महराको स्खलन

  • किशोर नेपाल

गएको साता गणतन्त्र नेपालको सार्वभौम संसदका सभामुख कृष्णबहादुर महरा राजनीतिक, सामाजिक र नैतिक हिसावले स्खलित भए । उनले संसद सचिवालयमा कामगर्ने स्वास्थ्यकर्मी रोशनी शाहीलाई उनकै कोठामा गएर जवर्जस्ती करणी गरे वा करणीको प्रयत्न गरे । रोशनी शाहीले यो कुराको खुलाशा गरिन पत्रकार अजय सिवाकोटीसंग । त्यसपछि संक्रामक रुपले यो खबर फैलियो । महरामाथि सामाजिक र राजनीतिक दवाव बढदै गयो । आखिरमा उनले पदबाट राजिनामा दिए । बडो कुटील थियो महराको त्यो राजिनामा । उनले आफूमाथि लागेको आरोपको छानबीन सहज तुल्याउन छानवीन समाप्त नभएसम्मका लागि पदबाट राजिनामा दिएका थिए । महरालाई यो बिश्वास थियो, छानवीनपछि उनले आरोपबाट उन्मुक्ति पाउनेछन र आफनो पदमा फर्किनेछन । तर, त्यसो भएन । महरासंग निःशर्त राजिनामाको मांग गरियो । उनले दोस्रोपटक राजिनामा लेखे । रोशनी शाहीले महराका बिरुध्द प्रहरीमा जाहेरी गरेपछि महरालाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेकोछ ।

कृष्णबहादुर महराले रोशनीसंग दुब्र्यबहार गरेको खबर डढेलो झैं फैलिएपछि मैले ट्विटरमा आफनो भनाइ राखेको थिएँ – ‘सभामुख कृष्णबहादुुर महरा यसरी टोपीसम्म डुब्लान भन्ने लागेको थिएन । अभियोग लागि सकेपछि सम्मानित मर्यादा स्खलित भयो । अदालतले के भन्छ वा के गर्छ ? त्यसको खासै अर्थ रहँदैन ।’

हाम्रो समाजमा बलात्कार वा जबर्जस्ती करणी दुर्दान्त सार्वजनिक अपराधका रुपमा मानिदै आएकोछ । बलात्कार अथवा जबर्जस्ती करणीको तुलनामा चोरी, डकैती, झूठ, फरेव, ठगी लगायतका तमाम फौजदारी मुद्दालाई त्यति महत्व दिइदैन । अरु अपराधगर्नेहरु आफनो आचरणमा सुधार ल्याएर समाजमा पुनर्स्थापित हुन सक्दछन । तर, बलात्कार र जबर्जस्ती करणीमा आरोपित ब्यक्तिहरुले कानूननः सफाई पाए पनि समाजबाट सफाई पाएका हुँदैनन । त्यस्तो अभियोग लागेको ब्यक्तिलाई देख्ने बित्तिकै मानिसको मनमा ‘ओहो, यो त बलात्कारी हो’ भन्ने भाव आइ हाल्दछ ।

संसदवाददेखि माओवाद र माओवाददेखि संघीय लोकतान्त्रिक गणतन्त्रको लामो र कष्टपूर्ण यात्रामा कृष्णबहादुर महराले आफूलाई कडा राजनीतिज्ञ साबित गरेका हुन । उनी माओवादी पार्टीका अध्यक्ष ‘प्रचण्ड’ का बिश्वासपात्र नेताका रुपमा मात्र होइन, माओवादीले सशस्त्र संघर्षलाई बिसाएर शान्तिपूर्ण राजनीतिमा आउनुपर्छ भनेर चिनिएका नेताका रुपमा पनि परिचित रहेका हुन । शक्ति र पैसाको उनलाई अभाव भएन, भूमिगत कालमा पनि र शान्तिकालमा पनि । माओवादीको एकमात्र ध्येय धन र शक्तिको आर्जन नै देखिएकोछ । यो कुरालाई प्रचण्ड आफैंले भनेका छन ।

महराको नामसंग धेरै काण्ड जोडिएको भएपनि ती काण्डका बास्तबिकतासंग उनले आफू जोडिएको कहिल्यै देखाएनन । उनले लोकतान्त्रिक संसदीय राजनीतिको राम्रो ज्ञान हासिल गरेका थिए । त्यसबाट पनि उनी चुकेनन । आफनो पार्टीभित्रका राजनीतिक खेलहरुका बारेमा उनी सजग थिए । तर, निनान्तरमा, उनका लागि यी कुनैपनि राजनीतिक कौशल र शीप काम लागेनन । यौनको एक क्षणको प्यास र उत्तेजनाले उनको चार दशक लामो राजनीतिक जीवन ध्वस्त भयो । ब्यक्तिगत हिसावले यो दुःखद कुरा हो ।

नेपालको राजनीतिक रंगमन्चमा महरा एक्ला कामदेव होइनन । यो रंगमन्चमा यस्ता चरित्र भएका अरु राजनीतिक ब्यक्तित्वहरु पनि छन जसले महरा काण्डपछि आफना चाहनामाथि लगाम लगाउने कोशिशमा लागेका छन । यी ब्यक्तिहरुको पनि चेक जाँच आबश्यक भएकोछ ।

निश्चय पनि, महरालाई कानूनी पासोबाट जोगाउन उनको पार्टी नेपाल कम्युनिष्ट पार्टी र उनका सहयोगी साथीहरुले निकै प्रयत्न गरेका हुन । यही कारण हो, असोज १३ गते महराले रोशनीसंग यौन दुब्र्यबहार गरेका थिए भने रोशनीले महरा बिरुध्द किटानी जाहेरी असोज १८ गतेमात्र प्रहरीलाई बुझाइन । यो पाँचदिनमा राजधानी शहर काठमाडौंमा महराका पक्षमा अनेकन हलचल भए । चर्को राजनीतिक लविङ र नेपाल कम्युनिष्ट पार्टीभित्र भिन्न प्रकारका समीकरणहरुको प्रभाव, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डको अन्यमन्यस्कता खूबै देखियो । आरोप–प्रत्यारोपका कारण पूरै वातावरण धमिलो भयो । देशका महिलावादी अभियन्ता, महिला सांसदहरु र बिभिन्न ब्यबसायीहरुले महरा काण्डमा निश्चयात्मक मत प्रकटगर्न सकेनन । अघिपछि बेला कुबेला नारीप्रतिको हिंसामा जागरुकता देखाउन अग्रसरहुने अभियन्ताहरुले यस्तै हुनुपर्छ भन्न सकेनन । महरा काण्डको के हुने हो ? भन्ने संशयहरुका बीचमा शुक्रबार काठमाडौस्थित संयुक्त राष्ट्रसंघ, अमेरिका तथा युरोपका देशहरुले नेपालमा महिला अधिकारको सुरक्षामा काम नभएको भन्दै बिज्ञप्ति जारी गरे । बिदेशी दूतहरुको यो बिज्ञप्ति सांकेतिक रुपले महरा काण्डप्रति लक्षित थियो । यसले महरालाई कानूनको दायरामा ल्याउन सरकारलाई दवाव दिएको थियो ।

महरामाथि कसरी कारवाहीगर्ने ? प्रहरी, प्रशासन र राजनीतिक नेतृत्व महरालाई पक्राउ गरेर कारवाही चलाउन सूत्रको खोजीमा थियो । रोशनी शाहीले असोज १३ गते प्रहरीलाई जे बताएकी थिइन भोलिपल्ट त्यसको खण्डन गरी सकेकी थिइन । यो बहुचर्चित काण्डका बारेमा प्रमाणहरुको अभाव थिएन । अभाव थियो भने सरकारको राजनीतिक हिम्मतको । असोज १३ देखि शुक्रबारसम्मका संचार माध्यम र सामाजिक सन्जालहरुमा रोशनी शाही र कृष्णबहादुर महराका बारेमा यति बिध्न चर्चा भयो कि मुख्य मुद्दा नै बिस्मृतहुने डर भयो ।

यसबीच रोशनी र उनका पतिका बीच सम्बन्ध बिच्छेदको नाटक मन्चन भयो । सम्भवतः यो नाटकको मन्चनपछि ‘बेसहारा’ भएकी रोशनीले महरा बिरुध्द किटानी जाहेरीदिने निर्णय गरिन ।
उपलब्ध सूचनाका अनुसार, महरा र शाहीको सम्बन्ध नयाँ होइन । रोशनीले महरासंग घनिष्ट सम्बन्ध राख्दै आएको जानकारी नेपाल कम्युनिष्ट पार्टीका माओवादी र एमाले, दुबै घटकका नेताहरुलाई थियो । महराको यो कमजोरीमा रोशनी ‘वम’ फुटाउने ध्येय राख्ने ब्यक्तित्वहरुको कमी थिएन ।

माओवादी पार्टीभित्र महराको हात सँधै माथिपर्ने गरेको थियो । पार्टीले भूमिगत अवस्थामा सशस्त्र संघर्ष गरीरहेका समयमा र शान्ति प्रक्रियामा आइ सकेपछि पनि महराले जति अवसर कसैले नपाएको गुनासोगर्ने माओवादी थुप्रै भेटिन्छन । सभामुखका रुपमा देशको पाँचौ शक्तिशाली स्थानमा रहेका महराको चर्चा अब इतिहासले एक बलात्कारी पुरुषका रुपमा गर्नेछ । महराले मुद्दा जित्लान वा हार्लान, यो कुरा तपसीलमा परेकोछ । यो घटनाले महत्वपूर्ण पद र ठूलो कुर्सीमा बस्दैमा कुनैपनि मानिस ठूलो सावित हुन सक्दैन भन्ने मान्यतालाई पुनःस्थापित गरेकोछ । जन–प्रतिनिधि संस्था संसदको सभामुख जस्तो ठूलो पदमा रहेको ब्यक्तिले आफूलाई सावितगर्न आफनोे आचरण शुध्द र निष्कलङक राख्नै पर्दछ । महरा काण्डले नेपालका राजनीतिक ब्यक्तिहरुको आँखामा लागेको जालो हटाउन सक्नुपर्दछ ।

अहिले हाम्रो देशमा खडेरी छ नैतिकताको । अक्तूबर २ का दिन हामीले हाम्रो देशमा पनि गान्धी जयन्ती मनायौं । तर, त्यसको सान्दर्भिकता नै स्थापित हुन पाएन । एकातिर, हामी गान्धीको सम्झनामा धूप बाल्दैछौं । अर्कोतिर, रोशनीको आँशुले त्यो धूपलाई भिजाएर त्यसको सुगन्ध मार्दैछ । आजको नेपाल एउटा ‘अति’ भएकोछ । बिसंगतिहरुको ठूलो थुप्रोमा नेपाली जनता निसास्सिएका छन । अपराधीहरुले राजनीतिक प्रभाव र संरक्षणमा जनताको निर्वाध शोषणगर्न पाएका छन । ठूला पदाधिकारीहरु माथि अनैतिक आचरणका गम्भीर आरोप लागेका छन । यतिबेला देशले यी बिसंगतिबाट मुक्ति खोजेकोछ । यसका लागि जनता सचेत र जागरुक रहनु पर्दछ । हामीसंग अर्को बिकल्प छैन ।

टिप्पणी थप्नुहोस्