आईसीसीले आफैं क्यानको प्रतिबन्ध फुकुवा गर्छ

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले आईसिसीले क्यानमाथि लगाएको प्रतिबन्ध छिट्टै फुकुवा गर्ने विश्वास दिलाएका छन् ।

आईसिसीकै सल्लाह र निर्देशनअनुसार काम भैरहेकोले उनले आईसिसीले नै अब बस्ने बैठकबाट क्यानमाथिको प्रतिबन्ध हटाउने उनको दाबी छ ।

उनले भने,‘मलाई लाग्दैन् कि उसले अब पनि प्रतिबन्ध जारी राख्छ, नेपाल ठूलो सम्भावना भएको देश हो, यो कुरा आईसिसीलाई राम्रोसँग थाहा छ । आईसिसीले पनि नेपाललाई बचाउन खोजेको छ । नेपालको पक्षमा निर्णय गर्छ ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष चन्दले क्रिकेट विकासका लागि गृहकार्य थालिएको सुनाए ।

उनले भने,‘निलम्बन फुकुवाको लागि हामीले पत्राचार गरिरहनु पर्दैन्, नेपाली क्रिकेटको निकासलाई आइसिसीले दिएको रोडम्याप अनुसार नै हामीले काम पूरा गरेका छौं। आइसिसीकै निगरानीमा निर्वाचन भएकाले निलम्बन चाँडै फुकुवा हुने विश्वास छ ।’

उनले सरकारी हस्तक्षेप भएको, र स्वतन्त्र र निश्पक्ष चुनाव नभएकोले आईसिसीले क्यानमाथि प्रतिबन्ध लगाएको भन्दै अहिले आईसिसीकै निर्देशनअनुसार आफूहरुले स्वतन्त्र र निष्पक्ष ढंगले सहमतिमै निर्वाचन सम्पन्न गरेकोले अब चाँडै निलम्बन फुकुवा हुने स्पष्ट पारे ।

उनले भने,‘अन्य कुराहरु सुशासनलगायतका काम गर भनेपछि हामी गर्छौं, निलम्बन फुकुवाको लागि क्यानले प्रपोजल हाल्नुपर्ने कुरा छैन् । हामीले त आईसिसीले जे भन्यो त्यही त्यही खुरुखुरु गरेका हौं ।’

अध्यक्ष चन्दले नेपाली क्रिकेटले अब फड्को मार्ने विश्वास दिलाए । चन्दले राम्रो खेल मैदान भएपछि राम्रो क्रिकेट प्रतियोगिता हुने र राम्रो प्रतियोगिता भएपछि खेलाडीहरुले पनि राम्रो र उत्कृष्ट प्रदर्शन गर्न पाउने सुनाए ।

टिप्पणी थप्नुहोस्