झोले

-पुण्यसागर मरहट्टा
कुमारजीले अगस्त्यमुनीलाई आज्ञा भएझैं म आज्ञा गर्छु, सुन्नुहोस् । ध्यानपूर्वक सुन्नुहोस् ।

सबैका स्वास्नी उस्तै हुन की मेरी मात्र यति कर्क़सारु जहिल्यै भन्छे- तिमी सोझो भएकाले नामुद जडयाहा बन्ने प्रकृयामा छौ । थुइक्क तिम्रो मति ? ! मेरो स्टेण्डबाई जवाफ छ- सिर्जना, सर यति त जान्छ भनेपछि म पालुङ्गो जस्तो लुपुक्क परिहाल्छु । थाहा छ, तिमीलाई मन पर्दैन भनेर तर साथीभाईलाई टार्न सक्दिन । उ भूतभूताउछे- कतीखेर घर आईपुगियो, कसले घर पुऱ्यायो भन्ने होस समेत नहुने गरी धोकेर खुब साथी कमाएँ भनिठानेको होलाऊ, तिम्रो सोझोपनको फाईदा उठाएका हुन तिनले। मनमनै सोच्छु- यी आइमाईहरु आफ्ना लोग्नेलाई झपार्न पाए आफुलाई दुर्गा माता सम्झिन्छन । के नै बिग्रेको छ र तर ? २/४ ज्याकेटका बाहुलामा गोडा दशेक भ्वाङ्ग परेका न हुन ? एक दुई बाजी भित्रै र ७/८ पटक दैलोमैं छादेकोमा एकराते पछूतो बाहेक मलाई कुनै ग्लानि थिएन, छैन ।

तर हिजो चाहीं अली बेसी नै भएको जस्तो लाग्यो। बेसी यस अर्थमा कि आज बिहान उठ्दा टाउको टनकटनक टन्केको छ, उल्टी आउला जस्तो भएको छ । चुरोट खान समेत मन छैन, त्यसले एकाबिहानैको नित्यकर्ममा समेत बाधा पुर्याएको महशुश भएको छ। त्यसो भन्दैमा ग्लानि त रतिभर छैन, हुनु पनि किन ? हिजो त बिष्ट काजीको प्रायोजित पिलाई पिएको जो हो । उनी अब एक तह माथि उक्ले रे जागिरमा, त्यसैको सेलिब्रेसन रे त, आफ्नो चुन्दाम खर्च भएको होइन क्यारे१जमेर पिउँ सर, घर पुर्याउने जिम्मा मेरो भनेकै हुन् ।

आज म यहाँ छु, गर्धन फ़ुलाएकि मेरी दुर्गामाता यहीं छिन, मोबाइल फुटेको छैन, हराएको हैन, साथैमा छ, अरु त अरु वालेट र त्यसमा भएका नगद, बिजनेस कार्ड, ब्याङ्क कार्ड सहि सलामत छन् , अब मैले चिन्तित हुनु पर्ने कारण केरु यी सिर्जनाको गर्धन फुल्नु पर्ने कारण के ? कतै चोटपटक भएको भए एउटा कुरा, लडेको पनि त होइन। किन रिसाई यो कर्कसा ? हिजै राति सोधेकी जस्तो लाग्छ- कोसंग आयौ ए जड्याहा भनेर ? अलि मातेको सुरमा तँलाई किन चाहियो भनेको थिएँ शायद त्यसैले पो रिसाई कि ? तर, कस्स्म मलाइ नै थाहा छैन कसरि आइपुगें भनेर, म के जवाफ दिउँ त ?

त्यस्ता केहि गजबका घटनाहरु छन् जसले सम्झनाको पर्दामा केहि धर्का कोरेर बसेका छन्। ति जे जस्ता छन्, ग्लानि महशुस गराउन पर्याप्त छैनन। दिल्ली पढ्न जाँदाको कुरो। पहिले त निजी खर्चमा पढ्न जाने हामी जस्तालाइ पकेट खर्चले कहिल्यै पुगेन, पुग्दैन पनि । त्यसमाथि खसीको मासु किनेर पकाएर खान त झन् के कुरो ? त्यसैमाथि दारु पिउनरु अहो, मासुको सितन र देशी दारु, यो हाम्रो सपना थियो। तर भारु भाषा मै भन्ने हो भने जुगाड गर्ने हाम्रो अद्भुत तरिका थियो। साथी रमेशले जानेको त्यो तरिका सहज थियो, कुनै बगरे कहाँ गएर उसले आँटीकुटी, आन्द्रा भुँडी किनेर ल्याउथ्यो। त्यसको भुटुन बनाएर खान हामीले जानिसकेका थियौं ।

आइएस्सी पढ्ने बेलामा त्यो र अटोवाला भैयाले जर्किनमा ल्याइदिने घरपालुवा रक्सी र रमेशको जुगाडु वाला मासु, काँचो प्याज, अलिकति दालमोठ, मुरै-आहा, सम्झिँदा अहिले पनि मुखमा पानी आउछ। टाइम्स अफ इण्डियाको पातोमा स्न्याक्स, ससाना इस्टिलका गीलाँस, थम्प्स अपका शिशी, रमेश, म, रघु, सुनिल, करिब झुत्रिसकेको बाउन्न पत्ती, कल्ब्रेक अनि सोमरस-आहा ति दिन ! कल्पनामा यो शोभा खोटे जस्ती सिर्जना पनि हुन्नथी, रविना टन्डन, माधुरी दिक्षित, जुही चावला हुन्थे। हामी चार भाई मस्त मातेका छौं, डेरामा नै छादेका छौं बिभिन्न देशका नक्शा आकारमा । कुनै ग्लानि थिएन। तिनताक नै एकबाजी मेरा मामा माइजु दिल्ली हुँदै पुट्टपर्थि तिर्थ जाने गरी आउनु भयो । घरबाट आमाले पठाइदिनु भएको झिलाएँ, अर्सा र हर्लिसको सिसीमा एक सिसी घ्यु, एक सिसी खल्पी अचार पनि ल्याइदिनुभयो। मामाको बर्घाट तिर उबेलै ठुलो बेपार थियो ।

मामाले पनि लौ भान्जा, भिनाजुले पठाइदिनु भएको १ हजार भारुमा थप एक हजार मेरो तर्फ बाट लिनुस् भनेर पैसा हातमा पार्दिनुभयो। अहो, टिप्टिपे बजेटमा मुनाफाको अङ्क, हाम्रो त पार्टी जम्ने बहाना बन्यो नै। रमेश र म सर्जाम जोर्जाममा लाग्यौं। चाँदनी चोकको एउटा गल्लीमा एक बगरे मियाँको दुकान अघि पुगेपछि हामीलाई देख्नासाथ मियाँले आफ्नो छोरालाई अह्राए- याकुब, कुत्तेके लिए दो किलो निकाल के ले आ फ्रिज्से ! मैले सोचें- मियाँ छोट्टा टाइपको रहेछ, नेपालीलाई त कुत्ता भन्दो रहेछ। यतिकैमा रमेश बोल्यो- ना ना अङ्कलजी, इस्बार हम खुद खाएंगे, कुत्तेको कुछ हड्डीया काफी पड़ेंगे । मैले बल्ल बुझें- रमेशलाइ त्यसैपनि आन्द्राभुँडी खान्छौं भन्न दकच रहेछ र कुकुरको लागि भनेर सस्तोमा वा कहिलेकही त फोकटमा बोकेर आउदो रहेछ। मैले उसलाई सोधें- ओइ मुला, तैंले सित्तैमा आँटीकुटी ल्याएर हाम्रो पैसा घपला त गरेको छैनस नि ? उसले बिद्यानाश भनेपछि पत्याएँ ।

विद्यार्जनका लागि घर परिवार छोडेर आएको मुलाले के ढाट्यो होला र जस्तो लाग्थ्यो उतिबेला, अहिले जब उ ठुलो नेता बनेको देख्छु, साथी उबेला देखिनै चम्बु रहेछ भन्ने थाहा पाएको छु । मामाले दिनुभएको हजार भारुले त लर्तरो दारु पिउने कुरो पनि थिएन। चाँदनी चोककै लव्ली देशी दारुका दुकानमा लाइन लाग्न गइयो। जब लाइनको मुखमा पुगियो, ६ फुटे सर्दारजीले आँखा तरेर सोधे- तुहानु कि चाहुंदा है ? दवेको आवाजमा रमेश र म दुबैले जी, देशी दारु भन्यौं । सर्दारजी निहुरिए, केहि क्षण उनको पिठ्यूँ मात्र देखियो, जब सदृश भए, दारुको साटो एक पाना लिएर आए । पहिम इसानु भरो भनेर तेर्स्याए । फारम रहेछ। फारमको सबै भन्दा माथि शराविका नाम लेखिएको थियो, रमेश र मैले मुखामुख गर्यौं । मेरो नाम, उसको थर हाल्ने गरी मैले नै लेखें-शान्तनु थापा ।

उम्र- १९, वतन, सिलिगुडी, प. बङ्गाल। शराविका बापका नाम समेत आयो फारममा, अब भने हाम्रो नौ नाडी गल्यो, कसको नाम लेख्नु लौ ? अ प्रा मेजर रण बहादुर थापाको नाम लेख्नु कि श्रीपाँचको सरकारका बहालवाला सहसचिव श्यामनाथ शर्मा बजगाईंको ? यो धर्मसंकटको भुमरीमा नफस्ने निधो आखाँको इसारामा गरेर हामी फरार भयौं। सर्दारजी गल्लीको डेउडिसम्म  मुण्डिया नु कि होया ? रुक्क, ओई। भन्दै आए, हामी बेतोड भाग्यौं। हामी बाहरुलाई शरावीका बाप बनाउन तयार थिएनौं। डेउडिबाट अलि छेलिएपछि गुरुको पान दुकान्को फोनबाट अटोवाला भैयाको घरमा फोन लगाइयो। उबेला अहिले जस्तो हात हातमा मोबाइल थिएन, भाभीजी ले फोन उठाइन, हाम्रो भैयाजी घरमा के हुन्थे ? तर भाभीजिलाई आफ्नो बिन्ति बिसाइयो, नेपाली लड़केको जर्किनवाली दवा लेजानेका भनेर रटाइयो ।

डेरा पुगेर फलमासु भुट्न नसकिंदै अटोको आवाज आयो, हाम्रो आँत हर्हरायो। त्यो रात पनि कल ब्रेक खेलियो, धोकियो, औकात र क्षमता अनुरुप भारत, अमेरिका, अष्ट्रेलिया, चीनका नक्सा जस्ता उल्टी गरियो। सबै भन्दा रोचक उल्टी रघेले गर्यो। पुरै इटालीको जस्तो, उठेर ट्वाइलेट जाँदै गर्दा, रोक्न नसकेर लमतन्न लम्मिएको थियो उसको नक्सा । निश्चय नै, अधिकांशलाइ ग्लानि हुने घटना मद्दे प्रतिनिधि घटना हो यो, तर हामि त्यस्तै थियौं, हामीमा न उबेला ग्लानि थियो, न अहिले ग्लानि भयो सुनाउँदा ।

त्यो दिल्ली हुँदाको कुरो भयो। पछि बाउको पैसामा हामी चार भाई मद्दे रघु र म फिलिपिन्स पुगियो सल्लाहैले। बाहरु हामीलाई डाक्टर बनाउन चाहन्थे, हाम्रो त्यो क्षमता थिएन वा सम्भावना टुटिसकेको थियो। स्पोर्ट्स डाक्टर हुने भनेर गयौं। किशोरावस्थामा लागेको बानी पछि कसरी छुटोस र ? मेट्रो मनिलाको क़ुएशोन सिटीमा अवस्थित युपी डिलिमानमा भर्ना भए देखि पढाई थोर, धोकाइ धेर गर्दै गर्दै कसो कसो उम्कियौं। त्यहाँको एउटा घटना त दर्दनाक छ छनलाई। म त त्यतिखेर लेट इभिनिंग क्लासमा थिएँ। रघेले फुल स्विङ्ग वा फ़िट्टु अवस्थामा सिङ्गै कुखुरा काट्न लागेको रहेछ। धारिलो चुप्पीले कुखुरोको तिघ्रा छुट्याउछु भन्दा आफ्नै हातमा हानेर झन्डै देब्रेहातको बुढी औंला छिनाएन छ, आफैं टेपले तानतुन पारेको औँला बोकेर नजिकैको अस्पताल गएछ । डाक्टरहरुले जोडजाड पारेर पठाईदिएछन। मलाइ देख्नासाथ बह फुकाएर रोयो र भन्यो-शान्ते, मलाई अब पुग्यो, म अब धोक्दिन। प्रष्ट सम्झना छ मलाई, तिन हप्ता उसले पिएन । म पिउथें, उ थुक निल्थ्यो। तिन हप्ता पछि जब उसको घाउको पट्टी खोलियो, उ उत्साहित भयो र हामीले सेलिब्रेट गर्न जरुरी ठान्यौं। र निरन्तर विभिन्न देशका नक्सा बनाउने कर्ममा लागीरह्यौं । भित्रका अङ्ग अवयव के थिए थाहा भएन, बाहिर सारस्वाउँदा थियौं। लास्ट एअर नपुगुन्जेल म अल्लारे नै थिएँ, तर जब लास्ट एअरको जाँच आयो, मैले सबै उतारें, रघेले सकेन।

नसक्नुको कारण उही थियो-धोकन कर्म। मैले सो कर्ममा नियन्त्रण गर्न सकें, उसले सकेन । म नेपाल पुगेको थाहा पाएपछि रघेको आमा र मामा मलाई भेट्न आउनुभयो। अन्य भलाकुसारी सँग रघे किन आएनरु भन्ने पेचिलो प्रश्न आउथ्यो भन्ने पूर्वानुमान थियो नै, आयो । विपद पूर्वतयारी त मेट्रो मनिलामा मैं भैसकेको थियो हाम्रो- मैले सहज तरिकाले बताएँ रघुको प्रोफेसरले उसलाई त्यहीं चार महिना पढाइ सम्बन्धि काम दिने भएकाले अन्तिम परिक्षा सर्यो, त्यो सक्नासाथ आउनेछ। औसतमा आमाहरु सोझा हुन्छन, पत्याइदिनुभयो । रघुको आमालाई त्यतिखेर फटाहा बोल्दा समेत मलाई ग्लानि भएन। किनभने, मलाइ लाग्थ्यो, त्यसो गरेर मैले साथीको हित गरेको छु।

यो पालि भने रघु निर्धारित समयमा नेपाल आयो। मलाई गैह्रिधाराको कुनै एक दोहोरी रेस्टुरेन्टमा बोलायो। दुइभाईले मस्त धोकियो। राति दोहोरी पनि अलि फोहोरी हुँदै गयो, हामीलाई पनिमात धेरै हुँदै गयो, म त ठिकै थिएँ जस्तो लाग्छ, रघुले एकजना गायिकाको कम्मरमा चिमोटिदिएछ, हामीलाई त्यहाँबाट खेदियो। हामी आ-आफ्ना घरमा गयौं। म त लुसुक्क सुतेंछु, रघुले घरमा बितण्डा गरेछ। रघुका बाले मेरा बालाई आधारातमा फोन गरेर तथानाम भनेछन।

किनभने, बितण्डाको सुरमा रघेले शान्तनुको बर्थडे पार्टी मनाएको, अलि बढी भएछ भनेको रहेछ। मेरो जन्मदिन आउछ जेठमा, यो कुरो हो पुषको। यसमा त बाको गाली उति चर्को थिएन पनि, भन्नुभाको याद छ-पायो भनेर आँखा नहेरी धोक्ने पनि उ , जेठको मेरो छोरोको पुषमा जन्मदिन मनाउने पनि उ, कसो मरेनछ गाडीले हानेर। मलाई यो घटनामा रत्तिभर ग्लानि महशुश भएन। बरु रघु त्यसपछि टाढियो र अन्तत: सम्पर्कबिहीन भयो।  रघु त अहिले त्रिपुन्ड़पधारी ज्ञानी, सन्त भएको छ रे।

अरुलाई के भयो थाहा भएन, मलाई माओवादी लडाईले छोएन। म एकबाजी आफ्नै लहडले अमेरिका आएँ र नफर्किने निधो गरें। अनेकानेक जालझेल, छल, कपट, धुर्त्याई, फट्याई गरेर लुकें। नेपाली काँग्रेसलाइ जति घृणा त म आफ्नै छोरीको बलात्कार गर्ने बाउलाई पनि गर्दिनथें तथापि नेपाली कांग्रेसको नक्कली लेटर प्याडमा माओबादीको प्रताडनामा परेको भन्ने कागज बनाइन किरु माओबादी भएकाले नेपाल फिर्यो कि सरकारले मार्छ भन्ने चिट्ठी पो बनाइन कि ? यी सबै कुरा गर्नुको कारण यतै अलमलिनु मात्र न थियो, त्यो गरियो । अब त हाइसन्चो छ। लन्ठांगलुन्ठुंग गरेर हेल्थ केयर एडको सर्टिफिकेट उतारें। त्यो भन्दा अघि म्याकडोनाल्डमा घण्टा पनि हानें । यता आउने नेपाली नेताहरुको स्वागतार्थ एरपोर्ट जान भ्याएकै छु, खादा लगाइदिन पाएकै छु । समुदायका केहि साथीहरु दाहिना छन्, सर भन्छन, नेता बनाउछन, नेता पनि बनेकैछु। तारे देखि झारे होटेल सम्म चाहारेकै छु, पिउन अलिक बेसी हुन्छ कहिलेकाहीं, नक्शाङ्कन पनि हुन्छन यदाकदा, त्यो सामान्य हो तर कुनै ग्लानि, क्षोभ, कुण्ठा छैन।

उसो त अलि अघि एकजना हाम्रै समुदायको एकजना दिदि उपर मापसेकै शुरमा सामाजिक सन्जालमा अनापसनाप लेखेछु। ति दिदी को हुन् , कहाँबाट आइन, किन आइन, त्यो भन्दा धेरै पर कतै मलाई सार्वजनिक रुपमा आक्रमण त गरिनन भन्ने किन लाग्योरु गरेकी केहि थिइनन- केवल मस्तसँग हामीजस्ताको छारो उडाएकी थिइन्। तिनको तर्कशक्ति, आफुलाई प्रस्तुत गर्न सक्ने खुबी, एउटा आभायुक्त व्यक्तित्व केहि पनि त थिएन। शायद मलाई एउटा शव्द नै खल्यो, काफी थियो त्यो शव्द। झोले-अहो, कति कडा शव्द, मेरो व्यक्तित्वलाई सर्वाङ्गिण हिसाबले परिभाषित गर्न सक्ने शक्तिशाली शव्द ।

शायद त्यो शव्दले नै म तिल्मिलाएको हुनुपर्छ। झोले त हुँ म, इतिहास बताएँ नि आफ्नो, कत्ति ग्लानि छैन भनें पनि। अचेल मेरा साथीहरुले मलाई सुझाव दिन्छन- शान्तनु सर, तपाईं कि नपिउनुस, कि सामाजिक सञ्जालमा टिप्पणी नगर्नुहोस्। हस् भन्छु, अधिकतर मानेकै हुन्छु तर जब मापसे गर्छु, म अर्कै हुन्छु। मापसे पछि सामाजिक सन्जालमा पस्छु, टिप्पणी गर्छु, आफ्नो वजन र उचाई दुवै घटाउछु। यद्यपि ग्लानि कत्तिपनि छैन। किनभने मैले न शारीरिक न त आर्थिक अपव्यय भोगेको छु।

पर्खिनुस है, एउटा फोन आयो।

ए, फोन गर्ने उता क्यालिफोर्निया तिरका गाउँले दाजु कल्याण रहेछन। तहाँ उपरान्त कल्याण दाजुले नितान्त फरक कोणबाट जीवन देखाइदिए। भने-शान्तनु, कान्छा छौ, भाई भनें। मानिसको शारीरिक र सामाजिक स्वास्थ्य हुन्छ। तिम्रो पनि छ मेरो पनि छ। मेरो शारीरिक स्वास्थ्यमा बाधा छ । सुर्तीजन्य वा मदिराजन्य कुनै पदार्थ सेवन नगर्दै पनि म बिहान बेलुकै एक एक फाँकी ओखति खाने अवस्थामा पुगेको छु। सुन्छु, तिमी त स्वस्थ छौ । नभेटेको पनि जुग भयो, तथापि तिम्रा सामाजिक सन्जालका टिप्पणी पढ्छु, प्रस्ट हुन्छ, तिम्रो सामाजिक स्वास्थ्यमा जटिल समस्या छ। तिमीलाई लाग्दो हो, तिमीलाई ग्लानि छैन, कुण्ठा छैन। छ भाई, देखिन्छ । मैले पढेको साइकियाट्रीले त्यसै भन्छ। लौ, अरु के भनौं ? सिर्जनालाइ धेरै धेरै सम्झेको छ भन्दिनु, राखें अहिले !

तपाइंलाई यो कथा सुनाउंदै गर्दा सोच्दैछु- कल्याण दाजुले किन फोन गरे ? किन आफ्नो एकोहोरो प्रलाप गरेरु किन मेरो कुरो सुन्ने धैर्य राखेनन्रु हल्का रिस उठ्यो-एक पेग ज्याक द्यानिएल खपत हुने जति। अहिले हजुरसँग भएकोले मात्र, नत्र चार कुड्का आइस, भादिलालको पिरो भुजिया, एउटा गिलास र ज्याक ड्यानियल त सदैव साथ छन् त मेरा।

तपाईंलाई कथा सुनाउंदैछु तथापि कल्याण दाजुका कुरा घुमिघुमी आइरहेकाछन्। अलि अगाडी तिनै दिदीले सार्वजनिक सभामैं झोले मात्र भनिनन्, अत्याधिक मापसेका कारण लिभर सिरोसिस भन्ने प्राणघातक रोग समेत लाग्छ भन्ने बताएकी थिइन्। चांडै थकाइ लाग्नु, बिना कुनै कारण नाकबाट रगत आउनु, छालामा भित्र पट्टि बाटै मसिना नशा देखिनु, पुरुषको छाती महिलाको जस्तै देखिनु, पुरुष जनेन्द्रिय टाक्सिनु अनि यौनेच्छा घट्नु, एकतमासले सास गन्हाउनु, आँखा र अन्य अङ्ग पहेंलिएर जानु, पिसाब समेत सँधै पहेंलो हुनु जस्ता सयकडा नब्बे लक्षण त देखिएकै छन् ।

उसो त मैले काम गर्ने नर्सिङ्ग होममा अस्ति भर्खर एउटा ४३ बर्षे जो मर्यो, उ पनि अत्यधिक मापसेका कारण कलेजो सम्बन्धि रोग लागेर नै हो। तपाइंलाई यो कथा सुनाउञ्जेल सम्म कुनै ग्लानि थिएन, अझै छ जस्तो लाग्दैन तथापि कल्याण दाजुले किन उतिपर देखि फोन गरेर सामाजिक स्वास्थ्यको कुरो सुझाए ।

अस्तिको त्यो कार्यक्रममा ती दिदीले किन लिभर सिरोसिसको कुरो त्यसरी राखिनरु मैले कल्याण दाजुसँग रिसाउनुको पनि अर्थ छैन, सामाजिक संजालमा ती दिदीको धज्जी उडाउनु, तिनलाई मैले जानेको छु भनेर डुक्रिनुको पनि अर्थ छैन। लाग्छ, मैले अब एक पल्ट होल बडी चेक गराउनु पर्छ, ओखतिमुलो गर्नु पर्छ र बाँकी जीवन सिर्जनाको बोलीमा मिठास फर्काउन लाग्नु पर्छ। कल्याण दाजु ठिक छन् –जतिञ्जेल हामी बाच्छौँ, हाम्रो शारीरिक र सामाजिक स्वास्थ्य तन्दुरुस्त रहनै पर्छ। झोले त हुनु हुँदैन।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री