काँग्रेसका ३२ जना नेता कार्यकर्तालाई स्पष्टीकरण माग

नेपालगन्ज । नेपाली काँग्रेस बाँकेका सभापतिसहित ३२ जना नेता कार्यकर्तासंग अन्तर्घात गरेको सम्बधमा स्पष्टिकरण माग गरिएको छ ।

नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले गत निर्वाचनमा अन्तर्घात गरेको आरोपमा बाँके काँग्रेसका ती स्थानीय नेता कार्यकर्तासँग लिखित स्पष्टीकरण माग गरेको हो ।

बाँकेबाट पर्न गएका उजुरीको आधारमा अनुशासन समितिले विगतमा भएको स्थानीय तथा संघ एवं प्रदेश निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोप उनिहरुमाथि लागेकोले स्पष्टीकरण सोधिएको हो । बाँकेका करिब ३२ जना नेता कार्यकर्ताले केन्द्रबाट पठाईएको स्पष्टीकरणको पत्र बुझेको काँग्रेस बाँकेका सचिव तप्त पौडेल बताएका छन् ।

जिल्ला पार्टी सभापति किरण कोइराला देखि पूर्व क्षेत्रीय सभापति महेन्द्र मल्लसँगै सचिव तप्त पौडेल लगायतका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी एवं जिल्लास्तरका नेतृत्वकर्तासँग अन्तर्घात बारे स्पष्टीकरण सोधिएको छ ।

जिल्लाका सबै करिब ३२ जनाले स्पष्टीकरण दिनका लागि केन्द्रबाट आएको स्पष्टिकरणको पत्र बुझिसकेको सचिव पौडेलले जनाए ।

बाँके क्षेत्र नं. १ मा तत्कालित स्थानीय निर्वाचन र संघ तथा प्रदेश निर्वाचनमा पार्टीका आधिकारीक उम्मेद्वारहरुलाई असहयोग गरी अन्तर्घात गर्ने तेह्र जना नेताहरुलाई उजुरीको आधारमा स्पष्टिकरण माग गरिएको बाँके काँग्रेसले जनाएको छ ।

बाँके क्षेत्र नं. १ का नेताहरु नारायण गौडेल, युवराज पौडेल, पूर्ण आचार्य, विरेन्द्र शाह, नम बहादुर आले लगाएतका एक दर्जन नेता कार्यकतालाई केन्द्रिय अनुशासन समितिले अन्तर्घात गरेको हो कि होइन पुष्टी हुने कारण सोधेर पत्र काटेको छ ।

यसैगरी अन्य क्षेत्रका नेताहरुसंग पनि स्पष्टिकरण माग गरिएको छ । केन्द्रीय अनुशासन समितिले स्पष्टिकरण सोधेको विषय नितान्त पार्टीको आन्तरिक मामला भएकाले त्यसमा धेरै टिका टिप्पणी गर्न नमिल्ने काँग्रेस बाँकेका सचिव पौडेलको भनाई छ ।

उनले स्पष्टीकरणका लागि पत्र पठाईएका करिब सबैले पत्र बुझी सकेको र निर्धारित समय सिमाभित्र स्पष्टीकरण लेखेर पठाउने बताए ।

नेपाली काँग्रेस पार्टीभित्र पछिल्लो समयमा आएर चरम गुटबन्दी र अनुशासनहिनताको अवस्था बढ्दै गएपछि काँग्रेसले केन्द्रीय सदस्य भीष्मराज आङदम्बेको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको थियो ।

सो समितिले जिल्लाहरुबाट प्राप्त उजुरीका आधारमा नेता कार्यकर्ताहरुसंग स्पष्टिकरण सोध्ने कार्य शुरु गरेको छ । यसले पार्टीभित्र गुटबन्दीलाई झन बढाउने एकथरिको प्रतिक्रिया छ भने अर्कोथरिले यसबाट पार्टीमा अनुशासन कायम हुने जनाएका छन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री