रुपन्देहीका छ स्थानीय तहमा शुन्य वन क्षेत्र

-राधेश्याम विश्वकर्मा

भैरहवा । वातावरण र जलवायु परिवर्तन मात्र होइन जिवनकै लागी उपयोगी मानिने वनक्षेत्र रुपन्देहीबाट मासिदै गएको छ ।

एकातर्फ भएकै बनक्षेत्र बिकासको नाममा मासिदै गएको छ भने अर्कोतर्फ नयाँ रुखहरु संरक्षण गर्न नसक्दा जिल्ला नै वन विहीन हुने अवस्थामा पुग्न थालेको छ ।

रुपन्देहीका ६ वटा स्थानिय तहमा बनक्षेत्र त शुन्य नै छ । बिशेष गरि जिल्लाको दक्षिणी क्षेत्र वनवीहिन अवस्थामा पुगेको छ । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले रुपन्देही जिल्लामा २०७४ सालमा गरेको अध्ययन अनुसार जिल्लाको ६ स्थानिय तहमा शुन्य बनक्षेत्र देखिएको तथ्यांक पेश गरेको छ ।

वनक्षेत्र भएको भएको स्थानिय तहमा पनि अति नै न्यून वन रहेको छ । तथ्यांक अनुसार रुपन्देहीको कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका र सम्मरीमाई गाउँपालिकामा शून्य प्रतिशत वनक्षेत्र रहेको छ । मर्चवार क्षेत्रमा पर्ने यी तिनवटै गाउँपालिकामा खेतीयोग्य बिशाल फाँटहरु रहेका भए पनि जिवनदायी वन छैन ।

यस्तै रुपन्देहीकै लुम्बिनी सांस्कृतिक नगरपालिका, ओमसतिया गाउँपालिका र मायादेवी गाउँपालिकामा पनि बनक्षेत्र शुन्य रहेको तथ्यांकमा उल्लेख छ ।

ओमसतिया गाउँपालिकामा १ हेक्टरमा बनक्षेत्र रहेपनि समग्रमा यसलाई शुन्य प्रतिशतमै राखिएको छ भने लुम्बिनी नगरपालिका भित्र पर्ने लुम्बिनी बिकास कोष क्षेत्रलाई बनक्षेत्रमा गणना नगरिएको बन डिभिजन कार्यालय, भैरहवाका प्रमुख ईन्द्र प्रसाइँले बताए ।

६ वटा स्थानिय तहमा शुन्य रहेपनि भएका स्थानिय तहमा पनि बनको अवस्था खासै राम्रो नरहेको देखिन्छ । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको तथ्यांक अनुसार रोहिणी गाउँपालिकामा १७ हेक्टर अर्थात ० दशमलव ३ प्रतिशत, सुद्धोधन गाउँपालिकामा २० हेक्टर अर्थात ० दशमलव ३ प्रतिशत र सिद्धार्थनगर नगरपालिकामा ११ हेक्टर अर्थात ० दशमलव ३ प्रतिशत मात्र बनक्षेत्र रहेको छ ।

यस्तै गैडहवा गाउँपालिकामा ७ सय २६ हेक्टर अर्थात ७ दशमलव ५ प्रतिशत, कञ्चन गाउँपालिकामा १ हजार २ सय ७६ हेक्टर अर्थात २१ दशमलव ९ प्रतिशत, सियारी गाउँपालिकामा १ सय ४२ हेक्टर अर्थात २ दशमलव १ प्रतिशत बनक्षेत्र रहेको छ । जिल्लामा सबै भन्दा बढी सैनामैना नगरपालिकामा ९ हजार १ सय १५ हेक्टर अर्थात ५६ दशमलव ७ प्रतिशत देवदह नगरपालिकामा ७ हजार ३ सय ५२ ५३ दशमलव ८ प्रतिशत, बुटवल उपमहानगरपालिकामा ४ हजार ९ सय ५८ हेक्टर अर्थात ४८ दशमलव ९ प्रतिशत र तिलोत्तमा नगरपालिकामा १ हजार ३ सय ६८ अर्थात १० दशमलव ८ प्रतिशत बनक्षेत्र रहेको छ ।

जिल्लाको कुल क्षेत्रफल १ लाख २९ हजार ३ सय ६७ हेक्टर मध्ये २४ हजार ९ सय ७६ हेक्टर अर्थात कुल क्षेत्रफलको १९ दशमलव ३ प्रतिशत मात्र बनक्षेत्र रहेको छ ।

बन डिभिजन कार्यालयका प्रमुख ईन्द्र बहादुर प्रछाईले बढदो शहरीकरण तथा बिकास निर्माणको कामले जिल्लाको बन विनाशमा ठूलो प्रभाव पारेको बताए ।

उनले एक रुख काटे बापत १० वटा नया रुखहरु रोपेर यसलाई ५ बर्ष सम्म संरक्षण गरि डिभिजन कार्यालयलाई हस्तान्तण गर्नुपर्ने कानुनि ब्यवस्था रहे पनि यो ब्यवहारमा भने कार्यान्वयनमा नरहेको गुनासो गर्छन ।

अहिले जिल्लामा बुटवल–बेलहिया, भैरहवा–तौलिहवा, बुटवल–नारायणगढ सडक बिस्तार तथा बुटवल उपमहानगरपालिकाको ल्याण्डफिल साईट निर्माण, बुटवल मण्डपको सभाहल निर्माण को क्रममा हजारौ रुख काटिए पनि कानुन सम्मत रुखको संरक्षण नगरिएको उनले बताए ।

यस्तै सरकारका बैध कार्यक्रम जस्तै पुर्नवास सम्बन्धि कार्यक्रमहरु, अवैध सुकुम्वासीको नाममा जंगल फडानी गरेर पनि बनक्षेत्र मास्ने काम भएको छ ।

एका तर्फ बिभिन्न आयोजना तथा विकासका नाममा रुखहरु काटिने क्रम बढेको छ भने वन विकासमा आवश्यक पहल हुन सकेको छैन । जिल्लाको दक्षिणी क्षेत्रमा अहिले पनि बनक्षेत्र शुन्य रहेको छ । यसर्थ यहा वनको बिकल्पको रुपमा निजि जग्गा वा सार्वजनिक जग्गामा बनको विकास गर्न आवश्यक रहेको बन डिभिजन कार्यालयका प्रमुख प्रछाई बताउछन् । सरकारले अहिले बन विकास र विस्तारको नाममा निशुल्क विरुवा उपलब्ध गराउने बाहेक अन्य सेवा कार्यक्रममा समावेश गर्न सकेको छैन् ।

यसको साथै निजि वनमा रहेको रुखविरुवा ओसार प्रसारको लागी झन्झटिलो प्रक्रिया, मुल्य अभिवृद्धि कर लगायतका सरकारी नियमको कारण पनि वन विकास तथा बिस्तारमा अवरोध पुर्‍याएका सरोकारवालाको भनाई छ । सरकारी झन्झटकै कारणले पनि होला आर्थिक बर्ष २०४१/०४२ देखी आर्थिक बर्ष २०७३/०७४ सम्मको अवधिमा ८५ वटा निजिवनको करिब ९५ हेक्टर दर्ता भएको डिभिजन बनका प्रमुख प्रछाईले जानकारी दिए ।

टिप्पणी थप्नुहोस्