बैंकबाटै नक्कली नोट वितरण !

-सिराज खान
नेपालगन्ज । जब बैंकले नै नचिनेको जनाउँदै नक्कली रुपैंयाँ सर्वसाधारणलाई वितरण गर्छ भने अन्यले कसरी चिन्न सक्छन कि कुनै पनि नोट नक्कली हो कि सक्कली ?

नेपालगन्जमा यस्तै भएको छ । यहाँ रहेको एक निजि बैंकले नै सेवाग्राहीलाई नक्कली नोट वितरण गरेको पाइएको छ । यहाँस्थित सिद्धार्थ बैंकको स्थानीय शाखाबाट चेक साटेर लिएको रकममा एक हजारको एउटा नक्कली नोट फेला परेपछि बैंकले पनि यस्तो लापरवाही गर्छ भन्ने कुरा बाहिर आएको छ ।

सो बैंकबाट चेक साटेर लिएको १ हजार दरको ५० वटा नोट मध्येबाट एउटा नोट नक्कली फेला परेको हो । नेपालगन्जको धम्बोझीस्थित सिद्धार्थ बैंकबाट चेक साटेर ल्याएको पैसा नेपाल ईन्भेष्टमेण्ट बैंकमा जम्मा गर्न जाँदा बैंकले नक्कली नोट भनेर फर्काएपछि मात्र एउटा नोट नक्कली रहेको थाहा भएको थियो ।

छ २२ ०६३८१८ सिरियल नम्बरको एक हजारको नोट नक्कली भएको आशंका गर्दै नेपाल ईन्भेष्टमेण्ट बैंकले उक्त नोट परीक्षणका लागी नेपालगन्जस्थित नेपाल राष्ट्र बैंकमा पठाएको थियो । राष्ट्रबैंकले उक्त नोट नक्कली भएको प्रमाणित गरेपछि सो नोट नक्कली रहेको पुष्टी भएको हो । साथै राष्ट्र बैंकले उक्त नोटलाई जफत समेत गरेको छ ।

सिद्धार्थ बैंक नेपालगन्ज शाखाका प्रमुख मेघनाथ ढकालले सकेसम्म सेवाग्राहीलाई नोट दिदा हेरेर र चेकजाँच गरेर नै दिने गरेको जनाउँदै तर चाडवाडको बेला बैंकमा भिडभाड हुने हुँदा बाहिरबाट जम्मा हुने रुपंयाँमा त्यस्तो नोट आएको हुनसक्ने बताएका छन् ।

उनले कर्मचारीले ध्यान नदिंदा त्यस्तो भएको बताएका छन् । उनले आफ्नो बैंकमा कसरी सो नक्कली नोट आयो आफू आश्चार्यचकित भएको पनि बताए ।

बैंकका शाखा प्रमुख ढकालले गल्ती कमजोरी बैंककै कर्मचारीको भएको भन्दै भिडभाडको बेलामा ध्यान नदिई सेवाग्राहीलाई भुक्तानी दिंदा यस्तो त्रुटी भएको र भविष्यमा त्यस्तो त्रुटी हुन नदिने प्रतिवद्धता गरेका छन् । बैंकले नै राम्ररी चेकजाँच नगरेर सेवाग्राहीलाई भुक्तानी दिंदा नक्कली नोट पाएपछि सेवाग्राही मर्कामा परेको स्थानीयको गुनासो छ ।

यसैविच नेपालगन्ज उद्योग बाणिज्य संघले बैंकबाट नै यस्तो कुरा हुने हो भने अरुले कसरी नक्कली र सक्कलीको पहिचान गर्ने भनि प्रश्न गर्दै बैंकहरु यस बारेमा सचेत हुुनपर्ने आवश्यकतामा जोड दिएको छ ।

संघका अध्यक्ष नन्दलाल वैश्यले बैंकले रकम लिंदा र वितरण गर्दा सही तरिकाले ध्यान दिएर पैसालाई राम्ररी हेरेर मात्र सेवाग्राहीलाई दिन र लिन आग्रह गरेका छन् । उनले यो घट्नाबाट नक्कली नोट बजारमा आएको समेत पुष्टि गरेकोले सचेत रहन सबै उद्योगी व्यापारी लगायत सर्वसाधारणलाई समेत अनुरोध गरेका छन् ।

टिप्पणी थप्नुहोस्