पाँच बर्षमा ५२ हजार विदेशी पर्यटकले बर्दिया निकुञ्ज अवलोकन गरे

  • सिराज खान

नेपालगन्ज, २० असोज । पश्चिम नेपालमै सबैभन्दा बढी पर्यटक पुग्ने गन्तव्यका रुपमा परिचित बर्दिया राष्ट्रिय निकुञ्जमा गत पाँच बर्षको अवधीमा ५२ हजार भन्दा बढी विदेशी पर्यटक पुगेका छन् ।
सोही अवधीमा करिब डेढलाख जति स्वदेशी पर्यटक समेत निकुञ्जमा पुगेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

आर्थिक वर्ष २०७१–०७२ देखि २०७५–०७६ सम्म ५२ हजार ४२६ जना विदेशी पर्यटक बर्दिया निकुञ्ज अवलोकनका लागि पुगेको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक भण्डारीले बताए ।
निकुञ्जले दिएको तथ्यांक अनुसार, आर्थिक वर्ष २०७१–०७२ मा १३ हजार २०७, २०७२–०७३ मा १३ हजार ५४८, २०७३–०७४ मा १० हजार ६३८, २०७४–०७५ मा ६ हजार ७७३ र २०७५–०७६ मा ८ हजार २६० जना विदेशी पर्यटक निकुञ्ज अवलोकनका लागि आएका छन् ।

सोही पाँच बर्षको अवधीमा करिब डेढलाख जति आन्तरिक पर्यटकहरु पनि निकुञ्जमा आएको जनाउँदै सूचना अधिकारी भण्डारीले गत आर्थिक बर्षबाट विदेशी र स्वदेशी दुबै पर्यटकको आगमनमा बृद्धि भएको बताए ।
चार बर्ष अघि बार्षिक १३ हजार भन्दा बढी विदेशी पर्यटक आउने गरेकोमा २०७४–०७५ मा सो संख्या घटेर साढे ६ हजारमा पुगेको थियो । तर, गत आर्थिक बर्ष ०७५–०७६ मा सो संख्या ८ हजार नाघेको उनले बताए ।
चालु आर्थिक बर्ष २०७६–०७७ मा त १० हजार बढी विदेशी पर्यटक आउने अनुमान गरिएको भण्डारीले जनाए ।

विदेशी पर्यटकहरु आउने क्रम बढेपछि बर्दियाको ठाकुरद्धारामा होटल, रिसोर्ट र होमस्टे खुल्ने क्रम पनि बढेको पर्यापर्यटन विकास मञ्च ठाकुरद्धाराका अध्यक्ष मोहन लाल चौधरीले जनाएका छन् ।
चौधरीका अनुसार अहिले त्यहाँ २८ वटा ठुला होटल र रिसोर्टहरु सञ्चालनमा रहेका छन् भने ६ वटा होमस्टेहरु पनि सञ्चालनमा रहेका छन् । यो बर्ष शुरुबाटै विदेशी र स्वदेशी पर्यटक ठुलो संख्यामा बर्दियामा आएकोले पर्यटन व्यवसायीहरु उत्साहित भएको उनले बताए ।

दैनिक पाँच सय बढी आन्तरिक र विदेशी पर्यटक घुमघाममा आउने ठाकुरद्धारमा वन्यजन्तु अवलोकनबाटै पर्यटक रमाउने गर्छन् ।
बाघ,हात्ती, गैंडा, गोही लगायत विभिन्न प्राणी र चराचुरुंगीहरुको अवलोकन नै बर्दिया राष्टिय निकुञ्जको पर्यटन आकर्षण केन्द्र हो । बर्दिया निकुञ्ज भन्ने वित्तिकै गोही, गैडा, हात्ती, बाघ अवलोनको पहिलो प्राथामिकतामा पर्ने गरेको निकुञ्जले जनाएको छ ।

यस बाहेक बबई, कर्णाली नदि, थारु म्युजियम र पर्यटन सूचना केन्द्रले पनि पर्यटक आकर्षण गर्ने काम गरिरहेको होटल व्यवसायी समेत रहनु भएका पर्यापर्यटन विकास मञ्च ठाकुरद्धाराका अध्यक्ष चौधरीले बताए ।
सो निकुञ्जमा बाघ ८० देखि एक सय, बाह्सिंगा एक सय पाँच, तीन सय ३५ प्रजातिका चरा, गैंडा २४ वटा र कृष्णार दुई सय १६ रहेको तंथ्याक छ ।
यँहा पैदल घुमेर, ड्राइभ गरेर, हात्तीमा चढेर र र्याफ्टिङबाट प्राकृतिक दृश्य र वन्यजन्तुको अवलोकन गर्न सकिन्छ । यस निकुञ्जमा घुम्न आउने पर्यटकका लागि बाघ नै मुख्य आकषण केन्द्र हो । निकुञ्जका अनुसार बाघ हेर्नकै लागि यहाँ विदेशी, सार्क र आन्तरिक पर्यटक ठुलो संख्यामा आउँछन् ।

यो निकुञ्जको क्षेत्रफल ९६८ वर्गकिलोमिटर छ । यो वन्यजन्तुको धनी निकुञ्जका रुपमा बर्दिया राष्टिय निकुञ्ज परिचित छ ।

टिप्पणी थप्नुहोस्