दशैं मनाउन घर फर्किनेहरुलाई सीमानामा तानातान

-सिराज खान

नेपालगन्ज । दशैं, तिहार मनाउन नेपाल फर्किरहेका नेपालीहरुलाई यहाँस्थित नेपाल–भारत सीमानामा दलालहरुद्धारा तानातान गरेर अनावश्यक दुःख दिने गरेको पाइएको छ ।

भारतका विभिन्न शहरहरुमा रोजगारी गरेर घर फर्किरहेका नेपालीलाई होटलका एजेन्ट र भारु साट्ने दलालहरुले दुःख दिने गरेको दृश्य प्रत्यक्ष देख्न पाइन्छ ।

भारतबाट फर्किएका नेपालीहरुलाई नेपालगन्जका विभिन्न होटलका ऐजेन्ट र भारु साट्ने दलालहरुले सीमानामा तानातान गर्ने, जबरजस्ती रिक्सामा बसाल्ने र अभद्र व्यवहार समेत गर्ने गरेको घर फर्किरहेका नेपालीहरुले बताएका छन् ।

आफ्नो होटलमा ग्राहक लैजाने भन्दै विभिन्न होटल व्यवसायीले सीमानामा खटाएका एजेन्टहरुले भारतबाट फर्किने नेपालीलाई दिनदिनै अनावश्यक दुःख दिँदै आएको सीमानास्थित जमुनाहा प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी नायब निरीक्षक माधव रिजालका अनुसार होटलका दलाल र भारु साट्नेहरुले फर्किने नेपालीलाई दुःख दिने गरेको पाईएको छ ।

नेपालीलाई तानातान गर्ने १० जना होटलहरुका दलाललाई पक्राउ गरिएको रिजालले बताए । पक्राउ गरिएका होटलका एजेन्टहरुलाई जिल्ला प्रहरी कार्यालयमा पठाईएको जनाउँदै उनले भारु साट्नेहरुले पनि फर्किने नेपालीलाई निकै हैरान पार्ने गरेको बताए ।

भारतबाट फर्किएका सुर्खेत छिन्चुका रमेश थापाले आफ्नो होटलसम्म पुर्‍याउनका लागि सीमानामा होटलहरुले विचौलिया खटाएको र ती विचौलियाले तानातान गर्ने, अभद्र व्यवहार गर्ने तथा सामान समेत फालिदिने गरेको जनाए ।

जबरजस्ती रिक्सामा बसालेर होटलसम्म पुरयाउने गरेको पनि उनको गुनासो छ । यसैगरी भारतबाट फर्किएका भेरीगङ्गा नगरपालिका–५ सुर्खेतका वीरेन्द्र बिसीले भारु साट्ने भन्दै सीमानामा रहेका केही दलालले जबरजस्ती भारु माग्ने र नदिए लुट्ने र खोस्ने प्रयास गर्ने गरेको गुनासो पोखे ।

कतै होटलवाला र कतै भारु लिनेवालाहरुले सीमानामा फर्किने नेपालीलाई हैराननै पारिरहेको उनिहरुको दुःखेसो छ ।नेपाल भित्रिने नेपालीलाई आफ्नै देशका होटलवाला र भारु कारोबार गर्ने दलालले दुःख दिने गरेको भारतबाट फर्किएका गुर्भाकोट नगरपालिका–३ सुर्खेतका धनबहादुर पुनले बताए । बसको टिकट मिलाइदिने र होटलमा लाग्ने खर्चमा छुट दिने भन्दै विचौलियाले भारतबाट फर्किएका नेपालीलाई तानातान गरेर दुःख दिने गरेका छन् ।

यतिबेला दैनिक करीब पाँच सयको हाराहारीमा नेपाली भारतबाट दशैं मनाउन नेपाल फर्किरहेका छन् । भारतबाट आउने नेपाली बिहान र साँझको समयमा हुल बाँधेर आउने गरेका छन् । यही मौका छोपेर होटलका विचौलिया एकाबिहानै सीमा नाका जमुनाहामा पुगेर ग्राहक तानातान गर्ने गर्छन् ।

यसैविच होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कँडेलले नेपालगन्जका होटल व्यवसायीलाई त्यसो नगर्न आग्रह गरिएको बताएका छन् । उनले यस विषयमा संघ गम्भीर रहेको बताउँदै यात्रुलाई अभद्र व्यवहार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याउनुपर्ने पनि बताए ।

टिप्पणी थप्नुहोस्

सामाजिक संजाल

पछिल्लो सामग्री