दशैंमा यात्रा गर्नै सकस : ठाउँ ठाउँमा लुटपाट

-राधेश्याम विश्वकर्मा

भैरहवा । स्थलमार्ग हुँदै सबै भन्दा बढी मानिस नेपाल भित्रिने नाकाको रुपमा परिचित रहेको बेलहिया नाकामा यातायात ब्यवसायीका कारण भारतबाट नेपाल फर्किने यात्रुले सकस ब्यहोरिरहेका छन् ।

भारतबाट नेपालमा चाहिएको स्थान सम्म पुर्‍याउने वाचा सहित बसमा ल्याएर बेलहिया नाकामा यात्रुलाई छोड्ने, बेलहियामै यातायात ब्यवसायीको हानथापको कारण यात्रुहरु सास्ती खेप्न बाध्य भएका छन् ।

यात्रुहरुलाई यात्रा गर्न सकस भए पनि पछिल्ला बर्षहरु जस्तै लुटिने क्रम भने ज्यादै कम भएको प्रहरीको भनाई छ । प्रहरीले नागरिक सहायता कक्ष स्थापना गर्नुको साथै बिभिन्न सचेतनामूलक कार्यक्रम र चेकजाँच बढाएको कारण पछिल्लो बर्षहरुको तुलनामा यस बर्ष नेपालीमाथी हुने लुटपाट तथा दुव्र्यवहारको घटनामा कमी आएको ईलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरिक्षक कमल वेल्वासेले बताए ।

ईलाका प्रहरी कार्यालय बेलहियाले उपलब्ध गराएको जानकारी अनुसार यस बर्ष ३ जना लुटिएका नेपालीले प्रहरीमा उजुरी दर्ता गरेका छन् । असोज १४ गते डेढगाउ वडा नम्बर ५ बस्ने हरि बहादुर विश्वकर्मा र गुल्मी रिणीका रोशन पाण्डेले आफुलाई बेहोश गरेर लुटेको प्रहरीमा उजुरी दिएका छन् ।

विश्वकर्माको ३५ हजार भारु र पाण्डेको ३० हजार भारु लुटिएको उनीहरुले बताएको प्रहरी निरिक्षक वेल्वासेले बताए । यस्तै असोज १६ गते तनहु मौवा बस्ने कोपिला श्रेष्ठको पनि भारु २ लाख ट्रेनबाटै लुटिएको छ । यी तिनवटा घटना बाहेक प्रहरीमा लुटको अन्य कुनै पनि घटना दर्ता नभएको प्रहरीको भनाई छ ।

‘नेपालीहरु भारतमा प्राय नेपालीहरु बाट नै ठगिने हुन’ ईलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरिक्षक कमल बेल्वासेले भने ।त्यस कारण अहिले भारतबाट आउने रोडवेज बसहरुमा भारतीय प्रहरीको सहयोगमा निगरानी बढाई बसका चालक र सहचालकलाई समेत चेतावनी दिने गरिएको छ । जसको बसमा नेपाली लुटिन्छ, त्यो बसलाई भारतीय प्रहरीले कारवाही थालेपछि नेपालीहरु लुटिने क्रम कम भएको हो ।

यस अघि भारतकै बिभिन्न भागमा नेपाली भाषीले नेपालीहरुलाई बिभिन्न नशालु पदार्थ खुवाई लुट्ने गरेका थिए । यस्तै भारतीय प्रहरी र कस्टम कर्मचारीको दादागिरी पनि उस्तै थियो । तर अहिले अवस्था अलि सुध्रेको छ ।

भारतीय प्रहरीले पूर्ण रुपमा सहयोग गरेको नेपाली पक्षको भनाई छ । अहिले नेपालका बिभिन्न भागका लागी दिल्लीबाट सोझो बस सेवा भएकोले पनि नेपालीहरुको यात्रा सुरक्षित भएको छ । तर बिभिन्न ट्राभल्स एजेन्सीहरुले यहि सोझो बसको नाममा पनि यात्रुहरुलाई सास्ती दिने गरेको छन् । शुक्रबार यस्तै सास्ती खेपेका एक जना नेपाली सोनु हमाल भेटिए सीमामा ।

बस बुटवलको लागी रिजर्व गरेका भए पनि बसको कागजात नभएको कारण बुटवल जानै सकेन । बसले यात्रुका स–साना समस्या पनि नसुनेको र झगडा मात्र गर्न खोजेको यात्रु सोनु हमालले गुनासो गरे ।

नेपालमा बुटवल सम्म जाने ब्यवस्था दिल्लीबाट आएको बसले नै गरेको भए पनि समान ओसादौ धेरै दुःख पाएको उनले गुनासो गरे । यात्रा गर्दा सकस भए पनि बाटोमा लुटपाट तथा दुव्र्यवहार भने कतै पनि नभएको हमालले बताए ।

दशैमा दैनिह हजारौ नेपालीहरु बेलहिया नाका हुँदै नेपाल आउने गरेका छन् । यिनिहरुको सुविधा तथा सुरक्षाको लागी प्रहरी अहिले नागरिक सहायत कक्ष सहित भारतीय समकक्षीहरु संगको सहकार्य गर्दैै आएको छ ।

भारतको अमृतसरमा भारतीय सेनामा कार्यरत पर्वतका धन बहादुर राना परिवारका साथ दशैं मनाउनका लागि आफु कामबाट विदा लिएर घर फर्किन लागेको बताए । उनले अहिलेसम्म आफू बिना कुनै अवरोध बेलहिया आई पुगेको बताउँदै अगाडी नेपालमा पनि कुनै अवरोध नआओस भन्नेमा थिए ।

उनले भने, ‘परिवारको साथमा दशै मनाउन नपाएको दुई वर्ष भइसकेको थियो त्यसकारण पनि यसपालीको दशै घरपरिवारसँगै मनाउने हो भनेर घर जाँदैछु । यहा सम्म राम्ररी आए, अगाडी पनि राम्रो होस ।’

टिप्पणी थप्नुहोस्