जुवातासमा बर्षेनी लाखौंको हारजीत

  • सिराज खान

नेपालगन्ज, २४ असोज । हरेक बर्ष दसै र तिहारको विचमा बाँके जिल्लामा जुवातासमा लाखौं लाख रुपैयाँको हारजित हुने गरेको छ । दसै सकिएलगत्तै जिल्लाका शहरी र ग्रामिण दुबै क्षेत्रमा ठुलो परिमाणमा खेलाइने जुवातासका कारण कतिपयको घरबास नै उजाडिने गरेको समेत पाईएको छ । नेपालगन्जका केही क्षेत्रमा त दैनिक दसौं लाखको जुवातास खेलिने गरिएको स्थानीयले जनाएका छन् ।

प्रहरीले हरेक बर्ष दसैं र तिहारका विचमा जुवातास हुन नदिन विशेष तरिकाले योजना बनाएर कार्य गर्ने गरेको जनाउँदै आएको छ । तर, पनि जुवातासमा हरेक बर्ष बृद्धि नै भएको देखिन्छ ।

यो बर्ष पनि बाँके प्रहरीले जुवातास हुन नदिने विशेष योजना बनाएको छ । तर, योजना कति सफल हुने हो त्यसलाई समयले नै प्रमाणित गर्ने छ । बाँकेका प्रहरी प्रमुख एसपी वीर बहादुर ओलीले यस पटक जुवातासमा प्रहरीको विशेष निगरानी रहने जनाएका छन् । उनले यस पटक सादा पोशाकमा पहिले देखिनै धेरै प्रहरी परिचालन भएकाले जुवातास खेल्ने कोही पनि कानुनको दायराभन्दा बाहिर नरहने बताएका छन् ।

एसपी ओलीले यसो भनिरहँदा नेपालगन्जका धेरै ठाउँहरुमा शहरका नामुद व्यक्तिहरुले नै जुवातास खेलाईरहेको स्थानीयको भनाई छ । तर प्रहरीले उनिहरुलाई किन पक्राउ गर्दैन त्यो भने कसैले बताउन सक्दैन ।

यो बीचमा बाँकेको कोहलपुरमा जुवातास खेलीरहेका तीनजना जुवाडेलाई प्रहरीले पक्राउ गरेर प्रहरी सचेत रहेको जनाउ दिएको छ । कोहलपुर नगरपालिका–११ स्थित पुष्पराज खनालको घरमा तास खेलिरहेका तीनजनालाई जुवा खेलीरहेको रकमसहित पक्राउ गरिएको छ । जुवा खेलीरहेका अरु २–३ जना फरार भएको प्रहरीले बताएको छ ।

पक्राउ परेका तीनजनाको साथबाट ९८ हजार दुई सय रुपैयाँ नगर बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कोहलपुरका उमेश शाही, केशवराज क्षेत्री र नरबहादुर खत्री रहेका छन् । बाँके प्रहरीका प्रवक्ता डीएसपी शिवबहादुर सिंहले साना खालहरुबाट जुवाडे पक्राउ परे पनि ठूलो खाल अझैसम्म फेला नपरेको जानकारी दिए । उनले ठुलो खालको पनि खोजी भैरहेको बताए । बाँकेका कुन कुन शहर र गाउँमा कुन कुन ठाउँमा जुवातास खेलाइन्छ सो बारेमा प्रहरीले जानकारी हासिल गरिसकेको जनाउँदै डीएसपी सिंहले ढिलो चाँडो सबै पक्राउ पर्ने दावी गरे ।

केही बर्ष पहिलेसम्म नेपालगन्जका केही ठुला र मशहुर जुवाखालमा प्रहरीले छापा मार्ने आँटसम्म गर्न सकेको थिएन । तर, पछिल्ला केही बर्षयता प्रहरीले ठुला ठुला जुवाखालमा समेत छापा मार्ने र जुवातास खेल्ने र खेलाउने दुबैलाई पक्राउ गर्दै आएको छ ।

टिप्पणी थप्नुहोस्