्याइएको मललाई दोब्बर मूल्य तिरेर खरिद गर्न आफुहरु बाध्य भएको बताए । भारतबाट तस्करी गरेर ल्याईएको मल महंगो हुनुका साथै गुणस्तरहीन समेत रहेको उनको भनाई छ ।

नेपालगन्जमा सात सय ९६ रुपैयाँ प्रति बोरा युरिया मल पाइने गरेकोमा भारतबाट ल्याईएको मललाई १६ सय प्रति बोरा हालेर खरिद गर्नु परेको किसानको भनाई छ ।

कृषि सामाग्री कम्पनी लिमिटेड नेपालगन्जका अनुसार युरिया मलको माग बढी हुने समय भनेको साउन भदौं नै हो । तर, उक्त मल नपाउँँदा किसान समस्यामा परेका छन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री