महरामाथि बलात्कारको आरोप : सभामुख पदबाट राजीनामा

रुपान्तरण समाचार

काठमाडौं । संसद सचिवालयमा कामगर्ने एकजना महिला कर्मचारीसंगको वार्ता ‘हाम्राकुरा डटकम’ ले प्रकाशन गर्‍यो । ती महिलाको भनाइ ‘सेन्सेसनल’ भयो ।

वार्तामा महिलाले सभामुख कृष्णबहादुर महराले आफूलाई बलात्कार गरेको बताएकी थिइन । झट्ट पढदा कसैले बिश्वास गरेन । जब समाचारका बिबिध पक्ष खुल्दै गए तब धेरै ढिलो भै सकेको थियो । महरा बदनामीको पोखरीमा टोपी समेत डुबिसकेका थिए ।

उनले आफूलाई जोगाउन आफनो सचिवालयका प्रेस सल्लाहकार मार्फत बिज्ञप्ति निकाल्न लगाए । त्यो बिज्ञप्ति मजाक साबित भयो ।

यो काण्डमा नेपाल कम्युनिष्ट पार्टीको ध्यान आकृष्ट भयो । पार्टीको केन्द्रीय सचिवालयको बैठकले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा महरालाई पदबाट राजिनामा दिने निर्देशन दियो ।

महरा काण्ड एकीकृत पार्टीका लागि पहिलो जोडदार धक्का थियो । महराको स्तरको नेता सुन्दैमा यस्तो घीनलाग्दो काण्डमा मुछिएलान भन्ने नेता–कार्यकर्ताले सोचेकै थिएन ।

‘हिजोदेखि बिभिन्न सन्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबीनका लागि अनुसन्धानगर्न सहज होस’ भनेर राजिनामा दिएका छन । उनको राजिनामा ‘कण्डिशनल’ देखिन्छ ।

राजिनामाको भाषाबाट थाहा हुन्छ : यो काण्डमा प्रहरीको अनुसन्धान सकिएर आफूले सफाई पाउने कुरामा महरा बिश्वस्त छन । त्यसपछि उनी पदमा फर्किने मनस्थिति देखिएकोछ राजिनामामा ।

महराले आफनो राजिनामामा उनको चरित्रमाथि के कारण देखाएर प्रश्न उठाइयो ? त्यसको उल्लेख गरेका छैनन । ‘महराको संलग्नतामा’ भएको यो काण्डबाट महरालाई अलग गराउने प्रयत्नहरु भै रहेकाछन ।

महराले राजिनामामा आफू ‘चोखिएपछि’ सभामुखमा फर्किने बाटो बनाइ राखेका छन । तर, जसप्रकारको ‘काण्ड’ मा उनको संलग्नता देखिएको छ त्यस काण्डले उनको अनुहारमा पोतेको कालो दाग मेटिन सक्दैन ।

कानूनी प्रक्रियाबाट महराले उन्मुक्ति पाएपनि सर्व साधारण मानिसको मनमा उनीप्रति सहानुभूति पलाउन सक्दैन ।

महरालाई ‘चोखो’ देखाउने प्रयत्न शुरु भै सकेका छन । ‘आस्था’ को नाममा ट्विटर चलाउने जनयुध्दमा सक्रिय महिलाले ट्विट गरेकी छिन ।

पीडित भनिएकी महिलाक यस अगाडि पनि यस्ता घटनाहरु भएका थिए । दाङ जिल्लामा साँस्कृतिक बिचलनमा परेर दाङ पार्टीले (तत्कालिन एमाओवादी)कारवाही गरेको पनि हो । उनी डिप्रेसनको बिरामी पनि हुन् सुसाईडको कोसिस गरेर १४ दिन सिभिल अस्पताल बसेको पनि कुरा आएको छ । हचुवामा धारणा नवनाउँ ।

आस्थाको यो ट्विटमा आएका थुप्रै प्रतिक्रिया नकारात्मक छन । आस्थाले बीच बीचमा महराको बचावको निकै कोशिश गरेकी छिन ।

राजनीतिक हिसावले महरा जनयुध्दकालीन माओवादी पार्टीभित्र उदार ब्यक्तिका रुपमा चिनिएका थिए । उनी देशभित्रका बिभिन्न शक्तिसंग वार्तामा संलग्न थिए ।

माओवादी अध्यक्ष ‘प्रचण्ड’ का बिश्वासपात्रहरुको सूचिमा उनको नाम माथिल्लो लहरमा आउँथ्यो । चीनियाँ कम्युनिष्ट पार्टीका नेता र अधिकारीहरुसंग महराको सम्बन्ध निकै ब्यबहारिक र सुमधुर रहेको बताइन्छ ।

शान्ति सम्झौतापछि पनि महराको भूमिका मध्यमार्गी नै तोकियो । स्व.गिरिजाप्रसाद कोइरालाले पुनस्र्थापित संसद र सरकारमा माओवादीको प्रतिनिधित्व गराउँदा महरा मुख्य प्रतिनिधि थिए । शान्ति सम्झौतापछि क्यान्टोनमेन्टमा राखिएका माओवादी लडाकुहरुको संख्या बढाएर सरकारसंग अरवौं असूल गरेको काण्डमा महरा मुछिएका थिए ।

नेपाली समाजका प्रतिनिधि पात्रसंग महराको जान–पहिचान र संगत निकै ब्यापक थियो । एमाले र माओवादीको एकीकरणमा महराले खेलेको भूमिकाकै कारण उनलाई सभामुख बनाइएको थियो । पछिल्लो समयमा सभामुखको रुपमा उनको भूमिका निष्पक्ष रहन नसकेको आरोप बिपक्षले लगाउँदै आएको थियो । उनको छवि बिबादास्पद बन्दै गएको थियो ।

महरा काण्डले नेपालका राजनीतिकर्मीको नैतिक स्तर गिर्दै गएको देखाएको छ । स्थानीय र प्रादेशिक तहमा यस्ता घटना ब्यापक भएको प्रहरीको रेकर्डबाट देखिन्छ । सभामुख जस्तो महत्वपूर्ण पदमा आसिन ब्यक्ति अनैतिक काममा मुछिएको यो पहिलो पटक हो । पन्चायत कालमा स्वास्थ्यमन्त्री बद्री मण्डल यस्तै काण्डमा फँसेका थिए ।

टिप्पणी थप्नुहोस्