महरा-शाही प्रकरण : सत्ताको आडमा घट्नालाई मोड्न मिल्दैन

काठमाडौं । नेपाल बार एशोसिएसनका महासचिव लिलामणी पौडेलले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपको बारेमा स्वतन्त्र र निष्पक्ष छानविन भएर सत्य, तथ्य बाहिर आउनुपर्ने बताएका छन् ।

पौडेलले उक्त घट्नाबारे पहिलो सूचना दिने व्यक्ति र पीडित दुवै एकै व्यक्ति भएको सुनाए । तर, अहिले अनुसन्धानलाई अन्तै मोड्न खोजिएको पनि उनको आशंका छ ।

पौडेलले झुठा बकपत्र मुद्दा लागेको केशमा बाझिने गरी बयान दिए मुलुकी ऐनको फौजदारी संहिताको दफा ४४ अनुसार पीडितले जाहेरी दिएपछि, बयान परिवर्तन गर्दा उसलाई पनि सजाय हुने नियम रहेको सुनाए । तर, अहिले पीडितले किटानी जाहेरी नदिएकोले ‘होस्टाईल’ नहुने पौडेलको भनाई छ ।

शाहीले पहिलो भिडियोमा महरा आफूकहाँ आएको र अर्को भिडियामा नआएको र महरा पितासरहको मान्छे भनेर बोलेको कुरा नै अस्वभाविक भएको उनको तर्क छ । महराले स्वयम्ले आफू शाहीको कोठामा पुगेको भनेर स्वीकार गरिसकेकोले अब शाहीले महरा पितासरहको मान्छे भन्नुको अर्थ नभएको पनि उनको टिप्पणी छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले महरा–शाही प्रकरण नेपालको राजनीतिक इतिहासमै अनौठो घट्ना भएको सुनाए । उनले भने,‘संसद अहिले चालु छैन् । संविधानको धारा ९१ मै सभामुख र उपसभामुख फरक लिङ र फरक पार्टीको हुने व्यवस्था छ । अब त्यही हुनुपर्छ ।’

कार्यक्रममा बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सभामुखको राजीनामा नै स्विकृत भएकोले उक्त पद रिक्त भएको बताए । महराले ‘क्लिन–चिट’ नै लिएपनि अब सभामुखमा फर्किने संभावाना नभएको भट्टराईको दाबी छ ।

उनले संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक फरक दलको र फरक लिङ्गको हुनुपर्ने पनि बताए । अहिले संसद चालु नभएकोले अब चल्ने अधिवेशनमा संविधान बमोजिम निर्वाचन हुने उनले स्पष्ट पारे । भट्टराईले यो प्रकरणमा रोशनी शाहीमाथि अविलम्ब अनुसन्धान प्रारम्भ गर्नुपर्ने माग गरे । उनले भने,‘शाहीको अघिल्लो बयानले महरामाथि अनुसन्धान हुन्छ, तर, पछिल्लो बयानले शाहीमाथि पनि अनुसन्धान सुरु गर्नुपर्छ । उनीमाथि विद्युतीय कारोवार ऐनअनुसार कारवाही हुनुपर्छ ।’

उनले मन लाग्यो भन्दैमा कसैको इज्जत, प्रतिष्ठा र मानमा धावा बोल्न नपाईने स्पष्ट पारे । उनले यदि शाही डिप्रेसनको विरामी हो भने त्यसबारेमा पनि चिकित्सकले परीक्षण गरेर पुष्टि गर्नुपर्ने बताए । उनले भने,‘महिलाको पनि इज्जत छ, पुरुषको पनि इज्जत छ । रोशनीजीको कुन चाहीँ स्टेटमेन्ट सही हो ?’ उनले शाहीले महरामाथि लगाएको आरोप पुष्टि भयो भने कसुरअनुसार सजाय हुनेपनि जिकिर गरे ।

उनले भने,‘यौन दुव्र्यवहार, गाली गलौज, बलात्कार यी सबैमा कसुरअनुसार सजाय हुन्छ, बलात्कारको केसमा अधिकतम १५ वर्षसम्म सजाय हुन्छ, सामान्य यौन दुव्र्यवहार हो भने तीन वर्ष र कुटपिट छ भने एक वर्षसम्म सजाय हुन्छ । कुन खालको अपराध हो, त्यो हेरेर सजाय हुन्छ ।’

संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले महराले राजीनामा दिएपछि सभामुख पद रिक्त भएकोले अब उक्त पदको लागि निर्वाचन हुनैपर्ने स्पष्ट पारे । उनले भने,‘सभामुखको राजीनामा शसर्त हुँदैन् । राजीनामा भनेको राजीनामा नै हो । अब सभामुख पद रिक्त भयो । निर्वाचन हुनैपर्छ ।’

कार्यक्रममा डेमोक्रेटिक लयर्स एशोसिएनकी महासचिव लक्ष्मी दाहाल रावलले शाहीमाथि जवरजस्ती करणी भएको हो कि दुव्र्यवहारमात्रै भएको हो भन्ने यकिन भएपछि दोषिमाथि सोही अनुसारको सजाय हुने तर्क गरिन् । यो प्रकरणमा के भएको हो ? भन्ने कुरा सत्य, तथ्य बाहिर ल्याउनुपर्ने उनको माग छ । उनले भनिन्,‘यो घट्नाबारे सिंगो राष्ट्र नै जानकार छ । भोलि त्यस्तो घट्ना नहोस भनेर यो प्रकरणमा सत्य, तथ्य बाहिर आउनुपर्छ ।’

उनले सत्ताको शक्तिले उक्त घट्नालाई मोड्न नहुनेपनि ध्यानाकार्षण गराइन । उनले महिलालाई अन्याय भएको भए न्याय दिनुपर्ने र महरालाई पनि गलत आरोप लगाइएको हो भने प्रतिष्ठामा आँच पुगेको सुनाइन् ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री